+
+
Shares

मुख्यमन्त्री आचार्यको विश्वासको मतमा जसपा नेपाल विभाजित

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:२०
जसपा नेपालकी सांसद अम्बिका काफ्ले

१ भदौ, बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने विषयमा जनता समाजवादी पार्टी नेपालका सांसदहरु विभाजित भएका छन् ।

आज मुख्यमन्त्री आचार्यले विश्वासको मत लिंदै छन् । पार्टी केन्द्रले सोमबार प्रदेश संसदीय दलका नेता सन्तोष पाण्डेयलाई पत्राचार गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर विपक्षमा मतदान गर्न निर्देशन दिएको थियो ।

तर, जसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने बताएका छन् । जसपा नेपालकी सांसद अम्बिका काफ्लेले भने आफूले केन्द्रको निर्देशन मानेर मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताइन् ।

लुम्बिनी प्रदेशसभामा जसपाका पाण्डे, भण्डारीलाल अहिर, आदेशकुमार अग्रवाल, हेमा बेल्बासे र अम्बिका काफ्ले सदस्य छन् । काफ्लेका अनुसार आफू बाहेक अरु ४ सांसदले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने संसदीय दलको बैठकबाट निर्णय गराएको सुनेको तर आफू बैठकमा नगएको बताइन् ।

मुख्यमन्त्री आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले भने नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने जानकारी गराएको बताएका छन् । ‘सरकारलाई समर्थन गर्ने दलका सांसदहरूले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने स्पष्ट धारणा राखेसँगै सरकारको पक्षमा बहुमत जुटेको छ,’ मुख्यमन्त्री आचार्यका प्रेस संयोजक घिमिरेले भने ।

बैठकमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा, जनता समाजवादी पार्टी नेपालकी हेमा बेल्वासे र राष्ट्रिय जनमोर्चाका तारा थापाले मुख्यमन्त्री आचार्यको पक्षमा मतदान गर्ने जानकारी गराएको मुख्यमन्त्री आचार्यको सचिवालयले जनाएको छ ।

विश्वासको मत लिनुअघि सरकारको पक्षमा रहेका दलहरूका सांसदहरू एमाले प्रदेश कार्यालयमा भेला भएका थिए । त्यसपछि उनीहरू सामूहिक रूपमा प्रदेश सभा बैठकमा सहभागी भएका थिए ।

कांग्रेस र जनमत विपक्षमा, राप्रपा तटस्थ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनमत पार्टीले भने मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने भएका छन्  । प्रदेश सभा बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले कांग्रेसले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने जानकारी गराए ।

त्यस्तै जनमत पार्टीले पनि मुख्यमन्त्री आचार्यले प्रस्तुत गरेको विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने भएको छ । जनमत पार्टीका दल नेता चन्द्रकेश गुप्ताले विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने भएको छ । राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले मत विभाजनको प्रक्रियामा पार्टी तटस्थ बस्ने जानकारी बैठकमा गराइन् ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?