News Summary
Generated by OK AI. Editorially reviewed.- बञ्चरेडाँडामा दैनिक काठमाडौं महानगरसहित २० पालिकाको फोहोर पुग्दा स्थानीयले रोग, दुर्गन्ध र लिच्चडका समस्या भोगिरहेका छन्।
- वैज्ञानिक विधिबाट फोहोर विसर्जन गर्नेगरी २०७९ जेठमा हस्तान्तरण गरिएको ल्यान्डफिल साइट चार वर्षमै भरिएर डम्पिङसाइटमा परिणत भएको छ।
- प्रधानमन्त्री बनेपछि पनि बालेन शाहले फोहोर व्यवस्थापनमा ठोस कदम नचालेको स्थानीय र महानगरका अधिकारीहरूले बताएका छन्।
५ भदौ, काठमाडौं । धुनिबेंसी नगरपालिका-१ स्थित बञ्चरेडाँडाका स्थनीयबासीको कानमा साढे चार वर्ष अघि काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन शाहको अभिव्यक्ति अहिलेसम्म पनि गुञ्जिरहन्छ।
‘ए बाबा म मेयर भएको १७ वर्ष भएको छैन, चार दिन मात्रै भएको छ । १७ वर्षको कुरा म माथि लागु हुन्छ त ? तपाईंको २० वर्षको कुरा म एक्लैमाथि लादेर हुन्छ त ?,’ बालेन बञ्चरेडाँडा पुगेर स्थानीयसँग भनेका थिए, ‘मलाई यहाँ काम गर्न दिनपर्यो नि। मलाई काम गर्न दिनुभयो भने काम हुन्छ । म स्वतन्त्र व्यक्ति हो । मलाई कुनै पनि पार्टीको केही पनि लाग्दैन। अघि सोध्नुभयो साँठगाँठ ! मैले साँठगाँठ गर्नुपर्दैन है हजुर । …म महिनाको साढे तीन लाख तलब खाने मान्छे हो । यो कुरा सबैले बुझिदिनुपर्यो।’
यो अभिव्यक्ति बालेनले दोस्रो पटक सिसडोल-बञ्चरेडाँडा पुग्दा आक्रोशित हुँदै दिएका थिए। फोहोर व्यवस्थापनका लागि स्थानीय जनप्रतिनिधिसँग साँठगाँठ गरेको र मन्त्रालयमा आवश्यक दबाब नदिएको आरोप लागेपछि उनी आक्रोशित बनेका थिए ।
त्यसअघि काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएर शपथ खाए लगत्तै उनी बञ्चरेडाँडा पुगेका थिए ।
त्यतिबेला खादामाला लिएर स्वागत गर्न आएका स्थनीय बासिन्दासँग आफू यहाँको समस्या समाधानका लागि आएको र यहाँको समस्या समाधान नभएसम्म खादामाला नलगाउने बताएका थिए ।

बालेनका यी अभिव्यक्ति साढे चार वर्ष पूरानो भइसक्यो, तर बञ्चरेडाँडाका स्थानीयबासी आजको दिनसम्म पनि उनै बालेन देखिरहेका छन् जो गएको निर्वाचनबाट झन्डै दुईतिहाई बहुमतद्वारा अनुमोदित प्रधानमन्त्रीको कुर्सिमा बिराजमान छन्।
धुनिबेसी-१ की कमला ओझा फोहोरबाट छुटकारा पाउन बालेनलाई सम्झिरहने अरू कुनै कारण छैन, किनकी उनलाई आफ्नै गाउँघर बोझ भएको छ । आर्थिक बोझ भएको भए गुजारा गर्न ठूलो कुरो हुँदैन थियो होला, तर आफैं बस्ने घर रोगको बासस्थान भएपछि उनी अतालिएकी छिन्। वृद्ध अवस्थामा श्रीमानसँग गाउँमै बसिरहेकी उनी बाँकी जिन्दगी चैनको सास लिने आश गर्न छाडिसकिन्।
‘कुनैबेला चिलले लुछेर ल्याएको सिनो आँगनमै खसालिदिन्छ। कुनैबेला नजन्मँदै मृत फालिएका बालकको लास आँखैअगाडी देखापर्छ,’ कमला भन्छिन्, ‘फोहोरको हरकको कुरै नगरौं। गाउँका कति मान्छे क्यान्सर लागेर बितिसके। मेरो श्रीमानको जीउभरी गिर्खा आएको छ।’
धादिङ र नुवाकोटको सिमानामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिलसाइटमा दैनिक काठमाडौं महानगरसहित २० पालिकाको फोहोर आउँछ ।

औसतमा पनि दैनिक २ सय वटा ट्रिप्परले १४ सय ३७ हजार टन फोहोर पुर्याउने गरेको छ। ‘नछुट्याइ अर्ग्यानिक फोहोर आउँछ। फोहोर धेरै भएका कारण लिच्चड व्यवस्थापन गर्न सकिएको छैन,’ बञ्चरेडाँडामा खटिएका महानगर कर्मचरीले भने, ‘६० प्रतिशत बढी फोहोर आएपछि लिच्चड धेरै बग्यो। मुख्यरूपमा यसैले समस्या भइरहेको छ।’
वैज्ञानिक विधिबाट फोहोर विसर्जन गर्नेगरी २०७९ साल जेठको पहिलो साता नै तत्कालीन शहरी विकास मन्त्रालयले १ अर्बभन्दा बढी लागतमा ल्यान्डफिल साइट बनाएर काठमाडौं महानगरलाई हस्तान्तरण गरेको थियो ।
संघ सरकारले निर्माण र व्यवस्थापन महानगरले गर्नेगरी साइट बनाइएको थियो। तर वैज्ञानिक विधिबाट विसर्जन गर्न महानगरले बेवास्ता गरेका कारण ल्याण्डफिल डम्पिङसाइटमा त परिणत भएको छ नै, २० वर्षका लागि भनिएपनि चार वर्षमै भरिइसकेको छ।
प्रधानमन्त्री हुँदा छैन चासो
काठमाडौं महानगरको मेयरबाट बालेन सिधै प्रधानमन्त्रीको कुर्सिमा पुगेको पाँच महिना नाघिसकेको छ। तर हालसम्म पनि उनले व्यक्तिगत वा सरकारको तर्फबाट फोहोर व्यवस्थापनका लागि कुनै ठोस कदम चालेका छैनन्।
बालेन मेयर छँदै उनका भौतिक पूर्वाधार सल्लाहकार पनि अहिले उनकै क्याबिनेटमा भौतिक पूर्वाधार विकास मन्त्री छन्। तर उनले पनि बञ्चरेडाँडाको समस्या समाधानका लागि हालसम्म कुनै पहल गरेका छैनन्।
त्यतिबेलै बञ्चरेडाँडा पुगेका लम्सालले महानगरले फोहोर वर्गीकरणको योजना बनाइरहेको र छिट्टै कार्यान्वयनमा आउने दाबी गरेका थिए । उनले भनेका थिए, ‘अहिलेकै अनुपातमा नै फोहोर फाले सोचेभन्दा छिट्टै भरिने हो। हामीले यहाँ लामो समय यसरी फोहोर फाल्दैनौं, यहाँ त वर्गिकरणबाट काम नलाग्ने फोहोरहरु मात्रै फाल्ने हो।’

तर हालसम्म पनि व्यवस्थित नहुँदा अनलाइनखबरले काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई सोधेको छ, ‘फोहोर व्यवस्थापन काठमाडौं महानगरले किन अहिलेसम्म गर्न सकेको छैन ?’
जवाफमा मानन्धरले भने, ‘संकलन गरिएको फोहोर कहाँ राख्ने त ? विगतमा सरकारले जग्गा नदिंदा बञ्चरेडाँडामा फाल्न बाध्य थियौं, अहिले पनि छौं।’
‘तपाईंहरूकै तत्कालीन मेयर अहिले प्रधानमन्त्री हुनुहुन्छ, संघमा शक्तिशाली सरकारको नेतृत्व गरेको पाँच महिना भइसक्यो। त्यहाँबाट उहाँले के-कति सहयोग समन्वय गरिरह्नुभएको छ ?’ भन्ने अनलाइनखबरको प्रश्नमा मानन्धर भन्छन्, ‘सहयोग गरेको भन्नु कि नगरेको। गरेको भए देखिहाल्नु हुन्थ्यो। यो विषयमा म धेरै नबोलौं होला।’
काठमाडौँ महानगरकी वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राई पनि संघ सरकार तथा प्रधानमन्त्री बालेनको तर्फबाट कुनै सहयोग नभएको संकेत गरिन्।
‘हामीले त्यहाँका स्थनीयको सबै समस्या बुझेका छौं। फोहोर व्यवस्थापनमा काठमाडौं महानगर फेल भएकै हो। तर हामीले संकलन गरेको फोहोर फाल्ने कहाँ?,’ राईले अनलाइनखबरसँग भनिन्, ‘यत्रो जग्गाकै लागि त भिडिरहेका छौं हामी। हामीले हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं।’

तत्कालीन मेयर र अहिले प्रधानमन्त्री बालेनको सचिवालयमा प्रेस सहजर्कताका रूपमा कार्यरत सुरेन्द्र बजगाईं भने फोहोर व्यवस्थापनमा प्रधानमन्त्रीले चासो नदिएको कुरा सहि नभएको बताउँछन् । उनकाअनुसार प्रधानमन्त्रीले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत आवश्यक पहल र समन्वय गर्न निर्देशन दिएका छन्।
‘महानगरदेखि नै उहाँले (सुनिल लम्साल) यो विषय हेर्नुभएको थियो त्यसैले उहाँलाई नै यसको जिम्मेवारी दिनुभएको छ,’ बजगाईंले भने, ‘शुरूदेखि समस्या बुझेका कारण उहाँ यो विषयमा जानकार हुनुहुन्छ।’
फोहोर व्यवस्थापनबारे बालेनको तर्क
२०७९ वैशाख ३१ गतेको स्थानीय निर्वाचन हुनुभन्दा तीन साता अघिसम्म पनि बालेन शाहको नाम नेपालको राजनीतिक वृत्तमा अन्जान थियो।
वैशाख ११ गते राष्ट्रिय सभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउँदासम्म त पाका उम्मेदवारका लागि उनी एक ‘उरन्ठेउलो केटो’ मात्रै थिए। तर, यो माहोल बदल्न बालेनलाई एकसाता पनि लागेन।
काठमाडौंका मतदातालाई आफ्नो पक्षमा मोड्न बालेनको अनेकन प्रयासमा एउटा प्रयास काठमाडौंको फोहोर व्यवस्थापनमा उनले दिएको ‘लजिक’ पनि थियो। सञ्जय सिलवाल गुप्ताको पडकास्ट ‘अन एयर’ को झन्डै साढे दुई घन्टा लामो अन्तर्वार्तामा गुप्ताले बालेनलाई काठमाडौंको फोहोर व्यवस्थापनबारे सोध्दा उनले फोहोर व्यवस्थापनको वैज्ञानिक संरचना, त्यहाँबाट गर्न सकिने आयआर्जन, उत्पादन हुनसक्ने बिजुली र यी सबै गर्न कति समय लाग्छ बताएका थिए।
‘काठमाडौंमा दैनिक ६०० मेट्रिक टन फोहोर उत्पादन हुन्छ, जसमा ७५ प्रतिशत अर्ग्यानिक हो। त्यो फोहर सेग्रिगेट गरेर राखेको भए त्यसलाई मोहोर बनाउन सकिन्थ्यो नि,’ अन्तर्वार्तामा उनले भनेका छन्, ‘काठमाडौंको मात्रै फोहोरबाट ५ मेगावाट बिजुली निकाल्न सकिन्छ। अनि यो सबै बनाउन २–४ अर्बभन्दा धेरै लाग्दैन । काठमाडौंको बजेट २० अर्बको छ । यो दुई वर्षमा बनाउन सकिने चिज अहिलेसम्म बनेको छैन ।’

शहरी विकास तथा भवन निर्माण विभागका इन्जिनियर माधव कटुवाल बालेनका यी तर्कसँग सहमत भएपनि यसलाई कार्यान्वयनमा ल्याउन आवश्यक पूर्वाधार नभएको बताउँछन्। उनकाअनुसार पूर्वाधार नभएसम्म जस्तो तर्क पनि काम लाग्दैन।
‘कुहिने र नकुहिने फोहोर त पहिला छुट्याउनु पर्ने होला नि। नकुहिने फोहोरबाट मोहोर कमाउने हो कुहिनेबाट मल वा ग्यास उत्पादन गर्ने हो। तर त्यसका लागि मल उद्योग खै ? ग्यास उत्पादन गर्नलाई आवश्यक पूर्वाधार खै?,’ कटुवालले अनलाइखबरसँग भने, ‘केही गर्न नसकिने फोहोरका लागि त्यो साइट हामीले बनाएका थियौं। तर त्यहाँ त जसरी फोहोर संकलन गर्यो त्यस्तै हुबहु लगरे फालियो । अव्यवस्थित ढंगले त्यहाँ फोहोर खन्याउँदा फोहोरको पहाड बन्दै गएको छ। यसैकारणले फोहोर गन्हाउँछ र त्यहाँका स्थानीयले दु:ख पाउँछन्।’
बञ्चरेडाँडामा वैज्ञानिक प्रविधिबाट फोहोर व्यवस्थापनका लागि बालेनले काठमाडौं महानगरभित्र कुहिने र नकुहिने फोहोर संकलन गर्ने दिन नै छुट्ट्याउने भने नयाँ नियमको उद्घोष गरेका पनि थिए।
काठमाडौं महानगरको नगर कार्यपालिकाबाट निर्णय गराउँदै कुहिने र नकुहिने फोहोर अलग्गै संकलन गरिने र मिसावट गर्नेलाई जरिवाना गर्ने बताएका थिए।
आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने। र कुहिने/नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवानासमेत गरिने तयारी थियो। तर, २०७९ साउन १ गतेबाट लागु गर्ने भनिएको यो नियम कहिल्यै कार्यान्वयन मै आउन सकेन।
प्रतिक्रिया 4