+
+
Shares

अमेरिकाबाटै धुर्मुस सुन्तलीले ल्याउने भए हाँस्य सिरियल ‘म त मर्छु क्या हो’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाको नर्थ क्यारोलाइनामा नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन्।
  • राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट र ग्रिन्सबोरोलगायत स्थानमा छायांकन भएको सिरियल हरेक शुक्रबार नेपाली समय साँझ ८.१५ बजे युट्युबमा प्रसारण हुनेछ।
  • सिरियलमा धुर्मुस–सुन्तलीसहित मोहन मिश्र, दिनेश कार्की, शंकर राज वाग्ले र उनीहरूको छोरी सुबिहानी कट्टेलले अभिनय गरेका छन्।

नर्थ क्यारोलाइना (अमेरिका) । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन् । यहाँको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या हो’ राखिएको छ ।

निर्देशक धुर्मुसका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा सिरियलको छायांकन गरिएको छ । धुर्मुस सुन्तली मिडियाले निर्माण गरेको यो सिरियल हरेक साता शुक्रबार नेपाली समय साँझ ८.१५ बजे प्रसारण गर्ने तयारी गरिएको उनले जानकारी दिए ।

अमेरिकामा भने शुक्रबार विहान १०.३० बजे प्रशारण हुने यो श्रृंखला धुर्मुस सुन्तली युटुव च्यानलबाट प्रशारण हुनेछ । ‘म त मर्छु कि क्या हो’ नाम धुर्मुसको विगतमा चर्चित बनेको संवाद तथा थेगोबाट लिइएको हो ।

सिरियलमा सीताराम र कुञ्जना आफ्ना चर्चित पात्र धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन् । उनीहरूकै निर्देशनमा निर्माण भएको सिरियलमा वरिष्ठ हास्य कलाकार मोहन मिश्र समेत मुख्य भूमिकामा देखिँदैछन् । ‘होस प्रसाद’, ‘मिस्टर फन्टुस’ लगायत एक समयका लोकप्रिय हास्य कार्यक्रममा कलाकार तथा निर्देशकका रूपमा परिचित मिश्र लामो समयपछि अभिनयमा फर्किएका हुन् ।

सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाँई चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय देख्न सकिनेछ । यही सिरियलमार्फत सीताराम र कुञ्जनाले आफ्नी छोरी सुबिहानी कट्टेललाई पनि बाल कलाकारको रुपमा डेब्यु गराएका छन् ।

राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ ।

सिरियल केवल मनोरञ्जनमा मात्र सीमित नरहने निर्माण पक्षले जनाएको छ । यसले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता, उपलब्धि, अवसर र चुनौतीसँगै यहाँको जीवनशैली, सामाजिक तथा सांस्कृतिक परिवेश, नेपाली समुदायका गतिविधि तथा प्रवासी जीवनका विविध अनुभव र कथालाई हास्यव्यंग्यात्मक ढंगले प्रस्तुत गर्नेछ ।

अमेरिकामा बसाइँ सरेपछि नेपाली समुदायले भोग्ने भाषिक, सामाजिक र सांस्कृतिक चुनौती, काम र व्यवसायको अनुभव, पारिवारिक सम्बन्ध, नयाँ पुस्ताको सोच तथा नेपालीपन जोगाउने प्रयासजस्ता विषयलाई पनि कथावस्तुमा समेट्ने तयारी गरिएको छ । यसले विदेशमा रहेका नेपालीका दैनिक जीवनसँग जोडिएका वास्तविक परिस्थितिलाई हास्यका माध्यमबाट दर्शकमाझ पुर्‍याउने अपेक्षा गरिएको छ ।

नर्थ क्यारोलाइनाको हाई पोइन्टमा बस्दै आएका नेपाली चलचित्रका पुराना निर्माता तथा व्यवसायी माधव ढकालले प्रवासमा बसेर नियमित रूपमा कला सिर्जना सुरु गर्नु प्रशंसनीय कार्य भएको बताए ।

उनले भने, ‘प्रवासमा रहेर यहीँबाट नियमित रूपमा कलाकर्म सुरु गर्नु आफैंमा प्रशंसनीय काम हो। सीतारामजीले यस क्षेत्रलाई निरन्तरता दिनु सामान्य कुरा होइन। यसमा हामी सबैको साथ र सहयोग रहन्छ ।’

अमेरिका आएदेखि नै सीताराम र कुञ्जना कलाकर्ममा सक्रिय रहँदै आएका छन् । उनीहरूले यस अवधिमा करिब एक दर्जन नेपाली व्यवसाय तथा संस्थाका विज्ञापनसमेत निर्माण गरिसकेका छन् । केही थप विज्ञापन र म्युजिक भिडियो पनि छायांकन तथा निर्माणको क्रममा रहेको सीतारामले बताए ।

‘मुख्य रूपमा अब दर्शकले हाम्रो सिरियल नियमित रूपमा हेर्न पाउनुहुनेछ,’ सीतारामले भने, ‘हामी जहाँ रहे पनि आफ्नो कला र सिर्जनालाई निरन्तरता दिन सकिन्छ भन्ने सन्देश दिन चाहन्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?