+

एसियाडमा आर्चरी : पदकको लक्ष्य, खेलाडीलाई उपकरणकै चिन्ता

२०८३ भदौ  ५ गते २०:१८ २०८३ भदौ ५ गते २०:१८

खेलाडीहरूलाई आफ्नै लगानीमा खेल सामग्री खरिद गर्नुपर्ने बाध्यता छ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका आर्चरी खेलाडी महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीमा पूर्वाधार र खेल सामग्री अभावबीच अभ्यास गरिरहेका छन् ।
  • तिलक पुन मगर र ज्ञानु अवाले व्यक्तिगत रूपमा बो, एरो किन्दै असोजमा हुने २०औं एसियन गेम्समा पुरुष, महिला र मिक्स इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
  • नेपाल आर्चरी संघले राखेपबाट सात वर्षदेखि खेल सामग्री नपाएको र यसपटक टोली क्वार्टरफाइनल पुग्न सक्ने सम्भावना रहेको जनाएको छ ।

५ भदौ, काठमाडौं । टार्गेट बोर्डहरू कुहिएका छन् । वर्षातमा ओत लाग्न राखिएको छ च्यातिएको त्रिपाल। जहाँ प्रशिक्षण गरिरहेका छन् २०औं एसियन गेम्स (एसियाड) मा नेपाललाई पदक जिताउने सपना बोकेका आर्चरीका खेलाडी।

प्रशिक्षणका लागि राजधानीमा संघको आफ्नै कुनै पूर्वाधार छैन। त्यसकारण आर्चरी खेलाडीहरु महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीभित्र प्रशिक्षण गरिरहेका छन् । एसियाडका लागि बन्द प्रशिक्षणमा रहेका उनीहरुलाई पूर्वाधार मात्र नभएर खेल सामग्रीको पनि अभाव छ ।

२०औं एसियाडमा नेपाललाई प्रतिनिधित्व गर्न लागेका तिलक पुन मगर र ज्ञानु अवाले व्यक्तिगत रुपमा बो, एरो लगायतका खेल सामग्री किनेर देशलाई पदक जिताउने सपना देखिरहेका छन् । ‘हामीलाई खेलकुद सामग्रीकै समस्या छ । खेल्ने सामग्री भनेको बेला नेपालमा पाइँदैन, बाहिरबाटै मगाउनु पर्छ । महंगो पर्छ,’ तिलक गुनासो गर्छन् ।

समस्याका बाबजुद पनि एसियाडमा पदक जित्ने लक्ष्य उनको छ। अघिल्ला सहभागिताले यसपटक आत्मविश्वास बढाएको उनको अनुभव छ । ‘हेरौं अब त्यहाँ गएर स्कोर कति हुन्छ । पदक त हामी सबै नै जित्ने लक्ष्य लिएर गएका हुन्छौं। कन्फिडेन्स चाहिँ हुनुपर्छ । तर पदक ल्याउने आशभन्दा पनि एउटा लक्ष्य चाहिँ लिएर जानु‍ बेटर हुन्छ,’ उनी भन्छन्, ‘पहिलेको भन्दा राम्रो रेकर्ड राख्छु भन्ने कन्फिडेन्स छ ।’

असोजमा हुने २०औं एसियन गेम्स (एसियाड) अन्तर्गत आर्चरीमा नेपालबाट दुई खेलाडीले सहभागी हुँदैछन्। तिलक र ज्ञानुले रिकर्भ (७० मिटर) मा पुरुष, महिला र मिक्स इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । एसियाडमा तिलकले तेस्रो र ज्ञानुले दोस्रोपटक भाग लिन लागेका हुन् । तिलकले १८औं र १९औं तथा ज्ञानुले १८औं एसियाडमा पनि नेपालको प्रतिनिधित्व गरेका थिए । एसियाडमा आर्चरीले यसअघि ४ पटक सहभागिता जनाएपछि पदक भने जित्न सकेको छैन।

यसपटक एसियाडका लागि लामो समयदेखि नै अभ्यास गरिरहेको तिलक बताउँछन् । ‘अहिलेसम्म ट्रेनिङ राम्रै गरिराखेका छौँ । हामी यो दुई महिनामात्रै होइन वर्षौंदेखि यसमै लागिरहेका छौं।’

नेपाललाई एसियाडमा दोस्रोपटक प्रतिनिधित्व गर्न लागेकी ज्ञानुको लक्ष्य पनि पहिलेभन्दा राम्रो गर्नु छ । पहिलेको तुलनामा यसपटक तयारी राम्रो भइरहेको उनी बताउँछिन् । ‘पहिलेको भन्दा यसपटक अझ राम्रो दिने प्रयास गर्छु । अहिले अलि फरक नै भएका छौँ । पहिला त अलि बिग्रेकै थियो । यसपटक त्यो भन्दा राम्रो गर्ने लक्ष्य लिएको छु,’ उनी भन्छिन् ।

प्रशिक्षक प्रेमप्रसाद पुन पनि अघिल्लो पटकभन्दा यसपटक सबै कुरामा राम्रो भएको बताउँछन् । ‘यसपटक दुई वर्ष अगाडिदेखि निरन्तर तयारी गरिराखेका छौँ । स्किल, टेक्निकल्ली, फिजिकल्ली सबैजना राम्रो भइराखेका छन्,’ उनले भने, ‘स्कोरहरू पनि धेरै राम्रो निकालिरहेका छन्।’

एसिया आर्चरीको पावरहाउस भएकाले एसियाड नेपाली खेलाडीका लागि सिक्ने अवसर पनि भएको प्रशिक्षक प्रेमप्रसादको तर्क छ । ‘आर्चरी चाहिँ एसियाको मात्र नभएर विश्वकै पावर हाउसजस्तै हो । विश्वकप र ओलम्पिकमा मेडल ल्याउने पनि एसियामै छन्। उनीहरूसँग प्रतिस्पर्धा गर्न पाउनु धेरै उपलब्धि हो।’

खेलाडीहरूलाई आफ्नै लगानीमा खेल सामग्री खरिद गर्नुपर्ने बाध्यता रहेको प्रशिक्षक प्रेमप्रसादले दुखेसो गरे। ‘अहिले पनि आफैँ खेल सामग्री किनेर खेलिराख्नु भएको छ । एरोको अभावहरू छ, सामग्रीको अभावहरू छ । इष्टमित्र साथीभाइहरू सबै सहयोगी भएकै कारणले धेरै सहयोग भइराखेको छ।’

नेपाल आर्चरी संघका महासचिव रमेश सिवाकोटी यसपटक नेपाली टोली क्वार्टरफाइनल पुग्ने सम्भावना रहेको बताउँछन्। ‘अहिले खेलाडीहरूको प्रदर्शन निकै राम्रो छ । आर्चरीमा ओलम्पिक गोल्ड मेडलिस्टले लगभग ६९५, ६९७ स्कोर ल्याएको छ । हाम्रो खेलाडी तिलक पुन मगरले ६७० अंक ल्याउनुभएको छ । जबकि ओलम्पिक वाइल्ड कार्डका लागि ६५० अंक मात्र चाहिन्छ । यही लय जापानमा पनि कायम रहेमा क्वार्टरफाइनल पुग्ने सम्भावना छ,’ उनी भन्छन् ।

सरकारी बेवास्ता

महासचिव सिवाकोटी आर्चरी खेललाई सरकारी तहबाट कुनै किसिमको सहयोग नमिलेको बताउँछन् । कम्पाउन्ड इभेन्ट (५० मिटर) मा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छनोट गर्न पत्र पठाए पनि छनोट गरेपछि कटौती गरेको महासचिव सिवाकोटीको दाबी छ । ‘हाम्रा टार्गेट बोर्डहरू कुहिएका छन्, राखेपले विगत ७ वर्षदेखि कुनै खेल सामग्री दिएको छैन । व्यक्तिगत पैसा हालेर सामग्री जोहो गर्नुपरेको छ । ५ वर्षमा १६ पटक पत्र लेख्दा पनि कुनै सुनुवाइ भएन । यसपटक आर्चरीलाई राखेपले बजेट छुट्याएको छ रे भन्ने सुनेको छु्,’ उनले प्रश्न गर्छन्, ‘हामीले व्यक्तिगत रूपमा यो अवस्थामा ल्याइदिएर कहिलेसम्म राष्ट्रिय साख जोगाइदिने हो ?’

नेपाली टोलीसँग प्रतियोगितामा खेल सामग्री परिवर्तन गर्ने विकल्पसमेत नभएको प्रशिक्षक प्रेमप्रसादको अनुभव छ । ‘अहिले एरो, बोहरूको अभाव भइराखेको छ। अरु देशका खेलाडीहरू यस्ता खेल खेल्न जाँदा दुई-दुई वटा बो बोकेर जान्छन् । तर, हाम्रो एउटा बो चाहिँ भाँचियो भने, कुनै समस्या आइपर्‍यो भने बाहिरिनुपर्ने हुन्छ। प्रतिष्पर्धा गर्ने अवसर पनि पाउँदैनौं,’ उनी भन्छन्, ‘त्यसकारण दुइवटा भइदिए धेरै सजिलो हुन्थ्यो ।’ नेपाली खेलाडीलाई एक्पोजरको पनि कमी भएको उनको भनाइ छ।

फोटो/भिडियो-  विकास श्रेष्ठ/अनलाइनखबर

आर्चरी एसियाड खेल

धेरै कमेन्ट गरिएका

लेखक
रिखिराम जिसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय