News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच दाबी पेस गर्ने र अन्य दलको समर्थन खोज्ने छलफल भएको छ।
- प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भदौ ४ गते अपराह्न ४ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न समय दिएका छन्।
- सरकार गठनमा निर्णायक राप्रपाको निर्णय पर्खिँदै एमाले र नेकपाले समर्थन जुटाउने प्रयास जारी राखेका छन्।
३ भदौ, हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धन दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रयास जारी राखेका छन् ।
आज एमाले र नेकपाबीच सरकार गठनका लागि दाबी पेश गर्ने र अन्य दलको पनि समर्थन खोज्ने सम्बन्धमा औपचारिक छलफल भएको छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिसकेका छन् । देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न भदौ ४ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन् । सोही तयारीमा एमाले र नेकपा जुटेका हुन् ।
उनीहरुले बागमती प्रदेश सरकार गठनमा निर्णायक बनेको राप्रपाको निर्णय पर्खिएका छन् ।
एमाले सांसद पूर्वमन्त्री तथा वार्ता समिति सदस्य भरत केसीले राप्रपाको निर्णयपछि सरकार गठनको दाबी पेश गरिने जानकारी दिए । उनले राप्रपासँग आवश्यक छलफल चलिरहेको बताउँदै अहिलेसम्म कुनै निर्णय आइनसकेको बताए ।
नेकपा सांसद पूर्वमन्त्री रत्नप्रसाद ढकालले सरकार गठनमा निर्णायक बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनका लागि आवश्यक कदम चाल्न एमालेलाई आग्रह गरिएको अनलाइनखबरलाई जानकारी दिए । ‘हाम्रो एमालेसँग भर्खरै छलफल सकिएको छ । नेकपा सबै प्रक्रिया अगाडि बढाउन तयारी अवस्थामा रहेको जानकारी दियौं र उहाँहरूलाई राप्रपाको समर्थनका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छौं । उहाँहरू राप्रपाको समर्थन पाउनेमा विश्वस्त देखिनुहुन्छ,’ ढकालले भने ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले अनलाइनखबरसँग संक्षिप्त कुराकानी गर्दै पार्टीभित्र छलफल भइरहेको बताए । बागमतीमा १२ सिट रहेको राप्रपाले यसअघि प्रदेश संसदीय दलका नेता थापालाई पत्र लेख्दै सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन निर्देशन दिएको थियो । यद्यपि राप्रपालाई फकाउने प्रयास गठबन्धन दलका नेताहरुले जारी राखेका छन् ।
एमाले र नेकपा गठबन्धनमा बागमती सरकारको नेतृत्व एमालेले गर्ने भागबण्डाबाट टुंगिसकेको छ । एमाले बागमती प्रदेश संसदीय दलको बैठकले दलको नेतामा जगन्नाथ थपलियालाई कायम राख्दै भक्तपुरका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने गरी मंगलबार मात्रै निर्णय गरिसकेको छ ।
यसअघि एमालेभित्र मुख्यमन्त्रीलाई लिएर विवाद चलेको थियो भने नेता थपलियालाई हटाउन संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । एमालेले सरकार गठनमा समर्थन खोज्न अन्य दलहरूसँग वार्ताका लागि थापाको संयोजकत्वमा समिति पनि बनाइसकेको छ ।
बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ । बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ । नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।
प्रतिक्रिया 4