News Summary
Generated by OK AI. Editorially reviewed.- कमेडियन अमरेन्द्र यादवले टिभी शो ‘कमेडी बाज’ मा रोस्ट गरेपछि मार्ने धम्की र व्यक्तिगत गाली आएको बताएका छन् ।
- यादवले कमेडीलाई कमेडीका रूपमा बुझ्न र व्यक्तिगत गालीगलौजमा नउत्रन आग्रह गर्दै कोठाबाहिर ननिस्किएको बताएका छन् ।
- एमाले नेता सूर्य थापाले आफू रोस्ट सहन सक्ने भन्दै कार्यक्रममा सहभागी हुन सहमत भएको र धम्कीसम्बन्धी यादवको स्टाटसले आश्चर्य लागेको बताएका छन् ।
काठमाडौं । कमेडियन अमरेन्द्र यादवले टिभी शो ‘कमेडी बाज’ मा व्यंग्य प्रस्तुति दिँदा आफूलाई मार्ने धम्की र गाली आएको बताएका छन् । सामाजिक सञ्जालबाट उनले कमेडीलाई कमेडीको रुपमा बुझ्न र व्यक्तिगत गालीगलौजमा नउत्रन आग्रह गरेका छन् ।
मंगलबार युट्युबमा आएको शोको १५ औं एपिसोडमा एमाले नेता सूर्य थापा र अर्का नेता मुकुल ढकाल गेस्ट बनेर पुगेका थिए । उक्त शोमा यादवले केपी ओलीसहितका एमाले नेताहरूलाई व्यंग्य गरेका थिए ।
उक्त एपिसोडको टिजर केही दिनअघि नै रिलिज भएको थियो । टिजर सार्वजनिक भएदेखि आफूले निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको यादवले बताएका छन् ।
उनी लेख्छन्, ‘पछिल्ला ३/४ दिनदेखि भिडियो सार्वजनिक भएदेखि नै म निरन्तर मानसिक दबाब र व्यक्तिगत गालीगलौज झेलिरहेको छु । यो कसले गरिरहेको हो, नेकपा एमालेका कार्यकर्ता हुन् कि अरू कोही हुन् ? म यकिनका साथ भन्न सक्दिनँ । तर मलाई व्यक्तिगत रूपमा गाली गर्ने र टर्चर दिने काम भइरहेको छ ।’
लगातारको धम्कीपछि आफू कोठाभन्दा बाहिर नगएको उनले बताएका छन् । ‘कहिलेसम्म रुममा बस्ने म ?’ उनले लेखेका छन् ।
उनले प्रश्न गरेका छन्, ‘एउटा कलाकारले रोस्ट गर्छ भन्ने कुरा सबैलाई थाहा हुन्छ । कार्यक्रममा गेस्ट आउँदा पनि उहाँहरूलाई यहाँ रोस्ट हुन सक्छ भन्ने कुरा थाहा हुन्छ, त्यसैअनुसार सहभागी हुनुहुन्छ । त्यसो भए मैले रोस्ट गरेको कुरामा मैले यति ठूलो गल्ती गरेँ ?’
उनले भनेका छन्, ‘मेरो पेसा नै कमेडी हो, र कमेडीको एउटा हिस्सा रोस्ट पनि हो । त्यसैले मैले गरेको रोस्टलाई कृपया कमेडी र मनोरञ्जनको रूपमा सामान्य रूपमा लिनुहोस् ।’
यादवले आफूमाथि गालीगलौज गर्ने निशाना गेस्ट भएर आएका नेता र तिनको पार्टीतिर सोझाएका छन् । उनले नेकपा एमालेको नामै लिएर आफूलाई एमाले विरोधी भनिएको बताएका छन् । तर, आफू स्वतन्त्र व्यक्ति भएको उनको भनाइ छ ।
यादवले धम्की आएको कुरा सामाजिक सञ्जालमा लेखेपछि एमाले नेता सूर्य थापाले फेसबुकबाट उक्त एपिसोडको युट्यूब भिडियो सेयर गर्दै यादवले धम्की आएको भनेर स्टाटस लेखेपछि आफू आश्चर्यमा परेको बताएका छन् ।
थापा लेख्छन्, ‘धेरै पटक सम्पर्क र अनुरोध गरेकोमा सुन्दर खनाल भाइले मसँग भेटेरै छलफल गरेपछि मात्रै म अतिथिका रूपमा उपस्थित हुन सहमत भएको थिएँ । म आफूलाई यस्ता कार्यक्रममा खासै रूचि नराख्ने मान्छेका रूपमा बुझ्दछु । कार्यक्रम प्रशारण भएपछि अमरेन्द्र यादवले धम्की आएको भनेर लामो स्टाटस लेखेको देख्दा आश्चर्य लागेको छ । चर्चामा आउन मच्चाएको फण्डा पक्कै होइन होला ।’
नेता थापाले आफू रोस्ट पचाउन सक्ने क्षमता भएको मान्छे भएको बताएका छन् । ‘म जुनसुकै प्रश्न र रोस्ट सुन्न र सामना गर्न सक्ने दम भएको मान्छे हो । जानीबुझी त्यहाँ जानु भनेको रोस्ट, टोस्ट र होस्ट सबै स्वीकार गरेर नै हो । म र मेरा समर्थकले यस्तो कार्यक्रम मज्जासँग सुन्न र सहज रूपमा लिनसक्ने सामथ्र्य राख्दछौं’ थापा लेख्छन्, ‘यद्यपि यस्ता कार्यक्रम सन्देशमुलक नभएर सस्ता बन्नु र अनावश्यक उडान भर्न रमाउनु उचित होइन ।’
प्रतिक्रिया 4