+
+
Shares

धर्मको राजनीति : शेरबहादुरले लिए खुमबहादुरको लाइन

शक्तिमै भएका बेला भारतले पटक-पटक हिन्दु राष्ट्र बनाउन दबाब दिएको देउवा स्वयंले बताउने गरेका थिए । हिन्दु राष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले पनि आफ्नो पुस्तकमा देउवाको यो सन्दर्भ उल्लेख गरेका छन् ।

सन्त गाहा मगर सन्त गाहा मगर
२०८३ भदौ २ गते २१:२०
Listen News
0:00
0:00
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेरबहादुर देउवाले कांग्रेस संस्थापन इतरको कार्यक्रममा ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’ भन्दै हिन्दु धर्मको पक्षमा अभिव्यक्ति दिएका छन्।
  • कांग्रेस नेताहरूका अनुसार देउवाले २०८० सालमा ओली र दाहालसँग हिन्दु राष्ट्रबारे छलफल गरेका थिए र नवलपुर सम्मेलनमा धर्मनिरपेक्षता हटाउने विषय उठाएका थिए।
  • महासमिति बैठक र केन्द्रीय समितिमा हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो, जसमा केही नेताहरूले समर्थन गरेका थिए।

२ भदौ, काठमाडौं । २०५२ सालमा प्रधानमन्त्री बनेका शेरबहादुर देउवा सरकारको नेतृत्व गरेको २० वर्षपछि बल्ल पार्टी सभापति बन्न सफल भएका थिए ।

२०७२ फागुनमा काठमाडौंमा आयोजित तेह्रौं महाधिवेशनबाट उनी नेपाली कांग्रेस नेतृत्वमा पुगे । त्यतिबेलासम्म उनले तीन पटक सरकारको नेतृत्व गरिसकेका थिए ।

देउवालाई सभापति बनाउन खुमबहादुर खड्काले महत्त्वपूर्ण भूमिका खेलेका थिए । त्यतिबेला कांग्रेस नेताहरूले भनेका थिए– खुमबहादुरले साथ नदिएको भए शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुन सक्दैनथे ।

खोलो तर्‍यो लौरो बिर्सियो भने जस्तो महाधिवेशनपछि खड्कालाई उपसभापतिमा मनोनीत गर्न देउवा तयार भएनन् । केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएका खड्कालाई उपसभापति बनाउने दबाब बढेपछि देउवाले दुई वटा कारण देखाए ।

पहिलो, जेलबाट छुटेपछि हिन्दु राष्ट्र हुनुपर्छ भनेर अभियान सञ्चालन गरेको र दोस्रो राजतन्त्रको पक्षमा धारणा राख्ने गरेको ।

२०३३ सालमा विश्वेश्वरप्रसाद कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कँदासँगै फर्केका खड्काले कठिन समयमा देउवालाई साथ दिएको देखिन्छ । जस्तो २०५९ सालमा पार्टी विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गर्दा खड्का देउवाकै पक्षमा उभिए ।

संकट पर्दा आफूलाई साथ दिए पनि हिन्दु धर्मको पक्षपोषण गरेको भन्दै खड्कालाई देउवाले उपसभापति बनाएनन् । त्यति मात्र होइन खड्कालाई नै रोक्न एकपटक अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आजीवन पार्टी राजनीतिमा आउन नसक्ने गरी निर्वाचन कानुन संशोधन गरिएको कांग्रेस नेताहरू बताउँछन् ।

२०६३ जेठ ४ गते प्रतिनिधिसभाबाट नेपाललाई धर्मनिरपेक्ष देश घोषणा गर्दा नै खड्का त्यसको विपक्षमा थिए । पूर्वगृहमन्त्री समेत रहेका खड्काको निधन भएको साढे आठ वर्षपछि तिनै देउवाले धर्मलाई राजनीतिक हतियार बनाउन लागेको कतिपयको विश्लेषण छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा देउवा २०७८ मा भारत भ्रमणका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग ।

कांग्रेस संस्थापन इतरको कार्यक्रममा देउवाले भने, ‘नेपाल के हुने के नहुने भन्ने कुरा नेपाली जनताको हातमा छ । तर हिन्दुलाई हिन्दु होइनस् भन्न पाइँदैन । म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।’ देउवा त्यतिमै रोकिएनन्, ‘म पशुपति जान्छु । त्यहाँ पूजा गर्छु । म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ ।’

देउवाको भनाइ बारे सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानका प्रवक्ता लोकेश ढकालको टिप्पणी छ, ‘तीन पटक तलाक भन्दा सम्बन्ध विच्छेद हुन्छ भने जस्तो तीन पटक म हिन्दु हुँ भन्नु जरुरी थिएन ।’

२०८२ भदौ अन्तिम साता जेनजी ‘विद्रोह’को क्रममा देउवा दम्पती निर्घात कुटिएका थिए । त्यसको डेढ महिनापछि १० कार्तिकमा उपचारका लागि सिंगापुर गए ।

उपचार गरेर फर्केका देउवा २१ फागुनको निर्वाचनअघि फेरि सिंगापुर लागे । साढे पाँच महिना सिंगापुर बसेर फर्केका देउवाले धार्मिक एजेण्डा किन उठाए ?

‘यो धारणा धेरै सोचविचार गरेर आएको जस्तो त लाग्दैन । तर शक्ति पुनःप्राप्तिको सोचले काम गरेको होला जस्तो लाग्छ,’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन् ।

हिन्दु धर्म समर्थक र भारतलाई खुशी पार्ने मनशायले यस्तो धारणा आएको हुनसक्ने खनालको विश्लेषण छ । उनी भन्छन्, ‘विश्वहिन्दु महासंघ लगायतका संस्थामा सुदूरपश्चिम प्रदेशतिरका कांग्रेस समर्थकहरू धेरै लागेको छ भनेर बोलेको हुनसक्छ । उनीहरू पनि खुशी हुने र भारत पनि खुशी हुने भन्ने बुझाइले काम गरेको होला ।’

२०७४ सालमा खुमबहादुर खड्काको निधनपछि कांग्रेस नेताहरू शंकर भण्डारी, लक्ष्मण घिमिरे, लोकेश ढकाल, देवेन्द्रराज कँडेल, लगायतले हिन्दु राष्ट्रको मुद्दालाई उठाई राखे । कांग्रेस उपसभापति पुष्पा भुसाल, शेखर कोइराला, शशांक कोइराला पनि हिन्दु राष्ट्रकै पक्षमा देखिए ।

सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानका संयोजक शंकर भण्डारी आफूहरूको दबाबपछि देउवाले यस्तो धारणा राखेको हुनसक्ने बताउँछन् । उनी भन्छन्, ‘देश विदेशमा हाम्रो अभियानको व्यापक प्रभाव पर्न थालेपछि उहाँले त्यस्तो मन्तव्य दिनु भएको हो । उहाँले मनैबाट बोल्नु भएको हो जस्तो लाग्छ ।’

लामो समय कांग्रेस राजनीति गरेका पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ता भने तात्कालीक लाभ हुने आशाले मात्र यस्तो अभिव्यक्ति आएको हुनसक्ने बताउँछन् ।

उनी भन्छन्, ‘राजा र भारतलाई खुशी बनाउँदा लाभ होला कि भनेर यस्तो अभिव्यक्ति आएको हो । पोलिटिकल अर्जेन्सी पुरा भएन भने यो छाडिहाल्छन् ।’

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरूले भारतीय संस्थापनसँग राम्रो सम्बन्ध बनाएको बुझाइले पनि देउवाको यस्तो धारणा आएको हुनसक्ने कतिपयको विश्लेषण छ ।

हिन्दु राष्ट्रको पक्षमा अभिव्यक्ति दिँदै आएका डा. शशांक कोइरालालाई इतर पक्षको संयोजक बनाउनु पनि अर्थपूर्ण रहेको देउवा पक्षीय नेताहरू बताउँछन् ।

‘यत्तिकै पूर्णबहादुर खड्कालाई हटाएर डा. शशांकलाई अघि सारेको हो जस्तो मलाई लाग्दैन,’ कांग्रेस राजनीतिलाई नजिकबाट नियालेका एक जना विश्लेषक भन्छन् । यस्तो मुद्दा लिएर जाँदा संस्थापनलाई चुनौती दिन सकिन्छ भन्ने निष्कर्षमा पुगेको हुन सक्ने उनी बताउँछन् । भोलि दुई वटा पार्टी बन्यो भने संस्थापन भन्दा र्‍याडिकल देखिने सोचले धर्मको कुरा आएको उनको विश्लेषण छ ।

शक्तिमै भएका बेला भारतले पटक-पटक हिन्दु राष्ट्र बनाउन दबाब दिएको देउवा स्वयंले बताउने गरेका थिए । हिन्दु राष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले पनि आफ्नो पुस्तकमा देउवाको यो सन्दर्भ उल्लेख गरेका छन् ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा आफू परराष्ट्रमन्त्री भएका बेला देउवाले यस्तो खुलासा गरेको थापाको पुस्तकमा छ । ‘नाकाबन्दी र भूराजनीतिः कूटनीतिमा मेरो अनुभव र अनुभूति’ शीर्षकको पुस्तकको पृष्ठ १९८ मा सर्वदलीय बैठकको चर्चा गर्दै थापाले लेखेका छन्ः

‘छलफल चलिरहेकै बेला नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल (वर्तमान राष्ट्रपति)ले जिज्ञासा राखे–उपप्रधानमन्त्री कमलजीको भनाइअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नेताहरूमाथि विश्वास गर्न नसकिने भन्नुभयो रे ! दिल्लीमा एउटा कुरा अनि नेपाल फर्केपछि अर्को कुरा गर्नुहुन्छ रे ! दिल्ली भ्रमण गरिरहने तपाईंहरू मध्ये को हो ? के वचन दिनुभएको थियो ? किन पुरा गर्न सक्नु भएन ? कुरा प्रष्ट हुनु पर्‍यो ।

बैठकको एक कुनामा रहेका पूर्वप्रधानमन्त्री देउवाले आफ्नो सरल शैलीमा भने–‘मसँग हिन्दुराष्ट्र राख्न उनीहरूले कुरा गरेका हुन् । मैले त प्रयास गरेकै हो तर सकिनँ त के गरौं !’

उक्त बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि झण्डै देउवाकै जस्तो धारणा राखेको थापाको पुस्तकमा उल्लेख छ ।

देउवाले हिन्दुराष्ट्र राख्ने विषयमा २०८० सालमा ओली र दाहालसँग छलफल गरेको कांग्रेसका एक नेताले जानकारी दिए । ‘शेरबहादुरजीले तीन दलीय शीर्ष बैठकमा पनि यो कुरा राख्नु भएको रहेछ । तर दुवै कम्युनिस्ट नेताले तत्काल नगरौं भनेछन्,’ संस्थापन इतर पक्षमा खुलेका एक नेताले अनलाइनखबरसँग भने ।

२०८० मंसिरमा नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनमा देउवाले राजतन्त्र पुनःस्थापनाको मुद्दा बोक्न नसकेपनि धर्मनिरपेक्षता हटाएर हिन्दु राज्य बनाउने विषयमा छलफल गर्न सकिने धारणा राखेका थिए ।

त्यसको चार महिनापछि ललितपुरको गोदावरीमा आयोजित महासमिति बैठकमा शंकर भण्डारी, लोकेश ढकाल, देवेन्द्रराज कँडेल लगायतको सक्रियतामा हस्ताक्षर अभियान चल्यो ।

त्यो बैठकमा देउवा नै हिन्दु राष्ट्रको प्रस्ताव लैजाने विषयमा छलफल गरेको कांग्रेस नेताहरू बताउँछन् । हिन्दु राष्ट्र अभियानका प्रवक्ता लोकेश ढकाल भन्छन्, ‘महासमिति बैठक भन्दा चार पाँच महिना पहिला घरमै गएर हामीले देउवालाई भेटेका थियौं । अभियानका संयोजक शंकर भण्डारीलाई हस्ताक्षर प्रस्तुत गर्न दिने पूर्व सहमति थियो । त्यसै अनुसार उहाँले पेश गर्न पनि पाउनु भयो ।’

यद्यपि महासमिति बैठकमा यो विषय छलफल भएन । ‘छलफल नभए पनि बैठकमा हस्ताक्षर पेश गर्न पाउनु पनि एक कदम अगाडि बढेको त हो नि,’ ढकाल भन्छन् ।

त्यसअघि नवलपरासीको त्रिवेणीमा बसेको कांग्रेस महासमिति बैठकमा पनि यो विषयमा हस्ताक्षर अभियान चलेको थियो । ९ सय मध्ये चार सय महासमिति सदस्यले हस्ताक्षर गरेको ढकालको दाबी छ । त्यतिबेला भने बैठकमा पेश हुन पाएन ।

कांग्रेसको चौधौं महाधिवेशनपछि बनेको केन्द्रीय समितिका ३९ जनाले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसमध्येका केही नेताहरू विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा छन् ।

पहिलो पटक २०१९ सालको संविधानमार्फत् नेपाललाई हिन्दु राष्ट्र घोषणा गरिएको थियो । २०६२/०६३ को जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्व र अन्य विभिन्न आन्दोलनपछि धर्मनिरपेक्षता घोषणा गरियो ।

२०५९ सालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि अकुत सम्पत्ति सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भएका खुमबहादुर खड्काले त्यही धर्मनिरपेक्षताको विरोधमा २०७१ सालतिर अभियान चलाए । देउवामा पनि धर्मको जुइनो समातेर गुमेको राजनीतिक विरासत फर्काउने सोच पलाएको निकटस्थहरू बताउँछन् ।

प्राध्यापक कृष्ण खनाल भने नेपालमा धर्मको राजनीति असफल भइसकेको बताउँछन् । उनी भन्छन्, ‘पुनः शक्ति प्राप्तिको आशाले त्यस्तो बोलेको हुनसक्छ । धर्मको मुद्दा लिँदैमा समर्थन पाउने भए त राप्रपाले उहिल्यै चुनाव जितिसक्थ्यो ।’

लेखक
सन्त गाहा मगर

गाहा मगर अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?