+
+
Shares

जाजरकोटको रिसाङका पहिरो प्रभावित भन्छन्– ‘ढुक्कसँग बस्ने ठाउँ चाहियो’

२०८० साल कात्तिकमा आएको भूकम्पले थिलथिलो भएको जाजरकोटका बस्ती अहिले वर्षासँगैको पहिरोले झन् धरापमा परेका छन् । जमिन चिराचिरा परेर बस्ती जोखिममा परेपछि रिसाङका करिब ८९३ जना परिवारसहित होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

हेमन्त केसी हेमन्त केसी
२०८३ भदौ ५ गते १०:१४
जाजरकोटको पहिरो प्रभावित क्षेत्र

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोले ४ जनाको मृत्यु र ११ जना घाइते भएपछि ८९३ परिवार होल्डिङ सेन्टरमा बसिरहेका छन् ।
  • रिसाङका विस्थापितले सुरक्षित स्थायी बसोबास मागिरहेका छन् भने नगरपालिकाले अस्थायी आवास र वैकल्पिक स्थान खोजिरहेको छ ।
  • राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोलीले रिसाङसहित भेरी नगरपालिका–१, २, ३ र ४ का पहिरो प्रभावित क्षेत्रमा अध्ययन थालेको छ ।

५ भदौ, जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङकी ६० वर्षीया चन्द्रकली विक अहिले त्रिभुवन माध्यमिक विद्यालयमा बनाइएको अस्थायी आश्रयस्थलमा बसिरहेकी छन् । उनलाई यहाँ बस्नु रहर नभई बाध्यता छ । घर, खेतबारी सबै पहिरोले क्षतिग्रस्त भएपछि प्राण बचाउनका लागि थाकथलो छाडेर होल्डिङ सेन्टरमा बस्नु परेको हो ।

उनलाई त्यो पहिरो आएर घर बगाएको दिन सम्झन पनि मन छैन । कसैले प्रसंग निकाल्दा आँखाबाट आँसु आइहाल्छ, गला अवरुद्ध हुन्छ । आफैंले आफूलाई सम्हाल्ने कोसिस गर्दै उनी भन्छिन्– ‘सरकारले बाँचेकालाई ढुक्कसँग बस्ने वातावरण मिलाओस् । फेरि पनि यस्ता घटना नहुने ठाउँमा लगेर राखिदिओस् ।’

बिरामी श्रीमान् अस्पतालमा भर्ना भएपछि थप समस्यामा परेकी चन्द्रकली भन्छिन्, ‘घरबारी केही रहेन । कहाँ जाने, के खाने, कसरी बस्ने ? लगाउने कपडासमेत छैन ।’

उनका छिमेकीको अवस्था पनि उस्तै छ । जता हेरेपनि भत्किएको मात्र देखिन्छ । २०८० साल कात्तिकमा आएको भूकम्पले थिलथिलो भएको जाजरकोटका बस्ती अहिले वर्षासँगैको पहिरोले झन् धरापमा परेका छन् । जमिन चिराचिरा परेर बस्ती जोखिममा परेपछि रिसाङका करिब ८९३ जना परिवारसहित होल्डिङ सेन्टरमा बस्दै आएका छन् ।

स्थानीय पार्वती विकले विद्यालयको चौरमा बसेर दिन कटाउँदा निकै समस्या भएको बताइन् । ठूलो संख्यामा मानिसहरु एकै ठाउँमा बस्दा धेरै कुराको समस्या हुनेगरेको पार्वतीको भनाइ छ । शरीरमा लगाएको कपडा बाहेक कुनै अन्य वस्तु जोगाउन नपाएका कारण आफूहरु समस्यामा परेको उनको भनाइ छ । उनले रुँदै भनिन्, ‘घर छैन, साना बच्चाहरू छन् । खानेकुरा र बस्ने ठाउँ छैन । विद्यालयमा पनि धेरै समय बस्न सकिँदैन । सरकारले सुरक्षित ठाउँमा लगेर बासको व्यवस्था गरिदिनुपर्छ ।’

४५ वर्षीया सिता विक पनि पहिरोबाट ‘भाग्यले’ बाँचेको भन्दै राज्यले अब सुरक्षित ठाउँमा व्यवस्था गरिदिए सबैभन्दा ठूलो त्यही कुरा हुने बताउँछिन् । ऋण लिएर किनेको घर–जग्गा सबै पहिरोले क्षति गरेको बताउँदै उनले भनिन्, ‘अहिले हामीलाई धेरै कुरा चाहिएको पनि छैन । बरु आधा पेट खाएर संघर्ष गरौँला तर सबै परिवार एकै ठाउँमा सुरक्षित बस्न पाए हुन्थ्यो ।’

रिसाङकै शिला शारीरिक रूपमा असक्त छिन् । उनको घर पहिरोले भत्काएको त छैन, तर वरिपरिबाट पहिरो खसेकाले घरमा असुरक्षित महसुस गरेकी छन् । ‘कतिबेला मेरो घर पनि भत्किने हो भनेर डर र चिन्ता लाग्छ,’ उनी भन्छिन् ।

पहिरो प्रभावित क्षेत्रका बासिन्दाहरुले ढुक्कसँगले बस्न मिल्ने स्थायी बसोबासको व्यवस्था सरकारले मिलाइदिओस् भन्ने अपेक्षा गरेका छन् । स्थानीय तहले भने पीडितका लागि तत्काल राहतसँगै अस्थायी आवासको व्यवस्था गर्ने तयारी भइरहेको जनाएको छ । विद्यालयमा लामो समयसम्म विस्थापितलाई राख्न सम्भव नहुने भएकाले वैकल्पिक स्थानको खोजी भइरहेको भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)को टोली बुधबार भेरी नगरपालिका–२, रिसाङस्थित पहिरो प्रभावित क्षेत्रमा पुगेर अध्ययन थालेको छ ।

नगर प्रमुख घर्ती भने, ‘४०–५० परिवारलाई लक्षित गरी अस्थायी आवास निर्माण गर्ने सम्भावित स्थानको खोजी भइरहेको छ । बजेट व्यवस्थापन गरेर अस्थायी आवास निर्माण गर्ने विकल्पमा समेत छलफल भइरहेको छ ।’

गत साउन ३० गतेको अविरल वर्षापछि आएको पहिरोले रिसाङमा ठूलो क्षति पुर्‍याएको छ । पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पीडितहरूका लागि तत्काल खाद्यान्न, कपडा, स्वास्थ्य उपचार र अस्थायी आवास आवश्यक भए पनि दीर्घकालीन रूपमा सुरक्षित स्थानमा पुनर्स्थापना गर्नुपर्ने देखिएको छ ।

जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा सारेर स्थायी बसोबासको व्यवस्था नगरेसम्म रिसाङका विस्थापितको पीडा अन्त्य नहुने स्थानीयको भनाइ छ । सडक निर्माण नहुँदा मुस्किलले पीडितहरु बसेको ठाउँसम्म पुग्न सकिने अवस्था छ । लुम्बिनी–रारा सडकखण्ड अहिले पूर्णरुपमा अवरुद्ध भएको छ । पाँच वर्ष अगाडि लागे पनि सडकमा काम नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ ।

पहिरो प्रभावित क्षेत्रमा भूगर्भविज्ञको अध्ययन

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)को टोली बुधबार भेरी नगरपालिका–२, रिसाङस्थित पहिरो प्रभावित क्षेत्रमा पुगेर अध्ययन थालेको छ ।

टोलीमा रिसाङ नै घर भएका प्राधिकरणका उपसचिव सुरेश सुनार समेत छन् । साथै जियोलोजिस्ट डा. प्रकाश पोख्रेल र लेखराज भट्ट, शाखा अधिकृत निरञ्जनप्रकाश निरौला, इन्जिनियर जगदीश विष्ट, मेटेरियोलोजिस्ट राजन लामिछानेसहित आठ जनाको टोलीले प्रभावित क्षेत्रमा स्थलगत अध्ययन तथा निरीक्षणको काम सुरु गरेको प्रतिनिधिसभा सदस्य पार्वती विकले जानकारी दिइन् ।

उनीहरुसँगै नेपाली सेनाको भवानी दल गणका प्रमुख सेनानी गोविन्द थापा, जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख बुद्धिसागर पुरी, सशस्त्र प्रहरी बल जाजरकोट गुल्म प्रमुख गजेन्द्रबहादुर चन्द, भेरी नगरपालिकाका जनप्रतिनिधिलगायत पनि प्रभावित क्षेत्रमा पुगेका थिए ।

प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीका अनुसार टोलीले पहिरोबाट प्रभावित भेरी नगरपालिकाका वडा नं. १, २, ३ र ४ का विभिन्न पहिरो प्रभावित तथा जोखिमयुक्त क्षेत्रको स्थलगत निरीक्षणको काम सुरु गरेको छ । साथै नागरिकसँग भेटघाट गर्दै उनीहरूको तत्कालीन आवश्यकता तथा जोखिमको अवस्थाबारे जानकारी लिएको छ ।

टोलीले प्रारम्भिक अध्ययनपछि दुई दिनभित्र प्रतिवेदन बुझाउने म्यान्डेड पाएको छ ।

विज्ञ टोलीको प्रारम्भिक प्रतिवेदनपछि प्रभावित क्षेत्रका बस्ती स्थानान्तरण गर्ने वा हालकै स्थानमा सुरक्षित रूपमा बसोबासको व्यवस्था गर्ने भन्ने विषयमा ठोस निर्णय लिन सकिने प्रजिअ अधिकारीको भनाइ छ । उनले भने, ‘तत्काल अस्थायी रूपमा बस्नलायत छ कि छैन, बस्नुपर्ने भए कहाँ सुरक्षित हुन्छ भन्ने विषयमा विज्ञ टोलीको प्रतिवेदन आएपछि निर्णयमा पुग्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?