+
+
Shares

ओली-प्रचण्ड सहमतिको २३ दिनपछि कोशीमा पुरानै नेतृत्वमा नयाँ गठबन्धन

तीन बुँदे सहमतिपछि ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका थिए । कार्कीलाई हटाउने प्रयास सफल नभएपछि ओली ब्याक भए ।

हरि अधिकारी हरि अधिकारी
२०८३ भदौ १ गते २२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेशमा नेकपा एमाले र नेकपाबीचको सहमतिपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ गठबन्धन सरकार गठन भएको छ ।
  • नयाँ सरकारमा नेकपाबाट चार मन्त्री र एक राज्यमन्त्रीसहित पाँच जना सहभागी भई सोमबार अपराह्न शपथ ग्रहण गरेका छन् ।
  • मन्त्रिपरिषद् विस्तारसँगै सरकारमा रहेका एमालेका केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरिएको छ भने जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

१ भदौ, विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सहमतिपछि कोशी प्रदेशमा पुरानै नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच ३ बुँदे सहमति भएको २३ दिनपछि कोशी प्रदेशमा हिक्मतकुमार कार्कीको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको हो । यसअघि एमाले–कांग्रेस गठबन्धन हुँदा पनि कार्कीकै नेतृत्वमा गठबन्धनको सरकार थियो ।

तीन बुँदे सहमतिपछि ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मतकुमार कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउन चाहेका थिए । कार्कीलाई हटाउने प्रयास सफल नभएपछि ओली ब्याक भए ।

कार्कीको निरन्तरता सुनिश्चित भएपछि नेकपा सरकारमा सहभागी भएको हो । यसअघि कार्कीको नेतृत्वमा कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी थिए । नेकपा पनि चार मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा सहभागी भएको हो । नेकपाले सरकारमा पाँच जनालाई पठाउँदा तीन जना महिला परेका छन् ।

पाँचै जनाले सोमबार अपराह्न शपथ ग्रहण गरेका छन् । इलामबाट निर्वाचित सांसद खिनु लङ्वा लिम्बू पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी छन् । पूर्वएकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री भएकी उनले प्रदेश सरकारमा नेकपाको नेतृत्व गरेकी छिन् । उनी लगातार दुई पटक प्रदेश सांसद निर्वाचित भएकी थिइन् ।

सोलुखुम्बुबाट निर्वाचित गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । मोरङकी समानुपातिक सांसद गीता तिम्सिना सामाजिक विकास नियुक्त हुँदा जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् ।

मोरङ-६ (क) बाट निर्वाचित आचार्य नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ हुन् । उनी वृहत विराट क्षेत्रको प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा सहभागी भएको नेकपाले जनाएको छ । उनी निर्वाचित भएको क्षेत्र विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका र सुन्दरहरैचा नगरपालिकामा पर्छ ।

सुनसरीकी समानुपातिक सांसद सपना परियार भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएकी छन् । प्रदेश सरकारमा सहभागिताका लागि पूर्वनेकपा माओवादी केन्द्र पक्षले ३ मन्त्री र एक राज्यमन्त्री र नेकपा एकिकृत समाजवादी समूहले १ मन्त्री पाएको थियो ।

नेकपा सरकारमा सहभागी हुँदा एमालेबाट सरकारमा सहभागी भएका दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पनि हेरफेर भएको छ ।

नेपाली कांग्रेस सरकारमा सहभागी हुँदा, भौतिक पूर्वाधार, वन पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालयको जिम्मेवारी पाएको थियो । नयाँ सत्ता समीकरण बनेपछि नेकपाले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित चार मन्त्रालय दाबी गरेको थियो ।

एमालेले नेकपालाई फकाउन विगतमा आफ्नै नेतृत्वमा रहेको सामाजिक र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

नेकपाले आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी पाएपछि सो मन्त्रालयको नेतृत्व गरिरहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्री बनाइएको छ । सामाजिक विकास मन्त्री रहेका रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

आन्तरिक मामिला राज्यमन्त्री उमाकान्त गौतमलाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी हेरफेर भएन ।

मन्त्रीमा आचार्यको ह्याट्रिक

सोमबार कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा १९औँ पटक मन्त्रिमण्डल विस्तार हुँदा नेकपा सांसद जीवन आचार्यले तेस्रो पटक मन्त्री बन्ने मौका पाएका छन् । यो पटक उनले प्रभावशाली मानिने भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

आचार्य हिक्मतकुमार कार्कीको नेतृत्वमा दोस्रो पटक मन्त्री बनेका हुन् । कार्कीको पहिलो कार्यकालमा २०७९ पुस २९ गते आचार्य पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए ।

केन्द्रको समीकरण फेरिएपछि कोशी प्रदेशमा कांग्रेस नेता उद्धव थापाको नेतृत्वमा सरकार बन्दा २४ असार २०८० मा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बने । हिक्मतकुमार नेतृत्वमै नयाँ प्रदेशमा नयाँ गठबन्धन निर्माण हुँदा भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् ।

दोस्रो पटक मन्त्री, पहिलो पटक पार्टीको नेतृत्व

कोशी प्रदेशसभाको निर्वाचित महिला सांसद खिनु लङ्वा लिम्बू दोस्रो पटक मन्त्री भएकी छन् । इलाम-१ (क) बाट लगातार दोस्रो पटक निर्वाचत भएकी उनी पहिलो कार्यकालमा पनि मन्त्री बनेकी थिइन् । पहिलो कार्यकालमा उनी संस्कृति तथा पर्यटनमन्त्री बनेकी थिइन् ।

दोस्रो पटक उनले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । दोस्रो पटक मन्त्री बन्दा उनी नेकपाको नेतृत्व गर्दै मन्त्री बनेकी हुन् । लङ्वा यसअघि २०७८ माघ २३ गते संस्कृति तथा पर्यटन मन्त्रीमा नियुक्त भएकी थिइन् । उनी प्रदेशको एकमात्र लगातार दोस्रो पटक निर्वाचित एक मात्र महिला सांसद हुन् ।

गीत गाउँदागाउँदै मन्त्री

सरकारलाई प्रश्न गर्दागर्दै नेकपाका सोलुखुम्बुका निर्वाचित सांसद गोम्बु शेर्पा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका छन् । उनी प्रदेश सभामा आफ्ना कुरा राख्दा कहिले गीत गाउँथे, कहिले कविता वाचन गर्थे । प्रदेशसभामा सत्तालाई प्रश्न गर्दागर्दै उनी जवाफ दिने ठाउँमा पुगेका हुन् ।

उनी हिमाली क्षेत्रबाट प्रदेशसभामा निर्वाचित एक मात्र शेर्पा समुदायका प्रतिनिधि हुन् । शेर्पा प्रदेशसभामा बैठकका क्रममा फरक शैलीमा प्रस्तुत भएका कारण पटकपटक सामाजिक सञ्जालमा भाइरल बनेका थिए ।

प्रतिपक्षमा हुँदा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई व्यंग्यात्मक शैलीले गीत गाएर प्रश्न गर्ने उनी कार्की नेतृत्वको सरकारमा पुगेका हुन् ।

प्रत्यक्षमा पराजित, समानुपातिकबाट मन्त्री

नेकपा समानुपातिक सांसद गीता तिम्सिना सामाजिक विकास मन्त्री बनेकी छन् । पूर्वसभामुख बाबुराम गौतमलाई रोकेर तिम्सिनालाई सामाजिक विकास मन्त्री बनाइएको हो ।

उनी २०७४ सालमा नेकपा माओवादी केन्द्रबाट मोरङ-३ (क)बाट प्रदेशसभा सदस्य उम्मेदवार थिइन् । तर पराजित भइन् । २०७९ सालको दोस्रो प्रदेशसभा निर्वाचनमा उनी समानुपातिक सूचीबाट प्रदेश सांसद बनिन् ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले उनलाई दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । तीन बुँदे सहमतिपछि प्रदेशमा सरकार विस्तार हुँदा उनले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?