News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको अनुभवहीनता र कार्यशैलीका कारण देश बर्बादीतर्फ उन्मुख रहेको आरोप लगाए ।
- ओलीले नयाँ राजनीतिक शक्तिहरूलाई लक्षित गर्दै शासन सञ्चालन गर्न आवश्यक ज्ञान र सीप नभएको टिप्पणी गरे ।
- संविधानको उल्लंघन भइरहेको दाबी गर्दै उनले संविधानलाई सही बाटोमा फर्काउन अनुभवी र सक्षम नेतृत्वको आवश्यकतामा जोड दिए ।
३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बर्बादीतर्फ उन्मुख रहेको बताएका छन् ।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरेका हुन् ।
ओलीले प्रधानमन्त्री बालेन शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे । नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षता समेत नभएको उनले टिप्पणी गरे । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताए । खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै, नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने उनले जिकिर गरे ।
सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ ।
ओलीले सिप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको बताए ।
अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उनले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाए ।
संविधानको रक्षाका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताए ।
ओलीले भने, ‘सरकारले जे गर्न सक्थ्यो, त्यही गर्दैछ । अनुभव र ज्ञान नभएकालाई जिम्मेवारी दिँदा यस्तै हुन्छ । खाना बनाउन नजान्ने बच्चालाई भान्सामा पठाउँदा उसले तरकारी काट्नेदेखि चिया बनाउनसम्म सबै कुरा बिगार्न सक्छ । नाच्न नजानेकोलाई नचाउँदा राम्रो नाच्न सक्दैन, मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन । शासन चलाउन पनि त्यस्तै अनुभव, क्षमता र ज्ञान चाहिन्छ । जानेकाले गर्ने ठाउँमा अनुभवहीन र उरन्ठेउला व्यक्तिलाई जिम्मेवारी दिँदा देश बर्बाद हुने अवस्था आएको छ ।’
उनले अगाडि भने, ‘संविधान मिचिएको छ । अब संविधानलाई सही बाटोमा फर्काउनुपर्छ । प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक ढंगले चुनावको नाटक गरियो । प्रतिनिधिसभाको कार्यकाल अझै बाँकी हुँदाहुँदै किन विघटन गरियो ? समय हुँदाहुँदै संसद विघटन गरेर फेरि अर्को संसद किन आवश्यक पर्यो ? यसको जवाफ जनताले खोज्नुपर्छ ।’
ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिए ।
प्रतिक्रिया 4