News Summary
Generated by OK AI. Editorially reviewed.- तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी आफ्नै निवासस्थित पार्टी कार्यालयमा मृत अवस्थामा फेला परेका छन् ।
- प्रहरीका अनुसार बीरभूम जिल्लाको रामपुरहाटस्थित कार्यालयमा उनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
- घटनास्थलमा एउटा सुसाइड नोट फेला परेको छ र प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ ।
३१ साउन, काठमाडौं । पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जीका निकट मानिने तृणमूल कांग्रेसका नेता तथा पूर्वमन्त्री आशिष बनर्जी पार्टी कार्यालयमा मृत फेला परेका छन् ।
बीरभूम जिल्लाको रामपुरहाटस्थित आफ्नै निवाससँगै रहेको पार्टी कार्यालयको एउटा कोठामा आइतबार बिहान उनको शव फेला परेको हो ।
उनी रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक निर्वाचित भएका थिए ।
प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार कार्यालयको कोठाभित्र झुण्डिएको अवस्थामा आशिषको शव भेटिएको हो । उनको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोटसमेत फेला परेको छ । यद्यपि प्रहरीले उक्त नोटमा के लेखिएको छ भन्नेबारे केही बताएको छैन । शव पोस्टमार्टमका लागि पठाइएको छ ।
सबैभन्दा पहिले स्थानीयवासीले पार्टी कार्यालयमा आशिषलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचनापछि रामपुरहाट थानाबाट पुगेको प्रहरी टोलीले शव बरामद गरेको थियो ।
को हुन् आशिष बनर्जी
आशिष सन् २००१ देखि रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार चुनाव जित्दै आएका थिए । तर यस वर्ष भएको विधानसभा निर्वाचनमा उनी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार ध्रुव साहसँग पराजित भएका थिए ।
ममता बनर्जी नेतृत्वको सरकारमा आशिष बनर्जी स्कुल शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए । सन् २०२१ मा उनलाई पश्चिम बंगाल विधानसभा उपाध्यक्षको जिम्मेवारी दिइएको थियो ।
बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेका आशिषले रामपुरहाट कलेजमा अध्यापनबाट आफ्नो करियर सुरु गरेका थिए । पछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनलाई ममता बनर्जी निकट नेताका रूपमा चिनिन्थ्यो ।
प्रतिक्रिया 4