+
+
Shares
टिप्पणी :

विश्वव्यापीकरणको युगमा आदिवासीय प्रश्न

आदिवासीय भूमि, इतिहास, सामुदायिक जीवन, राजनीतिक अधिकार, आत्मनिर्णय र आफ्नो जीवनका परिस्थिति माथिको नियन्त्रणसँग जोडिएको जटिल सामाजिक–राजनीतिक अवधारणा हो। विश्वव्यापीकरण र आधुनिकीकरणसँगै आदिवासीयलाई कसरी बुझ्ने भन्ने प्रश्न झन् महत्त्वपूर्ण बन्दै गएको छ।

दिनेश लामा दिनेश लामा
२०८३ भदौ १ गते ८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व आदिवासी दिवसका अवसरमा प्रा. जोनाथन फ्रेडम्यानले आदिवासी आन्दोलन संस्कृति संरक्षणमा मात्र सीमित नरही भूमि र राजनीतिक अधिकारको लडाइँ भएको बताएका छन् ।
  • फ्रेडम्यानका अनुसार आधुनिक विश्वव्यापीकरणको प्रक्रियाले एकातर्फ विश्वलाई जोड्दै लगेको छ भने अर्कोतर्फ आदिवासी समुदायमा आफ्नो विशिष्ट पहिचानको दाबी गर्ने प्रवृत्ति बढाएको छ ।
  • नेपालका विभिन्न आदिवासी जनजाति समुदायको ऐतिहासिक भूमि, भाषा र संस्कृतिको संरक्षण गर्नु नै उनीहरूको पहिचान, सम्मान र भविष्य सुनिश्चित गर्ने आधार रहेको छ ।

विश्वमा सन् १९७० को दशकदेखि आदिवासी समुदायका राजनीतिक गतिविधि र अधिकारका आन्दोलन निकै बढेको पाइन्छ। यी सवाल अन्तर्राष्ट्रिय संस्था र विश्वव्यापी राजनीतिक बहसमा पनि देखिएका छन्। प्रत्येक वर्ष अगस्ट ९ मा विविध कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाउने गरिएको छ। यी सबै गर्नुको उद्देश्य आदिवासीयको संरक्षण गर्नु हो।

आदिवासीय भन्नाले आदिवासीमा हुनुपर्ने पन भन्ने बुझ्नुपर्दछ। यो केवल कुनै जाति वा समुदायलाई मात्र बुझेर पर्याप्त हुँदैन। यो भूमि, इतिहास, संस्कृति, भाषा, परम्परा, सामुदायिक जीवन र आफ्नो पहिचानमाथिको अधिकारसँग जोडिएको अवधारणा हो।

अर्थात्, आदिवासीय भन्नाले कुनै निश्चित भू–भागसँग ऐतिहासिक रूपमा जोडिएका, आफ्नै मौलिक भाषा, संस्कृति, परम्परा, सामाजिक संस्था, जीवनपद्धति र सामुदायिक पहिचान भएका समुदायको अस्तित्व, पहिचान र अधिकारलाई जनाउँछ। आफ्नो पुर्ख्यौली भूमि, संस्कृति, भाषा, परम्परा र सामुदायिक जीवनसँगको गहिरो सम्बन्ध तथा त्यसको संरक्षण र अधिकारको चेतना नै आदिवासीय हो।

यही आदिवासीय संरक्षण गर्न विगत आधा शताब्दीदेखि विश्वका आदिवासी संघर्षरत छन्। प्रा. जोनाथन फ्रेडम्यानले आफ्नो ‘इन्डिजिनियस स्ट्रगल्स एन्ड द डिस्क्रिट चार्म अफ द बुर्जुवा’ शीर्षकको लेखमा आदिवासीहरू आफ्नो ऐतिहासिक भूमि, मौलिक भाषा, संस्कृति, परम्परा, सामाजिक संस्था र जीवनपद्धति संरक्षण गर्न संघर्षरत रहेको बताएका छन्। फ्रेडम्यानले ‘आदिवासी’लाई केवल कुनै निश्चित जाति वा समुदायको नामका रूपमा लिंदैनन्। उनका अनुसार ‘आदिवासी’ भन्ने अवधारणा आधुनिक समाजले निर्माण गरेको एउटा सामाजिक–राजनीतिक श्रेणी पनि हो।

आदिवासीयको संरक्षण गर्नु भनेको केवल पुराना परम्परा जोगाउनु मात्र नभई समुदायको पहिचान, सम्मान र भविष्य सुनिश्चित गर्नु पनि हो।

फ्रेडम्यानका अनुसार आदिवासी संघर्ष केवल बाहिरबाट बनाइएको ‘संस्कृति’को प्रश्न होइन, वास्तविक मानिसहरूले आफ्नो जीवनका परिस्थितिमाथि नियन्त्रणका लागि गरिरहेको संघर्ष हो। त्यसैले आदिवासीयलाई केवल नाच, भाषा, पोशाक वा संस्कृतिको संरक्षणमा सीमित गर्नुहुँदैन भन्ने उनको जोड रहेको छ।

उनले मूलतः आदिवासी आन्दोलनमा भूमि र भू–क्षेत्रमाथिको अधिकार, प्राकृतिक स्रोतमा पहुँच, राजनीतिक प्रतिनिधित्व, सामुदायिक अधिकार, आत्मनिर्णय, सांस्कृतिक पहिचान, ऐतिहासिक अन्यायको समाधान तथा राज्यसँगको सम्बन्ध जस्ता सवाल उठाएका छन्। उनले आदिवासी समुदायले आफ्नै भू–भागमा लामो समयदेखि सीमान्तीकरण, नियन्त्रण र उत्पीडनको अनुभव गर्दै आएको बताएका छन्।

मूलतः उपनिवेशीकरण, विश्वव्यापीकरण र आधुनिकीकरण नै आदिवासीयलाई प्रभाव पार्ने पक्ष हुन्। आधुनिक राष्ट्र–राज्यले आफूलाई सबै नागरिकको प्रतिनिधि दाबी गर्छ। तर कतिपय आदिवासी समुदायले राज्यलाई आफ्नो ऐतिहासिक जीवन र भूमिमाथि नियन्त्रण जमाउने बाह्य शक्ति वा संरचनाका रूपमा अनुभव गर्न सक्छन्। त्यसैले आदिवासी समुदायले ‘हामी राज्यभित्रको एउटा अल्पसंख्यक मात्र होइनौं, हाम्रो आफ्नै ऐतिहासिक अस्तित्व र अधिकार छ’ भन्ने दाबी गर्न सक्ने फ्रेडम्यानको तर्क रहेको छ।

सामान्य रूपमा हामी विश्वव्यापीकरणलाई देशहरू बीच व्यापार, प्रविधि र सञ्चार बढ्नु भनेर बुझ्छौं। तर फ्रेडम्यानले विश्वव्यापीकरणलाई विश्व–प्रणालीभित्र हुने आर्थिक, राजनीतिक, सांस्कृतिक र वर्गीय परिवर्तनको जटिल प्रक्रियाका रूपमा हेर्छन्।

विश्वका विभिन्न देश एक–अर्कासँग नजिकिंदै गएर एउटै विश्वसमुदाय जस्तो बन्ने प्रक्रिया नै विश्वव्यापीकरण हो। यो प्रक्रियामा संसारका विभिन्न देश, समाज, अर्थतन्त्र, संस्कृति र मानिस बीच व्यापार, प्रविधि, सूचना, सञ्चार, शिक्षा तथा आवतजावतका माध्यमबाट बढ्दै जाने आपसी सम्बन्ध र निर्भरतालाई बुझिन्छ। यस प्रक्रियामा स्थानीयता तथा आदिवासीय लोप हुँदै जाने सामान्य बुझाइ हो।

तर फ्रेडम्यानको यो बुझाइमा विरोधाभास देखिन्छ। उनका भनाइमा, ‘एकातिर संसार बढी जोडिंदै जान्छ, अर्कोतिर मानिसहरू आफ्नो स्थानीय तथा विशेष पहिचानलाई अझ बलियोसँग दाबी गर्न थाल्छन्।’ यसैले विश्वव्यापीकरणसँगै स्थानीयकरण, जातीय आन्दोलन, क्षेत्रीयतावाद र पहिचानको राजनीति पनि बढ्न सक्छन्। उनका लागि यो विरोधाभास होइन, यी एउटै विश्व–प्रणालीभित्र उत्पन्न हुने आपसमा सम्बन्धित प्रक्रिया हुन्। फ्रेडम्यानको तर्कमा महत्त्वपूर्ण कुरा के हो भने विश्वव्यापीकरणले केवल बाहिरी शक्ति र स्थानीय समुदाय बीचको सम्बन्ध मात्र परिवर्तन गर्दैन, स्थानीय समुदायभित्र पनि वर्ग निर्माण गर्न सक्छ।

अतः आदिवासी संघर्ष विश्वव्यापीकरणको विरोधमा मात्र उभिएको स्थानीय आन्दोलन होइन। यो विश्व–प्रणालीभित्र पहिचान, भूमि, राज्य, पूँजी र वर्ग निर्माणका प्रक्रियासँग जोडिएको जटिल सामाजिक–राजनीतिक प्रक्रिया हो।

विश्वभरिका आदिवासी आन्दोलन केवल संस्कृति संरक्षणको आन्दोलन होइनन्। यो भूमि, पहिचान, राजनीतिक अधिकार, आत्मनिर्णय र आफ्नो जीवनका परिस्थितिमाथि नियन्त्रणका लागि हुने संघर्षका रूपमा बुझ्न जरूरी छ। विश्वव्यापीकरणले एकातिर विश्वलाई जोड्दै लगे पनि अर्कोतिर स्थानीय, जातीय र आदिवासी पहिचानको पुनरुत्थान पनि गर्न सक्छ। तर आदिवासी आन्दोलन विश्व–पूँजीवादी प्रणालीबाट पूर्ण रूपमा बाहिर रहँदैन। विश्वव्यापी प्रणालीसँग जोडिंदै जाँदा आदिवासी समुदाय र संगठनभित्र पनि पूँजी, स्रोत र नेतृत्वका आधारमा नयाँ वर्गीय विभाजन आउन सक्छ।

नेपालमा पनि विभिन्न आदिवासी जनजाति समुदाय छन्। जस्तै– तामाङ, गुरुङ, मगर, नेवार, राई, लिम्बू, शेर्पा, थारू, सुनुवार, चेपाङ, धिमाल, राजी लगायत समुदायका आफ्नै ऐतिहासिक भूमि, भाषा, संस्कृति, परम्परा र सामाजिक इतिहास छन्। तर नेपालमा आदिवासीयलाई एउटै ढाँचामा बुझ्न मिल्दैन। प्रत्येक समुदायको इतिहास, भूगोल, भाषा, संस्कृति र सामाजिक अनुभव फरक हुन सक्छ। त्यसैले नेपालको सन्दर्भमा आदिवासीय विविधताभित्रको पहिचान हो।

आदिवासीयले मानिसलाई आफ्नो ‘म को हुँ?’ भन्ने प्रश्नको उत्तर खोज्न सहयोग गर्छ। यसले आफ्नो इतिहास र संस्कृतिप्रति गौरवको भावना विकास गर्छ। साथै, भाषा र संस्कृति संरक्षण, सामाजिक न्याय, समान सहभागिता तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका विषयमा पनि यसको महत्त्वपूर्ण भूमिका हुन्छ।

आदिवासीय केवल कुनै समुदायको नाम वा जातीय पहिचान होइन। यो भूमि, इतिहास, भाषा, संस्कृति, सामुदायिक जीवन, परम्परागत ज्ञान, आत्मपहिचान र अधिकारको समग्र अवधारणा हो।

एकातिर आधुनिकता बढ्दै जाँदा आदिवासी समुदायमा पनि शिक्षा, प्रविधि, रोजगारी र जीवनशैलीमा परिवर्तन आउँछ। तर आधुनिक बन्नु भनेको आफ्नो पहिचान र संस्कृति त्याग्नु आवश्यक छैन। उदाहरणका लागि, कुनै आदिवासी युवाले आधुनिक शिक्षा र प्रविधि प्रयोग गर्दै आफ्नो मातृभाषा, संस्कृति, परम्परा र इतिहासलाई पनि संरक्षण गर्न सक्छ। यसलाई आधुनिकता र आदिवासीय बीचको सहअस्तित्वका रूपमा बुझ्न सकिन्छ।

विश्वव्यापीकरणले आदिवासी समुदायलाई आफ्नो संस्कृति विश्वसामु प्रस्तुत गर्ने नयाँ अवसर दिएको छ। सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट भाषा, गीत, नृत्य तथा संस्कृतिको प्रचार गर्न सकिन्छ। तर अर्कोतर्फ, बाह्य संस्कृति र बजारको प्रभावले स्थानीय भाषा, परम्परा र जीवनशैली कमजोर हुने जोखिम पनि हुन्छ।

निष्कर्षमा, आदिवासीय केवल कुनै समुदायको नाम वा जातीय पहिचान होइन। यो भूमि, इतिहास, भाषा, संस्कृति, सामुदायिक जीवन, परम्परागत ज्ञान, आत्मपहिचान र अधिकारको समग्र अवधारणा हो। त्यसैले आदिवासीयको संरक्षण गर्नु भनेको केवल पुराना परम्परा जोगाउनु मात्र नभई समुदायको पहिचान, सम्मान र भविष्य सुनिश्चित गर्नु पनि हो।

(लेखक रोशी गाउँपालिकाका प्रमुख हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?