+
+
Shares

नवनियुक्त डेपुटी गभर्नर रावलले सम्हाले जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले बिहीबार गभर्नर विश्वनाथ पौडेलबाट शपथ लिएर जिम्मेवारी सम्हालेका छन्।
  • सरकारले बुधबार रिक्त डेपुटी गभर्नरमा रावललाई नियुक्त गरेको थियो, र उनको नियुक्तिपछि राष्ट्र बैंकको सञ्चालक समिति पूर्ण भएको छ।
  • रावलले राष्ट्र बैंकमा दुई दशकभन्दा बढी काम गर्दै वित्तीय संस्था नियमन, बैंक सुपरीवेक्षण, मौद्रिक नीति विश्लेषण र सम्पत्ति शुद्धीकरण निवारणमा काम गरेका थिए।

४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका छन् । रावलले बिहीबार गभर्नर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

सरकारले बुधबार रावललाई रिक्त रहेको राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अनुसार रावलले बिहीबारदेखि नै जिम्मेवारी सम्हालेका हुन्।  २०८२ फागुनदेखि रिक्त रहेको डेपुटी गभर्नर पदमा रावलको नियुक्तिपछि राष्ट्र बैंकको सञ्चालक समितिले पनि पूर्णता पाएको छ ।

यसअघि सरकारले गत वैशाखमा एक डेपुटी गभर्नर नियुक्त गरेपनि अर्को खाली राखेको थियो । गत वैशाखमा राष्ट्र बैंककै कार्यकारी निर्देशक किरण पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरेको थियो ।

राष्ट्र बैंक सुपरीवेक्षण विभागको नेतृत्व गरेका कार्यकारी निर्देशक रावलले बिहीबार देखि डेपुटी गभर्नरको जिम्मेवारी सुरु गरे । केन्द्रीय बैंकमा दुई दशकभन्दा बढी बिताएका रावल वित्तीय संस्था नियमन, बैंक सुपरीवेक्षण, मौद्रिक नीति विश्लेषण, मुद्रा व्यवस्थापन तथा सम्पत्ति शुद्धीकरण निवारणमा दख्खल मानिन्छन् ।

उनले यसअघि विवेकशील नियमन, जोखिममा आधारित सुपरीवेक्षण ढाँचा र वित्तीय स्थायित्व अनुगमनको नेतृत्व गरिसकेका छन् । केन्द्रीय बैंकका मुद्रा व्यवस्थापन विभागको निर्देशकको रूपमा काम गरेका रावलले राष्ट्रिय मुद्रा सञ्चालनमा प्रणालीगत नियन्त्रण र जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

सन् २०१९ देखि २०२४ सम्म उनी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी काम गर्ने वित्तीय जानकारी इकाइको नेतृत्वमा थिए । नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी सर्वोच्च निकाय राष्ट्रिय समन्वय समितिको सदस्य सचिवको रूपमा समेत काम गरेका उनी नेपालको तेस्रो चरणको पारस्पारिक मूल्यांकन (२०२२–२०२४) को क्रममा मुख्य सम्पर्क व्यक्ति थिए ।

नेपाल राष्ट्र बैंकमा प्रवेश गर्नुअघि नेपाल बैंकमा सहायक प्रबन्धक रहेका रावलले काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबाट फाइनान्समा विद्यावारिधि हासिल गरेका छन् । फाइनान्समा एमफिल, अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा स्नातकोत्तर गरेका उनी स्नातक र स्नातकोत्तर दुवै तहमा कलेज टपर भएका थिए । नेपाली बैंकिङ सम्बन्धी दुईवटा पुस्तकका सह–लेखक समेत रहेका रावल सन् २०१२ को ’समाना बैंकिङ पुरस्कार’ बाट सम्मानित व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?