+
नेपाली क्रिकेट :

नेपाली क्रिकेटमा कप्तान परिवर्तन मात्रै समाधान हो ?

२०८३ भदौ  ४ गते १३:३९ २०८३ भदौ ४ गते १३:३९

नयाँ कप्तानसँगै नयाँ सोच आउन सक्छ, खेलाडीको भूमिका फेरिन सक्छ, मैदानमा रणनीति बदलिन सक्छ । तर एउटा प्रश्न भने स्वाभाविक रूपमा उठ्छ– कप्तान परिवर्तन मात्रै पर्याप्त छ त ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले ओडीआई कप्तान रोहित पौडेललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी सुम्पेको छ।
  • क्यानका क्रिकेट निर्देशक विनोद दासले ओडीआईमा नेपालले ११ खेलमात्र जितेको र निरन्तरता नदेखिएको भन्दै परिवर्तन आवश्यक भएको बताए।
  • पूर्वकप्तान राजु खड्काले कप्तान परिवर्तन मात्र समाधान नभई संरचनागत सुधार, चयन प्रक्रिया र तयारी पनि आवश्यक रहेको बताए।

४ भदौ, काठमाडौं । नेपाली क्रिकेटमा कप्तान परिवर्तन नयाँ कुरा होइन भन्दा फरक नपर्ला । टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसक्दा नेतृत्व परिवर्तनलाई सुधारको एउटा माध्यमका रूपमा हेरिन्छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले केही साताअघि नेपालको ओडीआई टिमको कप्तानबाट रोहित पौडेललाई हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी सुम्पियो ।

रोहितले झन्डै चार वर्ष नेपालको कप्तानी गरेपछि पहिले टी-२०आई र त्यसपछि ओडीआई कप्तानी पनि गुमाए । लिग २ क्रिकेटमा बाहिरी कन्डिशनमा लगातार असफल भएपछि कप्तान परिवर्तन गरिएको थियो ।

नयाँ कप्तानसँगै नयाँ सोच आउन सक्छ, खेलाडीको भूमिका फेरिन सक्छ, मैदानमा रणनीति बदलिन सक्छ र त्यसले टोलीको नतिजामै परिवर्तन ल्याउन सक्छ ।

त्यसैले कप्तान परिवर्तनलाई गलत निर्णय भन्न मिल्दैन । तर नेपाली क्रिकेट अहिले जुन अवस्थामा छ, त्यसमा एउटा प्रश्न भने स्वाभाविक रूपमा उठ्छ– कप्तान परिवर्तन मात्रै पर्याप्त छ त ?

नेपालले पछिल्लो समय ओडीआई क्रिकेटमा निरन्तरता खोजिरहेको छ । यही बीचमा रोहित पौडेलको नेतृत्वबाट परिवर्तन गर्दै नयाँ कप्तानको जिम्मेवारी दिइएको छ ।

अब नयाँ नेतृत्वले टोलीमा नयाँ ऊर्जा र रणनीति ल्याउने अपेक्षा छ । तर मैदानको नतिजा बदल्न कप्तानसँगै टोलीको समग्र संरचना र तयारी पनि बदलिनुपर्ने देखिन्छ ।

कप्तान परिवर्तनका किस्सा

नेपाली क्रिकेट टोलीका सबैभन्दा पहिलो कप्तान उत्तम कर्माचार्य हुन् । सन् १९९६ मा खेल्न सुरु गर्दाका कप्तान कर्माचार्यपछि एलबी क्षेत्री, गणेश शाही, पवन अग्रवाल, परेश लोहनी र राजु खड्का हुँदै विनोद दाससम्म कप्तानको जिम्मेवारी आइपुग्यो ।

विनोद दासले सन् २००५ देखि २००८ सम्म नेपालको कप्तानी गरे भने सन् २००९ देखि २०१९ सम्म पारस खड्काको नेतृत्वमा खेलेको नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो फड्को मार्दै ओडीआई मान्यता नै प्राप्त गर्‍यो ।

त्यसपछि ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने हुँदै १९ वर्षको उमेरमै कप्तानी पाएका रोहितले ४ वर्ष कप्तानी गर्दै नेपाललाई विभिन्न सफलताहरू दिलाए । अहिले कप्तानको जिम्मेवारी फेरि सन्दीपकै काँधमा आइपुगेको छ ।

नेपाली क्रिकेटमा प्रदर्शनकै कारण कप्तान परिवर्तन गरिएको यो धेरै समयपछि भएको हो । सन् २००० देखि २००५ को बीचमा कप्तान परिवर्तनहरू टोलीको प्रदर्शन र अन्य प्राविधिक कारणले भइरहने गरेका थिए ।

यसअघि पारस खड्काले झन्डै ११ वर्ष लामो कप्तानी पद स्वेच्छाले त्यागेका थिए भने ज्ञानेन्द्र मल्ललाई क्यानले अनुशासनको कारबाही गर्दै जिम्मेवारी खोसेको थियो ।

सन्दीप लामिछानेले कानुनी फसादका कारण कप्तानीबाट अलग हुनुपरेको थियो । अहिले रोहितलाई भने लगातारको निराशाजनक प्रदर्शनपछि हटाइएको हो ।

क्यानका क्रिकेट निर्देशक विनोद दासले कप्तानी परिवर्तनलाई समग्र ओडीआई प्रदर्शनसँग जोडेर हेरिएको बताए । ‘हामीले ओडीआई साइकलमा सोचेजस्तो प्रदर्शन गर्न सकेका छैनौं । समग्रमा हामीले ११ म्याच मात्र जितेका छौं । घरेलु मैदानमा पछिल्लो ८ मा ६ वटा खेल जितेका छौं । त्यसबाहेक २४ खेलमा जम्मा अर्को ५ खेल मात्र जितेका छौं । हामी ओडीआईमा कन्सिस्टेन्ट छैनौं भनेर देखाएको छ र केही परिवर्तन जरुरी थियो । त्यही नतिजाले गर्दा क्यान र सेलेक्सन कमिटीले निर्णय लिनुभएको हो’ दासले भनेका थिए ।

रोहित पौडेलले नेपाली क्रिकेटलाई लामो समय नेतृत्व गरे । उनको कप्तानीमा नेपालले ओडीआई र टी–२०आई दुवैमा उल्लेख्य संख्यामा खेल खेलेको छ।

रोहितको कप्तानीमा नेपालले ६३ ओडीआई खेल्दा ३१ खेल जितेको छ भने ३० खेलमा पराजित भएको छ। दुई खेल नतिजाविहीन भएका छन् । टी–२०आईतर्फ उनको नेतृत्वमा नेपालले ५९ खेल खेल्दा ३३ जित र २१ हार बेहोरेको छ। तीन खेल टाई हुँदा दुई खेल नतिजाविहीन भएका छन् ।

व्यक्तिगत रूपमा भने रोहित नेपाली ओडीआई क्रिकेटका सबैभन्दा सफल ब्याटरमध्ये एक हुन् । उनी नेपालका लागि ओडीआईमा सर्वाधिक रन बनाउने खेलाडी हुन् र २ हजार ओडीआई रन पूरा गर्ने पहिलो नेपाली खेलाडी पनि बने। उनको नाममा ओडीआईमा दुई शतक छन् ।

रोहितअघि सन्दीप लामिछानेले पनि नेपाली टोलीको नेतृत्व सम्हालेका थिए। सन्दीपको कप्तानीमा नेपालले १४ ओडीआई खेल खेल्दा चार खेल जितेको, नौ खेल हारेको र एक खेल बराबरी गरेको थियो।

अर्थात् कप्तानी परिवर्तन हुँदै गर्दा नेपालले केवल कप्तान मात्र गुमाएको होइन, ओडीआईमा लामो समयदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको एक प्रमुख ब्याटरको नेतृत्व पनि परिवर्तन गरेको हो ।

सन्दीपबाट रोहित र रोहितबाट फेरि सन्दीपकै नेतृत्वमा फर्कँदा नेपाली क्रिकेटले फरक कप्तानी शैली र रणनीति अवश्य पाउनेछ । तर टोलीले चाहेको स्थायित्व आउला वा नआउला त्यो प्रतीक्षाकै विषय छ ।

नयाँ सोच, चुनौती अझै धेरै

कप्तान परिवर्तनको सबैभन्दा सकारात्मक पक्ष भनेको टोलीमा नयाँ सोच स्थापित गर्ने अवसर हो । पूर्वकप्तान राजु खड्काले पनि यसलाई अवसरकै रूपमा व्याख्या गर्दै चुनौती भने अझ धेरै नै बाँकी रहेको बताउँछन् ।

‘लिडरशिप भनेको कस्तो हुन्छ भने टिमलाई कसरी लिएर गइरहेको छ, कुन रणनीति प्रयोग गरिरहेको छ भन्ने कुरा हो, नयाँ कप्तानको सोच चाहिँ फरक हुन्छ । केही नयाँ शैलीको खेल पनि हुन सक्छ र नयाँ कुरा दिन पनि सक्छन्’ खड्काले अनलाइनखबरसँग भने ।

कप्तान परिवर्तन गर्दा टोलीलाई नयाँ ढङ्गबाट अगाडि बढाउने अवसर प्राप्त हुने भएपनि यो मात्रै अहिलेको समाधान भने नभएको पूर्वकप्तान खड्काको भनाइ छ ।

‘अब कप्तान परिवर्तन एउटा पाटो भयो, तर त्यो मात्रै अहिलेको समाधान नहुन सक्छ । विपक्षी टिमको एनालाइसिस गर्नेदेखि टिमको सेलेक्सन गर्ने कुरा पनि धेरै महत्त्वपूर्ण हुन्छ, त्यो कुरामा चाहिँ नेपाली टिम अझै चुकिरहेको होकि जस्तो लाग्छ’ खड्काले भने ।

क्यानले लामो समयदेखि टिम म्यानेजर तोक्न नसकिरहेको अवस्थामा र टोली चयन कसरी हुन्ट भन्नेबारेको असपष्टताले पनि हामी प्राविधिक कुरामा पछाडि रहेको देखाउँछ ।

नेपाली क्रिकेटको समस्या कप्तानको निर्णय क्षमतामा मात्र सीमित छैन । टोलीका मुख्य खेलाडी उपलब्ध नहुँदा उनीहरूको स्थान लिन सक्ने खेलाडीको तयारी, घरेलु क्रिकेटको स्तर, नेपाल ए जस्ता संरचनाबाट राष्ट्रिय टोलीमा खेलाडी ल्याउने प्रक्रिया, अन्तर्राष्ट्रिय अभ्यास खेलको निरन्तरता र ओडीआईका लागि विशेष तयारी पनि उत्तिकै महत्वपूर्ण छन् ।

‘हामी अब ओडीआई मान्यता संकटमा पर्ने होकि भन्ने अवस्थामा पुगिसकेका छौं, कप्तान परिवर्तनले तत्काल टिमको नतिजामा फेरबदल त ल्याउला तर दिगो रूपमा हेर्ने हो भने संरचनागत विकास पनि अत्यावश्यक देखिन्छ’ खड्काले थपे ।

नेपाली खेलाडीहरू टी-२० मा आवश्यकताभन्दा धेरै व्यस्त भइरहेकाले ओडीआईतर्फ ध्यान नै नपुगेको खड्का बताउँछन् । त्यसकारण दुई फर्म्याटका लागि लगभग दुई फरक टोली नै बनाएर अघि बढ्नुपर्ने तर्क खड्काको छ ।

कप्तानले खेलाडीको भूमिकालाई फरक ढंगले परिभाषित गर्न सक्छन् । ब्याटिङ क्रम परिवर्तन हुन सक्छ, बलरको प्रयोग फरक हुन सक्छ र कठिन अवस्थामा निर्णय लिने शैली पनि बदलिन सक्छ।

अझ महत्वपूर्ण कुरा, नयाँ कप्तानले टोलीभित्र प्रतिस्पर्धा र जिम्मेवारीको नयाँ वातावरण बनाउन सक्छन् ।

तर त्यसका लागि कप्तानलाई पर्याप्त समय पनि चाहिन्छ । केही खेलको नतिजाका आधारमा नयाँ नेतृत्वलाई मूल्याङ्कन गर्नेभन्दा उसको रणनीति र टोली निर्माणको प्रभाव हेर्न केही समय दिनुपर्ने हुन्छ।

नेपालले बलियो टोलीविरुद्ध खेल्दा केही निश्चित खेलाडीमा निर्भर हुने अवस्था हटाउन आवश्यक छ। एउटा खेलाडीको खराब दिनले पूरै टोलीको प्रदर्शन प्रभावित नहुने गरी टोलीमा पर्याप्त विकल्प तयार पार्नु अबको चुनौती हो ।

समस्या कप्तानभन्दा ठूलो त होइन ?

नेपाली टोलीको कप्तान परिवर्तन भएको छ । अब नयाँ नेतृत्वबाट राम्रो अपेक्षा राख्नु स्वाभाविक कुरा हो ।

तर कप्तान परिवर्तनलाई नेपाली क्रिकेटको सबै समस्याको समाधानका रूपमा बुझियो भने त्यो फेरि अर्को चक्रको सुरुवात मात्र हुन सक्छ ।

राम्रो कप्तानले टोलीलाई दिशा दिन सक्छन् । सही रणनीति बनाउन सक्छन् । खेलाडीलाई आत्मविश्वास दिन सक्छन् । तर राम्रो खेलाडी उत्पादन गर्ने, उनीहरूलाई नियमित उच्चस्तरीय प्रतिस्पर्धा दिने, पर्याप्त तयारी गराउने र बलियो बेन्च तयार पार्ने काम कप्तान एक्लैले गर्न सक्दैनन्, त्यसमा क्रिकेट बोर्डको महत्त्वपूर्ण भूमिका रहन्छ ।

त्यसैले अहिलेको परिवर्तनलाई अन्त्य होइन, सुरुवातका रूपमा हेर्नुपर्ने हुन्छ । कप्तानसँगसँगै ब्याकरूम स्टाफ, जस्तै सेलेक्टर, म्यानेजर, एनालिस्टहरूको बारेमा पनि ध्यान दिनु जरुरी हुन्छ ।

नयाँ कप्तानले नयाँ सोच ल्याउन सक्छन् । नयाँ रणनीतिले नयाँ नतिजा पनि दिन सक्छ। तर त्यसलाई स्थायी उपलब्धिमा बदल्न नेपाली क्रिकेटको मैदानभित्र र मैदानबाहिर दुवैतर्फ सुधार आवश्यक छ ।

अब हेर्नुपर्ने कुरा यही हो– नेपालले कप्तान मात्र फेर्‍यो कि आफ्नो क्रिकेटलाई हेर्ने दृष्टिकोण पनि फेर्‍यो ?

***

नयाँ कप्तानका लागि पहिलो चुनौती नतिजा मात्र हुनेछैन । टोलीलाई लामो समयसम्म एउटै दिशामा हिँडाउनु ठूलो परीक्षा हुनेछ ।

खेलाडीको भूमिका स्पष्ट पार्ने, बेन्चमा रहेका खेलाडीलाई अवसर दिने, मुख्य खेलाडीको कार्यभार व्यवस्थापन गर्ने र दबाबको अवस्थामा सही निर्णय लिने क्षमता नयाँ नेतृत्वको परीक्षण बन्नेछ ।

सन्दीपको पहिलो परीक्षा भनेको एसीसी प्रिमियर कप हुनेछ । यसअघि रोहित पौडेलको कप्तानीमा नेपालले प्रिमियर कप जित्दै एसिया कपमा छनोट भएर भारत र पाकिस्तानजस्ता टोलीसँग ओडीआई फर्म्याटमा खेल्ने अवसर पाएको थियो ।

कप्तान सन्दीपले एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्य राखेको बताइसकेका छन् ।

कप्तान परिवर्तन नेपाली क्रिकेट नेपाली क्रिकेट टोली रोहित पौडेल सन्दीप लामिछाने
लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय