+
+
Shares

राष्ट्रिय सभाको शून्य समय : सांसदहरूले के के विषयमा गराए सरकारको ध्यानाकर्षण ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिमको विकासमा केन्द्र सरकारले उपेक्षा गरेको आरोप लगाउँदै ठूला जलविद्युत् आयोजना अलपत्र परेको बताए ।
  • सांसद भूवनबहादुर सुनारले हप्तामा दुई दिन सार्वजनिक बिदा अव्यावहारिक भएको भन्दै तुरुन्त खारेज गर्न र दशैँको १५ दिने अदालत बिदा ६ दिनमा सीमित गर्न माग गरे ।
  • सांसद मदनकुमारी शाहले होल्डिङ सेन्टरमा विस्थापितहरूको अवस्था दयनीय भएको र सरकारको अदूरदर्शी निर्णयका कारण ११ जनाको मृत्यु भइसकेको जानकारी दिइन् ।

३ भदौ, काठमाडौं । सांसदहरूले मुलुकको समसामयिक राजनीतिक, सामाजिक तथा आर्थिक मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शुन्य समयमा सुदूरपश्चिमको विकासमा भएको ढिलाइ, सार्वजनिक बिदाको व्यवस्थापन, होल्डिङ सेन्टरको अवस्था र जनस्वास्थ्यका समस्या लगायतका विषय प्रमुखताका साथ उठेका हुन् ।

सांसद नारायणदत्त मिश्रले सुदूरपश्चिम प्रदेशको विकासमा केन्द्र सरकारले उपेक्षा गरेको आरोप लगाए ।

उनले सेती, कर्णाली र महाकाली जस्ता ठूला जलविद्युत् आयोजनाहरू अलपत्र परेको उल्लेख गर्दै विकासको गति अत्यन्तै सुस्त रहेको बताए ।

रोजगारीको अभावमा सुदूरपश्चिमका नागरिकहरू भारतमा न्यून स्तरको श्रम गर्न बाध्य भएको बताउँदै उहाँले सडक, अस्पताल, सिंचाई र मलको सुनिश्चितता गर्न माग गरे ।

सांसद भूवनबहादुर सुनारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था अव्यावहारिक भएको भन्दै यसलाई तुरुन्त खारेज गर्न माग गरे ।

दुईदिने बिदाका कारण अस्पताल र विद्यालय जस्ता संवेदनशील क्षेत्र अस्तव्यस्त भएको उनको तर्क छ । साथै, उनले अदालतमा दशैँको अवसरमा दिइने १५ दिने बिदालाई कटौती गरी ६ दिनमा सीमित गर्नुपर्नेमा जोड दिए ।

सांसद मदनकुमारी शाहले होल्डिङ सेन्टरमा रहेका विस्थापितहरूको अवस्था दयनीय भएको र सरकारको अदूरदर्शी निर्णयका कारण ११ जनाको मृत्यु भइसकेको जानकारी दिइन् ।

पछिल्लो समयमा दुई जनाले आत्महत्या गरेको घटना उल्लेख गर्दै उनले गरिब र भूमिहीनहरूको स्थायी बसोवासको व्यवस्था गर्न सरकारसँग माग गरिन् ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको रामपुरमा वर्षाका कारण भएको क्षति र वागमती किनारका सुकुम्बासीहरूको असुरक्षाबारे सरकारको ध्यानाकर्षण गराइन् ।

सुरक्षित स्थान भनिएका होल्डिङ सेन्टरहरूमा नै मानिसको मृत्यु हुनु दु:खद भएको भन्दै उनले सरकारको जवाफ माग गरिन् ।

सांसद युवराज शर्माले मुलुकमा क्षयरोग, जापानीज इन्सेफ्लाइटिस र स्क्रब टाइफस जस्ता रोगको प्रकोप बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।

जाजरकोटका पहिरो पीडितहरू त्रिपालमुनि बिरामी परेको समयमा मन्त्री र सांसदहरू जिम्मेवार नदेखिएको उनको आरोप छ ।

बजारमा व्याप्त महँगी र अभावको कारण फितलो अनुगमन भएको भन्दै उनले विद्युत व्यापारमा भइरहेको घाटा न्युनिकरणका लागि प्रभावकारी नीति ल्याउन आग्रह गरे ।

सांसद सुरेशकुमार आले मगरले धर्मलाई व्यक्तिगत स्वतन्त्रताको विषयका रूपमा परिभाषित गर्दै राज्य धर्मनिरपेक्ष हुनुपर्ने धारणा राखे ।

लोकतान्त्रिक व्यवस्थामा राज्यको कुनै निश्चित धर्म नहुने तर्क गर्दै उनले धार्मिक स्वतन्त्रतालाई व्यक्तिगत मामिलाका रूपमा मात्र लिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?