+
+
Shares

घनश्यामको आरोप : रास्वपा दलहरूमा नायालक नेतृत्व नै रहिरहुन् भन्ने चाहन्छ

अदालतले गगन थापा पक्षको मुद्दा उल्ट्याएमा मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्ने र दलहरूले आफ्ना गल्ती छोप्न वितण्डा मच्चाउने उनको चेतावनी छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १६:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता घनश्याम भुसालले नयाँ भनिएका दलहरूले पुराना दलका नालायक नेतृत्व कायमै रहोस् भन्ने चाहेको आरोप लगाएका छन्।
  • भुसालले सर्वोच्च अदालतले नेपाली कांग्रेसको विवादमा निस्सा दिएको कदमलाई अस्वाभाविक भन्दै यसले मुलुकमा राजनीतिक जटिलता थप्ने चेतावनी दिएका छन्।
  • नयाँ र पुराना शक्तिहरूले देशको आर्थिक संकट सुधार गर्नेभन्दा पनि सत्ता स्वार्थका लागि सम्झौता गर्नेतर्फ मात्र चासो राखेको उनले दाबी गरेका छन्।

३१ साउन, काठमाडौं । वामपन्थी नेता घनश्याम भुसालले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुराना राजनीतिक दलहरूमा पुरानै र ‘नालायक’ नेताहरू नै नेतृत्वमा रहिरहुन् भन्ने चाहेको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै नेता भुसालले नयाँ भनिने दलहरूले आफ्नो राजनीतिक औचित्य जोगाउन यस्तो चाहना राखेको दाबी गरेका हुन्।

‘नालायकहरू नहट्दाखेरि नै नयाँ भनिने शक्तिको पनि लेजिटिमेसी कायम रहन्छ,’ रास्वपातर्फ लक्षित गर्दै भुसालले भने, ‘नालायकहरू नै पार्टीको नेतृत्वमा रहिरहुन् भन्ने उनीहरूको चाहना छ।’

कार्यक्रममा उनले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरवलोकनका लागि निस्सा दिनुलाई अस्वाभाविक रूपमा अर्थ्याए। अदालतले गगन थापा पक्षको मुद्दा उल्ट्याएमा मुलुकको राजनीतिक परिस्थिति थप जटिल बन्ने र दलहरूले आफ्ना गल्ती छोप्न वितण्डा मच्चाउने उनको चेतावनी छ।

‘अदालतले गगनहरूको मुद्दा उल्टिन सक्ने गरी एउटा निस्सा जारी गरेको छ। यो यसै भएको छ ? अब के हुनेवाला देख्दैछु म भने, यदि त्यस्तो भयो भने दुईवटा एकदमै टड्कारा सम्भावना देखिन्छन्,’ भुसालले भने, ‘यिनीहरूले नै आफ्ना नालायकीहरूलाई ढाक्नको लागि, लफंगागिरीलाई ढाक्नका लागि अझै ठूला-ठूला गतिविधिहरू गर्न सक्छन्, मनपरी गर्न सक्छन्। वा यिनीहरूले फेरि जो नालायकहरू हुन्, ती नालायकहरूलाई नै राखेर अघि बढ्न खोज्छन्।’

यस्ता गतिविधिले अन्ततः संविधान र लोकतन्त्रमाथि नै प्रहार हुने उनको जिकिर छ। उनले थपे, ‘अदालतको कदम त्यो नहोस्। तर नेपाल हो, यस्तै हुँदै गएको छ। यिनीहरूले आफ्ना गल्तीहरू छोप्नका लागि यस्तै वितण्डाहरू गर्नेछन्। ती वितण्डाहरूको अन्तिम प्रहार संविधानमाथि हुनेछ, लोकतन्त्रमाथि हुनेछ र मुलुक एउटा डरलाग्दो संकटतर्फ जानेछ।’

साथै, नयाँ र पुराना शक्तिहरूबीच सत्ता स्वार्थका लागि सम्झौता हुने तर देशको बिग्रँदो अर्थतन्त्र सुधार गर्नेतर्फ उनीहरूको कुनै चासो नरहेको उनले बताए।

‘यी नयाँ र पुरानाहरूले एकआपसमा सम्झौता गर्नेछन्। अहिले जुन मुलुकको अर्थव्यवस्था छ, त्यसलाई फर्काउनेतर्फ यिनीहरूको कुनै चासो छैन, चिन्तन पनि छैन। त्यस्तो यिनीहरूले जानेको पनि छैन,’ भुसालले ठोकुवा गरे, ‘यसले आगामी दिनमा आर्थिक संकट अझै बढ्दै जान्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?