+
+
Shares

जाजरकोटको भेरी पहिरो अपडेट : चार जनाको मृत्यु, ६ घाइते

जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

हेमन्त केसी हेमन्त केसी
२०८३ साउन ३१ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको भेरी नगरपालिकामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ ।
  • अविरल वर्षाका कारण प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ ।
  • घाइतेमध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइतेलाई कोहलपुर रिफर गरिएको छ ।

३१ साउन, जाजरकोट । जाजरकोटको भेरी नगरपालिकामा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ४ पुगेको छ । शनिबार बेलुकी पहिरोमा परेर बेपत्ता भएका तीन जनाको सब आइतबार बिहान फेला परेसँगै मृत्यु हुनेको संख्या ४ पुगेको हो । यसअघि पहिरोमा परेर घाइते भएका एक जनाको उपचारका क्रम्मा मृत्यु भएको थियो ।

पहिरोमा परेर मृत्यु हुनेमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन् । उपचारका क्रममा भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका डीएसपी बुद्धिसागर पुरीले जानकारी दिए ।

उनका अनुसार पहिरोमा परी ६ जना घाइते भएका छन् । प्रभावित क्षेत्रका २०० भन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । ३० साउन दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका–२ रिसाङ लगायत आसपासका विभिन्न स्थानमा पहिरो गएको हो । पहिरोले घर तथा टहरा भत्काउनुका साथै केही परिवार विस्थापित भएका छन् ।

यस्तै, भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन् । आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो । जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै उनलाई मेडिकल कलेज कोहलपुर लगिएको छ।

आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि ३१ साउन बिहान ७:१५ बजे थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन् । उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।

यसैगरी, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्।

तीन जना डिस्चार्ज

पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि गए राति १२ बजे डिस्चार्ज गरिएको छ।

घर तथा टहरा पूर्ण रूपमा क्षति

पहिरोले भेरी नगरपालिका–३ स्यालाका पूर्णबहादुर विकको ६ कोठे दुई तले ढुंगा–माटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको छ।

घरमा रहेका पाँच जनाको परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

सोही स्थानका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पूर्ण रूपमा भत्किएका छन्। ती टहरामा भने हाल मानिस नरहेको बताइएको छ।

२०० बढीलाई सुरक्षित स्थानमा सारियो

पहिरोको जोखिममा रहेका भेरी नगरपालिका–२ रिसाङ क्षेत्रका करिब ६०–७० घरपरिवारका १५०–२०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा सुरक्षित राखिएको छ।

यस्तै, झ्यालीखेत डाँडामा १६ जना, चिसापानीमा २० जना, राउटेरे डाँडामा १५ जना र रिसाङ फारुलामा तीन जनासहित थप ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ।

जोखिमका बीच उद्धार

पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पैदलमार्फत जोखिमपूर्ण क्षेत्रमा पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा सार्ने काममा परिचालित भएका छन्।

अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको छ। सुरक्षाकर्मी तथा स्थानीय तहले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?