News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने प्रष्ट पार्दै पुनर्गठन अभियान चलाउनेहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
- ओलीले पार्टीको आन्तरिक पुनर्गठनको बहस गर्ने नेता तथा कार्यकर्ताहरूलाई आवारा र किर्नाको संज्ञा दिँदै चर्को आलोचना गरेका छन् ।
- पार्टीलाई भोट नदिने सदस्यहरूको सदस्यता नवीकरण नगर्न निर्देशन दिँदै ओलीले नेतृत्वको बचाउ र विरोधीहरूको प्रतिवाद गरेका छन् ।
३१ साउन, काठमाडौं । २१ फागुनको चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछोड्ने प्रष्ट सन्देश दिएका छन् ।
बिर्तामोडमा एमाले झापाले आज (आइतबार) गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले पुनर्गठन अभियान चलाउनेहरूमाथि कारबाही गर्ने उल्टै चेतावनी दिएका छन् ।
‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले चेतावनी दिएका छन् ।
एक घण्टा लामो सम्बोधन गर्दा ओलीले धेरैजसो समय आफ्नै नेतृत्व कौशलको प्रशंसा गरेका थिए । २०२९ सालमा सीपी मैनाली, आरके मैनालीहरूको कारबाहीमा परेको, ०७७ सालमा प्रचण्ड–माधव नेपालहरूले कारबाहीको गरेको सन्दर्भ सुनाउँदै ओलीले अहिले अध्यक्षबाट हटाउने अभियान पनि सफल नहुने सन्देश दिए ।

‘अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन,’ ओलीले भने, ‘कुनै कमिटीको होला । त्यस्तो ब्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनगर्ठन हुँदैन ।’
एमाले पुनर्गठन नहुने संकेत ओलीले शनिबार इलामको फिक्कलमा आयोजित सभाबाटै दिएका थिए । पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको चौथो बैठकमा प्रमुख वक्ता रहेका ओलीले आफूलाई पदबाट हटाउने कुरा ख्याल ठट्टा नभएको बताएका थिए ।
‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने,’ ओलीले भनेका थिए, ‘ख्याल–ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरु अध्यक्ष हटाउने कुरा .. । मानिलिऔं, ख्याल हो । ठट्टा हो ।’
च्यासलमा पुनर्गठनको बहस गर्नेहरूलाई ओलीले ‘आवारा’ भनेपछि चर्को प्रतिवाद भइरहेको छ । देशभर नेता–कार्यकर्ताहरुले ‘म आवारा’ अभियान नै चलाएको देखिन्छ । पार्टीलाई यथास्थितिबाट परिवर्तन गर्न आवारा हुन तयार रहेको सन्देश दिन होड देखिन्छ ।
नेताहरुको चर्को प्रतिवाद देखिएपछि ओली निकट नेता महेश बस्नेतले सामाजिक सञ्जालबाटै थप जवाफ दिएका छन् । ओलीको अभिव्यक्तिबाट झस्किनेहरूलाई उनले लामखुट्टैको संज्ञा दिएका छन् ।

‘..सानो घेराको पंक्ति जो गुटबन्दी गर्ने, खुराफाती गर्ने, पार्टी र नेतृत्वको विरोध गर्ने, पार्टी कार्यालयको चौरको घाँस माड्ने अनि क्यान्टिनको चियाको कपमा क्रान्तिको आँधीबेहोरी सिर्जना गर्ने,’ बस्नेतले लेखेका छन्, ‘हिजो अध्यक्षज्यूको मन्तव्यपछि त्यो पंक्तिमा रहेका केही मित्रहरू कुना काप्चाका लामखुट्टेहरूलाई स्प्रे हानेपछि जस्तै कुइँकुइँ गर्न थालेको सुनिँदैछ ।’
फिक्कलबाट बिर्तामोड झरेका ओलीले पुनर्गठन अभियान चलाउनेहरूविरुद्ध अर्को उपमा आरोप लगाएका छन् । उनका भाषामा, एमालेबाट खाएर अघाएका ‘किर्ना’ अहिले पुनगर्ठनका नाममा सल्बलाइरहेका छन् ।
‘एमालेलाई पनि भैंसी बनाउन खोजेका छन् साथीहरूले,’ ओलीले भनेका छन्, ‘पर्याप्त खान पाएकाहरूले गुनासो गरेका छन् । बरु केही नपाएकाले यसपटक पनि भोट हाले । केही पाएकाले यसपटक पनि भोट हालेनन् ।’
खान नपाएकाहरूले ‘ओलीले हप्काउँदा बेहोस भएर मान्छे ढलेको’ आरोप लगाएको उनको प्रष्टोक्ति थियो । तर आफूले जिन्दगीमा कहिल्यै कडा बचन बोल्न नगरेको ओलीको भनाइ थियो । ‘मैले जिन्दगीमा अहिलेसम्म कडा बचन, कडा स्वर कहिल्यै प्रयोग गरेको छैन,’ ओेलीले भनेका छन् ।
पुनर्गठन अभियानको आवश्यकता नरहेको दाबी पुष्टि गर्ने क्रममा ओलीले पार्टी सदस्यहरुको समेत निन्दा गरे । ‘हाम्रो पार्टीमा सदस्य भन्दा कम भोट आयो । सुन्दा लाज हुन्छ,’ उनले भने, ‘कस्तो सदस्य ?’
पार्टीलाई भोट नहाल्ने सदस्यको नवीकरण नगर्न पनि ओलीले निर्देशन दिए । ‘सदस्यको नवीकरण गर्नुस्, गैरसदस्यको होइन,’ उनले भने ।
ओलीको संकेत बुझेपछि एमाले कोशी इन्चार्ज शेरधन राईले पनि चर्को भाषामा पुनर्गठन पक्षधरविरुद्ध भाषण गरे । ओलीलाई हटाउनुपर्छ भन्नेहरुलाई दुत्कार्न राईको अपिल थियो ।
‘.. यतिबेला पार्टीलाई बहुआयामिक सेक्टरमा सुधार गर्नको निम्ति सुझावहरू संकलन गर्दै गर्दा, कार्यकर्ताहरूको भावना बुझ्दै गर्दा, पुनर्गठन भनेको त केपी ओली हटाउने मिसन मात्रै हो भन्ने स्थिति पनि देखा पर्दैछ,’ पूर्व मुख्यमन्त्री राईले भने, ‘यो सबैभन्दा खतरनाक कुरा हो । यस्ता खालेका पात्र, प्रवृत्ति र यस प्रकारको मिसनलाई हामीले दुत्कार्नुपर्छ, त्यसको निम्ति म तपाईँहरूलाई आह्वान गर्न चाहन्छु ।’
एमाले पुनर्गठन कार्यदलमा राई पनि सदस्य छन् । आफैं सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदन अध्यक्ष ओलीको अस्थायी निवास गुन्डुमा पुगेर थन्किएको छ । कार्यदलका संयोजक रामबहादुर थापा सहित केही सदस्य ओलीकै पक्षमा रहेकाले पनि कार्यदलको प्रतिवेदन अगाडि बढ्न सकेको छैन ।

कार्यदलको सुझाव प्रतिवेदनमाथि छलफल असारभित्रै सकेर पुनर्गठन अभियान शुरु गर्ने एमाले सचिवालय बैठकको निष्कर्ष थियो । तर एमालेले सर्मनाक पराजय बेहोर्नु पर्ने कारणमा नेतृत्वको कमजोरी समेत उल्लेख गरेर तयार पारिएको प्रतिवेदन रोकेका ओलीले गृह जिल्ला पुगेर खण्डनमा अभिव्यक्ति दिएका छन् ।
प्रतिक्रिया 4