News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले पोखराको पेन्सन क्याम्पमा भूतपूर्व भारतीय सैनिकको कल्याण, स्वास्थ्य सेवा र सुविधाका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
- उनले पोखरास्थित ईसीएचएस पोलिक्लिनिकका लागि थप स्वास्थ्य उपकरण उपलब्ध गराउने र पश्चिम नेपालका लागि कोहलपुरमा नयाँ ईसीएचएस पोलिक्लिनिक सञ्चालनमा आएको जानकारी दिए।
- सेठले सुनौलीदेखि गोरखपुरसम्म बस सेवा उपलब्ध गराउने विषयमा विचार भइरहेको र भूतपूर्व सैनिकका परिवारलाई विभिन्न सीपमूलक तालिम दिइरहेको बताए।
३ भदौ, पोखरा । भारतीय स्थल सेना प्रमुख जनरल धीरज सेठले नेपालमा रहेका भूतपूर्व भारतीय सैनिकको कल्याण, स्वास्थ्य सेवा र सुविधाका लागि भारतीय सेनाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका छन् ।
पोखरामा बुधबार आयोजित पेन्सन क्याम्पमा भूतपूर्व भारतीय सैनिक तथा उनीहरूका परिवारलाई सम्बोधन गर्दै सेना प्रमुख सेठले भूतपूर्व सैनिकहरू भारत–नेपाल सम्बन्धका जीवन्त प्रतिनिधि भएको बताए ।
भारतीय सेनामा सेवा गरेका गोर्खा सैनिकको योगदानप्रति सम्मान व्यक्त गर्दै उनले उनीहरूको हित र कल्याण भारतीय सेनाको जिम्मेवारी भएको उल्लेख गरे ।
‘तपाईंहरूको हित, वेल्फेयर र सुविधाका लागि जे-जति सम्भव हुन्छ, हामी पूरा निष्ठा र समर्पणका साथ गर्नेछौँ,’ उनले भने, ‘तपाईंहरूले आफूलाई कहिल्यै एक्लो नसम्झिनुहोस् । भारतीय सेना सधैँ तपाईंहरूको साथमा उभिएको छ ।’
सेठले पोखरास्थित ‘एक्स–सर्भिसमेन कन्ट्रिब्युटरी हेल्थ स्किम (ईसीएचएस)’ पोलिक्लिनिकका लागि आवश्यक थप स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रयास गरिने बताए । पोलिक्लिनिकलाई आधुनिक स्वास्थ्य उपकरणले थप सुसज्जित गर्ने काम पनि अघि बढाइने उनले बताए ।
भूतपूर्व सैनिकहरूले सुनौलीदेखि गोरखपुरसम्म माग गर्दै आएको बस सेवाका विषयमा पनि गम्भीरतापूर्वक विचार भइरहेको उनले जानकारी दिए । उक्त सुविधा उपलब्ध गराउने प्रयास भइरहेको भन्दै उनले त्यसबाट भूतपूर्व सैनिकलाई ईसीएचएस लगायतका स्वास्थ्य सुविधा लिन सहज हुने बताए ।
भारतको ईसीएचएस योजना सन् २०१४ देखि नेपालमा सञ्चालनमा रहेको उल्लेख गर्दै सेना प्रमुख सेठले भारत र नेपालका विभिन्न अस्पतालमा भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई उपचारको सुविधा उपलब्ध हुँदै आएको जानकारी गराए । ईसीएचएसअन्तर्गत सूचीकृत अस्पतालको संख्या थप विस्तार गर्ने प्रयाससमेत जारी रहेको उनले बताए ।
पश्चिम नेपालका भूतपूर्व सैनिकलाई लक्षित गर्दै कोहलपुरमा नयाँ ईसीएचएस पोलिक्लिनिक सञ्चालनमा आएको उल्लेख गर्दै उनले त्यसबाट पश्चिम क्षेत्रका भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई ठूलो सुविधा पुग्ने विश्वास व्यक्त गरे । ‘यो नयाँ पोलिक्लिनिकलाई भारतीय सेनाको तर्फबाट नेपालका सबै भूपू सैनिक र उनीहरूका परिवारलाई समर्पित गर्दछु,’ उनले भने।
सेठले भूतपूर्व सैनिकका परिवारलाई लक्षित गरी विभिन्न जिल्ला सैनिक बोर्डमार्फत कम्प्युटर, ब्युटिसियन तथा फेसन डिजाइनिङलगायतका व्यावसायिक सीपमूलक तालिम सञ्चालन भइरहेको पनि बताए । सिक्किमस्थित मेघाभी स्किल्स युनिभर्सिटीसँगको सम्झौतापछि ती तालिमका प्रमाणपत्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा मान्य हुने व्यवस्था गरिएको उनले जानकारी दिए ।

भारत–नेपाल सम्बन्ध सदियौँ पुरानो रहेको उल्लेख गर्दै सेठले दुई देशबीचको सम्बन्ध केवल छिमेकी राष्ट्रको नभई संस्कृति, परम्परा, धार्मिक आस्था र इतिहाससँग जोडिएको बताए । भारतीय र नेपाली सेनाबीचको विशेष सम्बन्ध पनि यही ऐतिहासिक सम्बन्धको महत्वपूर्ण हिस्सा भएको उनले बताए ।
गोर्खा सैनिकको वीरता, बहादुरी, बफादारी र बलिदानको प्रशंसा गर्दै उनले भारतीय सेनामा गोर्खा सैनिकले हरेक युद्ध र चुनौतीमा अद्भुत साहस प्रदर्शन गरेको बताए ।
सेनाध्यक्षको जिम्मेवारी सम्हालेपछि भारतीय सेनाका लागि अघि सारेका पाँच प्राथमिकताबारे पनि उनले कार्यक्रममा जानकारी गराए । सतर्कता तथा तत्परता, नवप्रवर्तन तथा रूपान्तरण, संयुक्तता, आत्मनिर्भरता र योद्धा उनका पाँच प्राथमिकता रहेको उनले बताए ।
भारतीय सेनामा कार्यरत सबैभन्दा कनिष्ठ सैनिकदेखि भूतपूर्व सैनिकसम्मलाई ‘योद्धा’ का रूपमा आफूले हेर्ने गरेको बताउँदै सेठले भूतपूर्व सैनिकप्रति भारतीय सेनालाई गर्व रहेको बताए ।
‘जुनियर–मोस्ट सोल्जरदेखि यहाँ मेरा सामुन्ने बसेका सबैभन्दा वरिष्ठ भूपूसम्म सबै मेरो शब्दकोषमा योद्धा हुन्,’ उनले भने, ‘यी सबै योद्धामाथि भारतीय सेनालाई गर्व छ ।’
उनले भूतपूर्व भारतीय सैनिकले भारतको सेवामा बिताएको समय र योगदानप्रति सम्मान व्यक्त गर्दै उनीहरूको कल्याण र सुविधाका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता दोहोर्याए ।
कार्यक्रमको अन्त्यमा उनले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारप्रति धन्यवाद व्यक्त गर्दै ‘जय हिन्द, जय नेपाल, जय भूपू’ भन्दै सम्बोधन टुंग्याएका थिए ।
प्रतिक्रिया 4