+
+
Shares

अर्थतन्त्रको आवश्यकता अनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : अग्रवाल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई समयानुकुल परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
  • अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योगबीचको सहकार्य प्रभावकारी बनाउँदै युवा प्रतिभालाई उद्यमशीलता र उत्पादकत्वमा रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ ।
  • उहाँले डिग्रीभन्दा व्यावहारिक क्षमता, इमान्दारी र निरन्तर सिक्ने संस्कार नै व्यावसायिक सफलताका लागि बढी महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

१ भदौ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयानुकुल परिवर्तन गर्नुपर्ने बताएका छन् ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आज आयोजित १५ औं संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलाको उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले शैक्षिक संस्था र उद्योग एवम् व्यवसाय क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले नेपालमा युवा जनशक्तिको अभाव नभए पनि युवाको प्रतिभालाई सिप, उत्पादकत्व, उद्यमशीलता र अर्थपूर्ण रोजगारीमा रूपान्तरण गर्नुपर्ने बताए । बदलिँदो विश्व श्रम बजारअनुसार युवाले आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने उल्लेख गर्दै उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटलाइजेसन, भूमण्डलीकरण र उपभोक्ताको बदलिँदो व्यवहारले रोजगारी तथा व्यवसायको परम्परागत स्वरूपलाई तीव्र रूपमा परिवर्तन गरिरहेको बताए ।

अब नेपालमै बसेर विदेशका कम्पनीका लागि काम गर्ने, अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिने र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने अवसर नेपाली युवासँग रहेको भन्दै उनले सूचना प्रविधि तथा डिजिटल सेवा, आतिथ्य, जलविद्युत् तथा हरित ऊर्जा, उत्पादन तथा निर्यातमुखी उद्योग, आधुनिक कृषि तथा कृषिजन्य व्यवसायमा युवाका लागि ठूलो सम्भावना रहेको बताए ।

बैंकिङ, वित्तीय तथा बीमा, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत नयाँ अवसर सिर्जना गर्न सकिने उल्लेख गर्दै अग्रवालले नेपालको प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता र अनुकूल वातावरणलाई उपयोग गर्दै स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न सकिने बताए । निजी क्षेत्रले शैक्षिक डिग्रीसँगै व्यावहारिक क्षमता, चरित्र र जिम्मेवारीबोध भएका जनशक्ति खोजिरहेको उनले बताए ।

‘डिग्री मात्र व्यावसायिक सफलताको आधार होइन, उच्च अंक वा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थी मात्र व्यावहारिक जीवनमा सफल हुने निश्चित छैन,’ उनले भने ‘वास्तविक कार्यक्षमता, समस्या समाधान गर्ने क्षमता, सञ्चार सिप र व्यवहारिक ज्ञानलाई निजी क्षेत्रले बढी महत्व दिने गर्दछ ।’ व्यवसाय विश्वासमा निर्माण हुने भएकाले प्रतिभासँगै इमान्दारी र चरित्र पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ ।

आज सिकेको ज्ञान भोलि नै पुरानो हुन सक्ने भएकाले युवाले जीवनभर सिक्ने संस्कार विकास गर्नुपर्ने अग्रवालले बताए । सिक्ने इच्छा, मेहनत गर्ने बानी, सुझाव स्वीकार गर्ने क्षमता र आफूलाई निरन्तर सुधार गर्ने प्रतिबद्धता भएका युवाको करियर दीर्घकालीन रूपमा अघि बढ्ने उनले उल्लेख गरे ।

कृत्रिम बुद्धिमत्ताले रोजगारीको प्रकृतिमा ठूलो परिवर्तन ल्याउने भए पनि त्यसलाई केवल रोजगारी खोस्ने प्रविधिका रूपमा हेर्न नहुने उनले बताए । ‘एआईले मेरो रोजगारी खोस्छ कि खोस्दैन भन्नुभन्दा अरूभन्दा राम्रोसँग एआई प्रयोग गर्न सक्ने व्यक्ति कसरी बन्ने भन्ने प्रश्न गर्नुपर्छ’ उनले भने । विद्यार्थीले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्न सिक्नुपर्ने उनले बताए ।

प्रविधिले नैतिकता, सहानुभूति, विवेक, नेतृत्व, साहस र जिम्मेवारीजस्ता मानवीय गुणलाई भने प्रतिस्थापन गर्न नसक्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?