News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
- उनले लामो संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान, राष्ट्रियता र लोकतान्त्रिक खुलापन संकटमा परेको बताएका छन् ।
- ज्ञवालीले पछिल्ला पाँच महिनामा सरकारमा अधिनायकवादी लक्षण देखिएको र संसद, राष्ट्रपति तथा अन्य संस्थालाई किनार लगाइएको बताए ।
७ भदौ, काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाएका छन् ।
‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै नेता ज्ञवालीले मुलुक यतिबेला अत्यन्तै असामान्य अवस्थाबाट गुज्रिरहेको टिप्पणी गरेका हुन् ।
नेता ज्ञवालीका अनुसार लामो संघर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर संकटमा परेका छन् ।
‘देश एकदमै असामान्य अवस्थाबाट गुज्रिरहेको छ । असामान्य यस अर्थमा कि एकैसाथ मुलुकको राष्ट्रियता, नेपाली जनताले निकै लामो संघर्षपछि प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रलगायतका उपलब्धिहरू, नेपालको संविधान र जनताले उपभोग गर्दै आइरहेको दक्षिण एशियामै तुलनात्मक रूपमा खुला रहेको नेपालको त्यो स्पेस–यी सबै कुरा आज संकटमा छन्,’ ज्ञवालीले भने ।
ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको उनको तर्क छ । संसद्ंभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै उनले सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको औंल्याए ।
‘ठूलो जनादेश प्राप्त गरेर नेकपा सरकारमा आएको छ । तर गएका पाँच महिनाका लक्षणहरूले प्रस्ट देखाएका छन् कि यो सरकार एउटा निर्वाचित अधिनायकवादतर्फ उन्मुख भइरहेको छ । जसका निम्ति राष्ट्रपति संस्थाको पनि कुनै महत्व छैन, संसद जसका निम्ति कुनै अर्थको छैन,’ उनले भने, ‘आफ्नै पार्टीको पनि–जुन पार्टीले उहाँलाई प्रधानमन्त्री बनायो–त्यसको पनि कुनै सरोकार छैन । न्यायालयहरू, अन्य राजनीतिक दलहरू त धेरै टाढाको कुरा भयो । मिडियालगायत यी सबै संस्थालाई किनार लगाउँदै बेलगाम घोडाजस्तो अधिनायकवादको बाटोतिर सरकार चलिरहेको छ ।’
झन्डै दुई–तिहाइको जनादेशका कारण सरकारले भोलि संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे ।
‘भर्खरै सम्पन्न निर्वाचनबाट उसले झन्डै दुईतिहाइको जनादेश प्राप्त गरेको छ । संसदभित्रबाट त्यो अधिनायकवादलाई रोक्ने बलियो विकल्प छैन । उसले भोलि प्रतिगामी संशोधन गर्न चाहँदा संविधानमा यद्यपि राष्ट्रिय सभा छ, त्यसले ‘चेक एन्ड ब्यालेन्स’ गर्ला । तर प्रतिनिधि सभाको कुरा गर्ने हो भने, हिजो संविधान निर्माण गर्ने शक्तिहरूको एकतिहाइ पनि शक्ति नभएको अत्यन्त प्रतिकूल शक्ति सन्तुलनमा हामी छौं,’ उनले भने ।
प्रतिक्रिया 4