+
+
Shares

नेपाल टेलिकमले एक वर्षमा बढायो पौने ३ अर्ब नाफा

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ नाफा वृद्धि गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १९:२९

२ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ नाफा वृद्धि गरेको छ ।

कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा नेपाल टेलिकमले कुल आठ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । आर्थिक वर्ष २०८१÷८२ मा कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख रुपैयाँ रहेको थियो ।

यसरी अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको खुद मुनाफामा दुई अर्ब ८५ करोड ७९ लाख रुपैयाँले वृद्धि भएको छ ।

कम्पनीको करअघिको मुनाफामा पनि उल्लेख्य वृद्धि देखिएको देखिन्छ । गत आर्थिक वर्षमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षमा नौ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो । यस आधारमा करअघिको मुनाफामा तीन अर्ब ४१ करोड ४५ लाख रुपैयाँले बढोत्तरी भएको छ ।

साथै, ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसन अघिको आम्दानी अघिल्लो वर्षको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँबाट बढेर गत आर्थिक वर्षमा २० अर्ब ४८ करोड एक लाख रुपैयाँ पुगेको छ, जुन एक अर्ब ९८ करोड ४१ लाख रुपैयाँले बढी हो ।

टेलिकमको सञ्चालन तथा कुल आम्दानीमा पनि सकारात्मक प्रभाव परेको देखिन्छ । गत आर्थिक वर्षमा कुल सञ्चालन आय ३४ अर्ब ९५ करोड चार लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा एक अर्ब पाँच करोड ५९ लाख रुपैयाँले बढी हो ।

त्यसैगरी, कम्पनीको कुल आम्दानी ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ रहेको थियो, जसले गर्दा कुल आम्दानीमा एक अर्ब एक करोड १५ लाख रुपैयाँको वृद्धि देखिन्छ ।

यद्यपि, बैंकको ब्याजदरमा आएको गिरावटका कारण टेलिकमको ब्याज आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ब्याज आम्दानी ८६ करोड १९ लाख रुपैयाँले कम भएको छ । ब्याज आम्दानी घटे पनि कम्पनीको मुख्य दूरसञ्चार सेवा, विशेषगरी जिएसएम सेवाको राजस्व ६४ करोड ५४ लाख रुपैयाँले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?