+
+
Shares
विश्लेषण :

मार्क्सवादलाई बचाउने कि बदल्ने?

नेपाली कम्युनिस्ट आन्दोलनले विभिन्न विभाजन, विघटन, पुनर्गठन र नयाँ पहलका अनेक चरण पार गर्दै आफ्नो यात्रा अघि बढाएको छ। २०१९ सालपछि विघटन र विभाजनको कठिन चरण पार गर्दै पुष्पलालको सिर्जनात्मक प्रभावमा विभिन्न धाराको विकास हुँदै गयो र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलन गणतन्त्र स्थापनाको ऐतिहासिक मोडसम्म आइपुग्यो।

हरिबोल गजुरेल हरिबोल गजुरेल
२०८३ भदौ ८ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मार्क्सवादी विचारलाई बदलिंदो यथार्थसँग जोडेर सिर्जनात्मक रूपमा विकास गर्नुपर्ने लेखको निष्कर्ष छ, नत्र त्यो संग्रहालयमा सीमित हुन्छ।
  • नेपाली कम्युनिस्ट आन्दोलन वैचारिक, राजनीतिक, संगठनात्मक र सांस्कृतिक संकटमा रहेको भन्दै लेखले वैचारिक पुनर्जागरण र पुनर्गठनको आवश्यकता औंल्याएको छ।
  • नयाँ पुस्तालाई केन्द्रमा राखेर जनवाद, योग्यता, जवाफदेहिता र जनतासँगको जीवन्त सम्बन्ध पुनःस्थापना गर्न सके मात्र समाजवादी पुनर्जीवन सम्भव हुने लेखको तर्क छ।

नयाँ उत्पादक शक्तिको विकासलाई पुरानो उत्पादन सम्बन्धले जब बाधा पुर्‍याउन थाल्छ, तब समाजमा उथलपुथल र परिवर्तनको प्रक्रिया शुरु हुन्छ; र अन्ततः त्यसले सामाजिक व्यवस्थामै रूपान्तरण ल्याउँछ। मानव समाजको कबिलाई, दास, सामन्ती, पूँजीवादी हुँदै समाजवादी व्यवस्थातर्फको ऐतिहासिक यात्रा यही परिवर्तनको गतिशील नियमसँग गाँसिएको छ। यद्यपि, परिवर्तनको स्वरूप प्रत्येक ऐतिहासिक परिस्थिति अनुसार फरक हुन्छ।

आर्थिक तथा सामाजिक परिवर्तनलाई निर्देशित गर्ने यही वस्तुगत नियमहरूको वैज्ञानिक अन्वेषण र व्याख्याबाट मार्क्सवादको जन्म भएको हो। मार्क्स–एंगेल्सको बौद्धिक विलास वा काल्पनिक परिकल्पनाको उपज मार्क्सवाद होइन; उनीहरूले समाजमा वस्तुगत रूपमा क्रियाशील ऐतिहासिक नियमहरूको गहिरो अध्ययन, अन्वेषण र व्याख्या गरेका हुन्। त्यसैले ती प्रमाणित यथार्थ र सामाजिक परिवर्तनका मूल प्रश्नलाई बेवास्ता गर्दै आज ‘मार्क्सवाद अप्रासंगिक भयो’ भन्ने दाबी गर्नु आफैंमा गम्भीर बहसको विषय हो।

अझ अगाडि बढेर, पूँजीवाद बलियो मात्र होइन, शाश्वत नै छ भनेर प्रमाणित गर्न खोजिंदैछ। तर त्यसका लागि मार्क्सवादले उठाएका मूल प्रश्नहरू समाधान भए भन्ने प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ, जुन देखिंदैन। त्यसैले कुतर्कका आधारमा ‘मार्क्सवाद अप्रासंगिक भयो’ भन्ने निष्कर्ष निकाल्ने वैचारिक आधार के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ।

अझ रोचक कुरा त के छ भने, अठारौं र उन्नाइसौं शताब्दीमा उदाएको पूँजीवादी प्रजातन्त्र कसरी निरङ्कुशताको शिकार बन्यो भन्ने ऐतिहासिक प्रश्नलाई मार्क्सवादका आलोचकहरू या त बिर्सन्छन्, या त्यसलाई लुकाउन चाहन्छन्। कुनै पनि राजनीतिक वा सामाजिक व्यवस्था एकपटक स्थापित भएपछि स्थायी र अपरिवर्तनीय हुँदैन।

संकट, प्रतिगमन, पुनर्गठन र रूपान्तरणका विभिन्न चरण पार गर्दै हरेक व्यवस्था आफ्नो स्वरूप बदल्दै जान्छ। वास्तवमा, कुनै पनि व्यवस्थाको सापेक्षिक स्थायित्व पनि यिनै उतार–चढाव, संकट र पुनर्संरचनाका प्रक्रियाबाट गुज्रिएपछि मात्र सम्भव हुन्छ।

समाजवादी आन्दोलन पनि यही ऐतिहासिक नियम अनुसार उतार–चढाव, संकट, प्रतिगमन र पुनर्गठनका चरण पार गर्दै अगाडि बढ्ने हो। त्यसो भए समाजवादी आन्दोलनको सन्दर्भमा चाहिं यो तथ्य किन बिर्सने? पूँजीवादी व्यवस्था संकट र रूपान्तरणका अनेक चरण पार गर्दै अगाडि बढ्न सक्छ भने, कम्युनिस्ट आन्दोलनमा आएको संकट वा अवरोधलाई देखाएर त्यसको अन्त्य भयो भन्ने निष्कर्ष किन निकाल्ने?

यो त विकासकै नियम हो। विकास सरलरेखामा हुँदैन; यो द्वन्द्व, संघर्ष र रूपान्तरणका प्रक्रियाबाट स्पाइरल वा जिगज्याग हुँदै अगाडि बढ्छ। त्यसैले कुनै चरणमा आएको पछाडि धकेलाइलाई अन्तिम पराजय र कुनै अस्थायी उपलब्धिलाई अन्तिम विजय ठान्नु ऐतिहासिक विकासको द्वन्द्वात्मक चरित्रलाई नबुझ्नु हो।

आफ्नो समयको यथार्थलाई बुझ्दै मार्क्सवादलाई नयाँ परिस्थिति अनुकूल विकास गरेर लेनिनले रूसी क्रान्तिको नेतृत्व गर्नुभयो र त्यसलाई सन् १९१७ को अक्टोबर क्रान्तिसम्म पुर्‍याउनुभयो। अर्धसामन्ती र अर्धऔपनिवेशिक चीन लगायत पूर्वका देशहरूले आफ्नो विशिष्ट परिस्थिति अनुसार पूँजीवादी चरणलाई कसरी पार गर्ने भन्ने प्रश्नमा लेनिनले महत्त्वपूर्ण वैचारिक संकेत दिनुभयो। त्यसै आधारमा माओले चिनियाँ विशेषता अनुसार नयाँ जनवादी क्रान्तिको बाटो विकास गर्नुभयो।

आन्दोलनको कुनै एउटा चरणमा देखिएको संकट, विघटन वा असफलतालाई आधार बनाएर सम्पूर्ण आन्दोलनकै अन्त्य घोषणा गर्नु इतिहासको गतिशीलता र विकासको द्वन्द्वात्मक प्रक्रियालाई नबुझ्नु हो। मार्क्सवादलाई बदलिंदो यथार्थमा कति सिर्जनात्मक ढंगले लागू र विकास गर्न सकिन्छ भन्ने कुराले नै आन्दोलनको सफलता वा असफलता निर्धारण गर्छ

चीनको दीर्घकालीन जनयुद्धका उतार–चढाव र अनुभवबाट गुज्रँदै चिनियाँ कम्युनिस्ट पार्टीले माओको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको मौलिक मार्ग विकास गर्‍यो र अन्ततः सन् १९४९ मा चीनमा क्रान्ति सम्पन्न भयो। यसको विपरीत, स्टालिनको नीतिलाई यान्त्रिक रूपमा अनुकरण गर्दै आफ्नै परिस्थिति अनुकूल सिर्जनात्मक पहल गर्न नसक्दा भारतको कम्युनिस्ट आन्दोलन लामो समयदेखि वैचारिक अन्योल र विभाजनबाट मुक्त हुनसकेको छैन। यसबाट स्पष्ट हुन्छ- मार्क्सवादको जीवन्तता त्यसलाई जस्ताको तस्तै दोहोर्‍याउनुमा होइन, बदलिंदो यथार्थसँग जोड्दै सिर्जनात्मक रूपमा विकास गर्नुमा छ।

नेपालकै इतिहासले पनि यसको सजीव उदाहरण प्रस्तुत गर्छ। नेपाली कम्युनिस्ट आन्दोलनले विभिन्न विभाजन, विघटन, पुनर्गठन र नयाँ पहलका अनेक चरण पार गर्दै आफ्नो यात्रा अघि बढाएको छ। २०१९ सालपछि विघटन र विभाजनको कठिन चरण पार गर्दै पुष्पलालको सिर्जनात्मक प्रभावमा विभिन्न धाराको विकास हुँदै गयो र अन्ततः नेपाली कम्युनिस्ट आन्दोलन गणतन्त्र स्थापनाको ऐतिहासिक मोडसम्म आइपुग्यो।

त्यसैले आन्दोलनको कुनै एउटा चरणमा देखिएको संकट, विघटन वा असफलतालाई आधार बनाएर सम्पूर्ण आन्दोलनकै अन्त्य घोषणा गर्नु इतिहासको गतिशीलता र विकासको द्वन्द्वात्मक प्रक्रियालाई नबुझ्नु हो। मार्क्सवादलाई बदलिंदो यथार्थमा कति सिर्जनात्मक ढंगले लागू र विकास गर्न सकिन्छ भन्ने कुराले नै आन्दोलनको सफलता वा असफलता निर्धारण गर्छ।

वर्तमान यथार्थ

मार्क्सवादले उठाएका मूल प्रश्नहरू आज पनि समाप्त भएका छैनन्; बरु कतिपय प्रश्न झन् विकराल बनेका छन् र मानव जातिको अस्तित्वमै संकट खडा गर्दैछन्। असमानता, शोषण, सम्पत्तिको केन्द्रीकरण, श्रम र पूँजी बीचको द्वन्द्व तथा आर्थिक–राजनीतिक शक्तिको असमान वितरण आज पनि विद्यमान छन्। त्यसमाथि पर्यावरणीय संकट थपिएको छ, जसले मानव जातिको अस्तित्वमाथि नै गम्भीर प्रश्न खडा गरिरहेको छ। प्रश्न अब केवल कसले कति सम्पत्ति राख्छ भन्नेमा सीमित छैन; मानव जातिले कस्तो समाज निर्माण गर्ने र पृथ्वीलाई नै कसरी जोगाउने भन्ने प्रश्न पनि त्यत्तिकै गम्भीर बनेको छ।

तर यहाँ अर्को गम्भीर प्रश्न पनि उठ्छ- यदि यी समस्याहरू आज पनि विद्यमान छन् भने, मार्क्सवादले तिनको समाधान किन गर्न सकेन? किन एकपछि अर्को गर्दै समाजवादी सत्ता कमजोर हुँदै गए र कतिपय अवस्थामा अप्रासंगिक समेत बन्न पुगे?

यसको एउटा कारण के हुन सक्छ भने, माओको जीवनको पछिल्लो चरणदेखि मार्क्सवादी चिन्तनमा अपेक्षित सैद्धान्तिक विकास र नयाँ प्रयोग पर्याप्त गहिराइ र प्रभावकारिताका साथ हुन सकेनन्। संसार तीव्र गतिमा बदलिंदै गयो, तर त्यसलाई बुझ्ने, व्याख्या गर्ने र त्यसअनुरूप आफ्नो कार्यदिशा विकास गर्ने मार्क्सवादी चिन्तन भने धेरै हदसम्म पुरानै सूत्रमा सीमित रह्यो।

त्यसैले मार्क्सवादको समस्या केवल पुरानो हुँदै जानुमा होइन; बरु बदलिंदो यथार्थसँग त्यसको सिर्जनात्मक विकास हुन नसक्नुमा पनि छ। अर्कोतर्फ, ‘पुरानो भयो’ भन्ने बहानामा त्यसको मूल वैज्ञानिक दृष्टिकोण र वर्गीय सारलाई नै परित्याग गर्नु पनि समस्याको समाधान होइन।

सामाजिक चेतना र विज्ञानको विकाससँगै मार्क्सवादको पनि निरन्तर विकास हुनुपर्ने थियो; तर त्यो अपेक्षित रूपमा हुन सकेन। यथास्थितिमा रहेको मार्क्सवादले परिवर्तित सामाजिक चेतना, नयाँ आवश्यकता र बदलिंदो यथार्थलाई पर्याप्त रूपमा अगुवाइ गर्न सकेन। यसको फाइदा पूँजीवादले उठायो। उसले बदलिंदो परिस्थिति अनुसार आफूलाई निरन्तर रूपान्तरण गर्दै लग्यो; आफ्नो आयु मात्र लम्ब्याएन, समाजवादलाई चुनौती दिने वैचारिक आत्मविश्वास समेत प्राप्त गर्‍यो।

अर्कोतर्फ, मार्क्सवादलाई नयाँ र सिर्जनात्मक बनाउने नाममा त्यसलाई ठोकठाक गरेर पूँजीपति वर्गलाई समेत स्वीकार्य बनाउने प्रयासले कतिपय अवस्थामा यसको वैज्ञानिक र वर्गीय सारतत्त्व नै कमजोर पार्दै लगेको देखिन्छ। त्यसैले समस्या केवल पुराना सूत्रमा अडिनु मात्र होइन; मार्क्सवादको नाममा त्यसको मूल वैज्ञानिक र वर्गीय सारलाई नै विस्थापित गर्नु पनि उत्तिकै गम्भीर समस्या हो।

मार्क्सवादलाई न त संग्रहालयमा राखेर जोगाउन सकिन्छ, न त पहिचान नै गुम्ने गरी बदल्न सकिन्छ; यसको जीवन्तता वैज्ञानिक र वर्गीय सारलाई कायम राख्दै बदलिंदो यथार्थ अनुसार सिर्जनात्मक विकास गर्न सक्नुमा छ।

मार्क्सवाद कसरी विकसित हुनुपर्छ ?

त्यसैले आजको आवश्यकता मार्क्सवादलाई अस्वीकार गर्नु होइन, त्यसको सिर्जनात्मक विकास गर्नु हो। बदलिएको संसारलाई बुझ्न र बदल्न मार्क्सवाद पनि विकसित हुनुपर्छ।

तर सिर्जनात्मक विकास भन्नाले पुराना सिद्धान्तलाई अस्वीकार गर्नु वा मार्क्सवादको मूल सारलाई कमजोर पार्नु होइन। यसको अर्थ बदलिएको यथार्थका आधारमा त्यसका वैज्ञानिक मान्यताहरूलाई पुनःपरीक्षण, विस्तार र विकास गर्नु हो। मार्क्सवादलाई जस्ताको तस्तै दोहोर्‍याउनु पनि होइन, त्यसलाई पहिचान नै गुम्ने गरी रूपान्तरण गर्नु पनि होइन।

आजको मार्क्सवादले विज्ञान र प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, पर्यावरणीय संकट, विश्वव्यापीकरण, नयाँ श्रमसम्बन्ध, बदलिंदो वर्ग संरचना तथा मानवको मनोवैज्ञानिक र सामाजिक चेतनामा आएका परिवर्तनलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने हुन्छ। र, आर्थिक संरचनासँगै मानवीय चेतना, भावना, आकांक्षा र नैतिक प्रश्नलाई पनि विश्लेषणको दायरामा ल्याउनुपर्छ।

यसरी मार्क्सवादलाई विगतको व्याख्या गर्ने सिद्धान्त मात्र होइन, वर्तमानलाई बुझ्ने र भविष्य निर्माणको बाटो देखाउने जीवित विज्ञानका रूपमा विकास गर्न आवश्यक छ। मार्क्सवादलाई संग्रहालयमा राख्नु गलत हो; तर पुराना सूत्र दोहोर्‍याएर त्यसलाई जीवित ठान्नु पनि उत्तिकै गलत हो।

यसको वैज्ञानिक सारलाई समात्दै बदलिएको यथार्थको नयाँ विश्लेषण गर्नु, नयाँ प्रश्नहरू उठाउनु र नयाँ समाधानको खोजी गर्नु नै आजको मार्क्सवादको चुनौती हो। आजको प्रश्न केवल ‘मार्क्सवाद सही कि गलत?’ भन्ने होइन। मूल प्रश्न यो हो- बदलिएको युगसँग मार्क्सवादलाई कसरी जोड्ने र यसको वैज्ञानिक तथा मानवीय सारलाई अझ विकसित कसरी गर्ने ? यही प्रश्नको उत्तर खोज्नु नै मार्क्सवादको पुनर्जीवन र सिर्जनात्मक विकासको बाटो हो।

पहल कहाँबाट कसरी ?

त्यसपछि अर्को प्रश्न उठ्छ- यो वैचारिक विकासलाई राजनीतिक आन्दोलनमा कसरी उतार्ने ? आजको यस्तो विकराल स्थितिमा पहल कहाँबाट र कसरी लिने भन्ने प्रश्न निकै पेचिलो बन्दै गएको छ। समस्या केवल नेतृत्वको असफलता वा संगठनको कमजोरीमा सीमित छैन; यसको जरा वैचारिक, राजनीतिक, सांस्कृतिक र नैतिक- सबै क्षेत्रमा फैलिएको छ। त्यसैले यसको समाधान पनि कुनै व्यक्ति वा समूहको परिवर्तनबाट मात्र सम्भव छैन।

नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन दिन वैचारिक पुनर्जागरण, राजनीतिक तथा संगठनात्मक पुनर्गठन, नयाँ राजनीतिक संस्कृतिको निर्माण र नयाँ पुस्ता, विशेषतः जेन–जी युवालाई केन्द्रमा राखेर परिचालन- यी सबै पक्षलाई एकसाथ अघि बढाउन आवश्यक छ।

प्रश्न अब केवल को नेतृत्वमा आउने भन्ने होइन; कस्तो विचार, कस्तो राजनीति, कस्तो संगठन र कस्तो राजनीतिक संस्कृतिले नयाँ पुस्तालाई जोड्न सक्छ भन्ने हो। यही प्रश्नको उत्तर खोज्दै अब पहलको सम्भावित दिशा र आधारतर्फ प्रवेश गर्नुपर्छ ।

.  वैचारिक पुनर्जागरण

सबैभन्दा पहिले वैचारिक पुनर्जागरण आवश्यक छ। मार्क्सवादलाई पुराना उद्धरण र सूत्रहरूको संग्रह बनाएर राखेर अब पुग्दैन। बदलिएको विश्वलाई बुझ्न नयाँ प्रश्न उठाउनुपर्छ र ती प्रश्नको उत्तर खोज्न मार्क्सवादी चिन्तनलाई पनि विकसित गर्नुपर्छ।

विज्ञान र प्रविधिको क्रान्ति, कृत्रिम बुद्धिमत्ता, पर्यावरणीय संकट, विश्वव्यापी पूँजीको नयाँ स्वरूप, श्रमको बदलिंदो चरित्र, मध्यम वर्गको विस्तार, नयाँ पुस्ताको चेतना तथा मानव मनोविज्ञानमा आएका परिवर्तनलाई मार्क्सवादी विश्लेषणको दायरामा ल्याउनुपर्छ।

यसका लागि मार्क्स–एंगेल्सले आफ्नो समयको ऐतिहासिक सीमाभित्र गहिरोसँग समेट्न नभ्याएको पूर्वीय दर्शनको चेतना, मनोविज्ञान र भावनात्मक पक्षसँग पनि संवाद आवश्यक हुन सक्छ। विशेषतः आजभन्दा करिब २६०० वर्षअघि विकसित बुद्ध दर्शनको मध्य मार्ग, ध्यान र चेतना सम्बन्धी दृष्टिकोणसँगको आलोचनात्मक संवाद उपयोगी हुन सक्छ। यसबाट शान्तिपूर्ण संघर्ष र आवश्यक बल प्रयोग बीचको सम्बन्ध तथा तिनको सापेक्ष औचित्यबारे नयाँ ढंगले सोच्ने आधार खोज्न सकिन्छ। त्यति मात्र होइन, प्रतिक्रान्तिका कारण र त्यसबाट बच्ने उपायको खोजीमा पनि यस्तो संवाद महत्त्वपूर्ण हुन सक्छ।

तर संवाद भनेको विलय होइन। फरक दार्शनिक परम्पराका उपयोगी अन्तर्दृष्टिलाई आलोचनात्मक रूपमा ग्रहण गर्दै मार्क्सवादको आफ्नै वैज्ञानिक र द्वन्द्वात्मक आधारलाई अझ समृद्ध बनाउनु हो। उद्देश्य मार्क्सवादलाई बुद्ध दर्शनमा विलीन गर्नु होइन; बरु नयाँ यथार्थका नयाँ प्रश्नसँग जुध्न सक्ने गरी मार्क्सवादी चिन्तनको क्षितिजलाई फराकिलो बनाउनु हो।

.  राजनीतिक संस्कृतिको पुनर्निर्माण

दोस्रो, कम्युनिस्ट राजनीतिक संस्कृतिको पुनर्निर्माण आवश्यक छ। आज जनतामा कम्युनिस्ट राजनीतिप्रतिको वितृष्णाको एउटा ठूलो कारण सिद्धान्तभन्दा बढी त्यसको व्यवहार मुख्यत: आचरण र जीवनशैली बनेको छ।

सादगी, पारदर्शिता, त्याग, श्रमप्रतिको सम्मान, आलोचना सुन्ने क्षमता, सार्वजनिक जीवनमा नैतिकता र जनतासँगको जीवन्त सम्बन्ध—यी कम्युनिस्ट पहिचानका आधारभूत गुण बन्नुपर्छ। सत्ता, पद र सुविधा कम्युनिस्ट राजनीतिका लक्ष्य होइनन्; ती समाज रूपान्तरणका साधन हुन् भन्ने चेतना भाषणबाट होइन, व्यवहारबाटै स्थापित गर्नुपर्छ।

भाषणमा समाजवाद र व्यवहारमा उपभोक्तावादी जीवनशैली बीचको विरोधाभास अन्त्य नगरी कम्युनिस्ट आन्दोलनप्रति जनविश्वास पुनःस्थापित गर्न सकिंदैन। जनताले कम्युनिस्टको विचार उसको भाषणबाट मात्र होइन, उसको जीवनशैली, आचरण र सार्वजनिक व्यवहारबाट पनि मूल्याङ्कन गर्छन्। त्यसैले राजनीतिक संस्कृतिको पुनर्निर्माण वैचारिक पुनर्जागरणको व्यावहारिक परीक्षा पनि हो।

.  संगठनात्मक पुनर्गठन

तेस्रो, संगठनात्मक पुनर्गठन अपरिहार्य छ। पुरानै संगठनात्मक संरचना, पुरानै नेतृत्व पद्धति र पुरानै मूल्याङ्कन प्रणालीबाट नयाँ परिणामको अपेक्षा गर्नु आत्मछल मात्र हुन्छ।

नेतृत्व चयनमा योगदान, क्षमता, इमानदारी र परिणामको मूल्याङ्कनसँगै लोकतान्त्रिक सहभागितालाई जोड्नुपर्छ। नेतृत्वलाई प्रश्न गर्न, आलोचना गर्न र गल्ती सच्याउन बाध्य पार्ने संस्थागत प्रणाली विकास गर्नुपर्छ। व्यक्तिपूजा र नेतृत्वमुखी संस्कृतिको अन्त्य गर्दै विचार र संस्थालाई व्यक्तिभन्दा माथि राख्नुपर्छ। पार्टीमा माथिल्लो तहबाट कार्यकर्ताको निरन्तर मूल्याङ्कन र जवाफदेहिता तथा तल्लो तहबाट निरन्तर खबरदारी र क्रान्तिकारी हस्तक्षेपको मान्यतालाई दृढतापूर्वक अवलम्बन गर्नुपर्छ।

यसलाई केवल संगठनात्मक नारामा सीमित राख्नुहुँदैन; नेतृत्व र कार्यकर्ता बीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्ने जनवादी–केन्द्रीयताको संगठनात्मक मान्यतालाई पनि नयाँ परिवेश अनुरूप विकास गर्नुपर्छ। विभिन्न बहानामा केन्द्रीयतालाई हावी गराउने नोकरशाही प्रवृत्तिको अन्त्य गर्दै जनवाद (लोकतन्त्र) को प्रश्नमा दृढतापूर्वक उभिनुपर्छ।

कमिटी प्रणालीमा जनवाद सुनिश्चित गर्न डेमोक्रेसी र मेरिटोक्रेसीको फ्युजन गर्न सकिन्छ। यसबाट नेतृत्व चयनमा लोकतान्त्रिक सहभागिता र योग्यता–क्षमताको मूल्याङ्कनलाई एकसाथ जोड्न सकिन्छ। मेरिटोक्रेसीको मूल्याङ्कन पनि अन्ततः कमिटीको सामूहिक निर्णय र अनुमोदनबाट टुंगिने भएकाले यसले नेतृत्व चयन प्रक्रियामा जनवादी नियन्त्रण र योग्यता दुवैलाई संस्थागत गर्ने आधार तयार गर्न सक्छ।

.  नयाँ पुस्तासँग नयाँ सम्बन्ध

आजको आवश्यकता अर्को एउटा कम्युनिस्ट पार्टी थप्नु होइन। फुट, विभाजन र गुटबन्दीप्रति जनताको कुनै रुचि छैन; उनीहरू क्रान्तिकारी ध्रुवीकरण, पुनर्गठन र पुनर्निर्माण चाहन्छन्। त्यसैले प्रश्न अब अर्को पार्टी बनाउने होइन, कम्युनिस्ट आन्दोलनलाई नयाँ विचार, नयाँ राजनीतिक संस्कृति, नयाँ संगठनात्मक पद्धति र नयाँ पुस्ताको ऊर्जासँग जोडेर पुनर्जीवित गर्ने हो।

चौथो, नयाँ पुस्तासँग नयाँ सम्बन्ध निर्माण गर्नुपर्छ। आजको युवा पुस्तालाई पुराना नाराले मात्र आकर्षित गर्न सकिंदैन। उसले रोजगारी, शिक्षा, प्रविधि, स्वतन्त्रता, सामाजिक न्याय, वातावरण, पहिचान, सम्मान र आफ्नै भविष्यसँग जोडिएका प्रश्नहरूको उत्तर खोजिरहेको छ।

वर्तमान समाजका युवाहरूलाई पटक्कै मन नपर्ने कुरा हुन्— चाकरी–चापलुसी, नातावाद–कृपावाद, अन्धभक्ति–दब्बुपन; अनि क्षमता, सक्रियता र इमानदारीभन्दा वर्षौं भोटो फटाएको आधारमा पदोन्नति र भूमिका दिने पुरानो परम्परा। आजको पुस्ताले पद होइन, योग्यता, योगदानको कदर र सम्मान खोजिरहेको छ।

समाजवादले यी प्रश्नलाई आजको पुस्ताको आफ्नै भाषा र अनुभवसँग जोडेर सम्बोधन गर्न सक्नुपर्छ। नयाँ पुस्तालाई केवल संगठनमा भर्ती गर्ने होइन, विचार निर्माण, नीतिनिर्माण र नेतृत्व निर्माणको प्रक्रियामै सहभागी गराउनुपर्छ। उसलाई पुरानो पुस्ताको अनुयायी मात्र होइन, नयाँ समाज निर्माणको सहयात्री र सहनिर्माता बनाउनुपर्छ।

समाजवादको नयाँ नेपाली बाटो

तर यी सबै प्रश्नको केन्द्रमा एउटा अझ महत्त्वपूर्ण प्रश्न छ- समाजवादको नयाँ नेपाली बाटो के हो ?

केवल दलाल पूँजीवादको विरोध गरेर मात्र समाजवाद स्थापित हुँदैन। नेपाली समाजको आफ्नै आर्थिक, सामाजिक, सांस्कृतिक र भौगोलिक विशिष्टतालाई ध्यानमा राख्दै समाजवादको व्यावहारिक आधार निर्माण गर्नुपर्छ। उत्पादन वृद्धि, रोजगारी, सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, सहकारी, निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सामुदायिक स्वामित्व बीचको सम्बन्धलाई नयाँ ढंगले परिभाषित गर्न आवश्यक छ। समाजवादलाई केवल राज्यको स्वामित्वसँग जोड्ने पुरानो बुझाइभन्दा माथि उठेर मानिसको जीवनको गुणस्तर, समान अवसर, सामाजिक न्याय र उत्पादनशील स्वतन्त्रतासँग जोड्नुपर्छ।

यसका लागि फेरि एउटा आधारभूत प्रश्नमा फर्किनुपर्छ- कम्युनिस्ट आन्दोलन कसका लागि ? सत्ता प्राप्तिका लागि कि समाज परिवर्तनका लागि ? यदि उत्तर समाज परिवर्तन हो भने सत्ता साधन हो, साध्य होइन। यही बोधलाई राजनीतिक व्यवहारको केन्द्रमा पुनःस्थापित गर्न नसक्दा आन्दोलन फेरि उही चक्रमा फस्नेछ।

मलाई लाग्छ, आज नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्जागरण कुनै एक नेताको उदयबाट हुनेवाला छैन। यो नयाँ विचार, नयाँ राजनीतिक संस्कृति, नयाँ संगठनात्मक पद्धति र नयाँ पुस्ताको सक्रिय सहभागिताबाट मात्र सम्भव छ।

त्यसका लागि पुरानालाई सम्पूर्ण रूपमा अस्वीकार गर्ने होइन; विगतका उपलब्धि र कमजोरी दुवैबाट सिक्नुपर्छ। योगदानको सम्मान गर्नुपर्छ, गल्तीको आलोचना गर्नुपर्छ र आवश्यक पर्दा आफ्नै मान्यता र अभ्यासमाथि समेत प्रश्न उठाउन सक्नुपर्छ। विगतप्रति सम्मान, वर्तमानप्रति आलोचनात्मक दृष्टि र भविष्यप्रति सिर्जनात्मक साहस— यही नै पुनर्जागरणको आधार बन्नुपर्छ।

संगठनात्मक पहल एकता

संसद्वादमा चुर्लुम्म डुबेको विसर्जनवादी प्रवृत्ति, संसदको क्रान्तिकारी उपयोग गर्न समेत हिचकिचाउने कट्टरपन्थी प्रवृत्ति र यी दुई बीच ढुलमुल गर्ने सारसंग्रहवादी प्रवृत्ति बोकेका कम्युनिस्ट पार्टीहरू नेपालमा दर्जनभन्दा बढी विभिन्न स्वरूपमा क्रियाशील छन्। संख्यामा धेरथोर भए पनि ती पार्टीहरूमा क्रान्तिकारीहरू छन्; पार्टी बाहिर स्वतन्त्र रूपमा रहेका क्रान्तिकारीहरू पनि छन्। तर विडम्बना के छ भने, यतिखेर कम्युनिस्ट शक्ति वैकल्पिक राजनीतिक शक्तिका रूपमा छैन, संकटमा छ। आफ्नो शाख नराम्रोसँग गुमाएको छ।

नेताहरूप्रतिको वितृष्णाका कारण वामपन्थी जनमत विशृङ्खलित भएको छ र कम्युनिस्ट आन्दोलन मूलधारबाट किनारातिर धकेलिएको छ। नेताहरूको विचारहीनता, गलत आचरण र भड्किलो जीवनशैलीप्रति जनतामा बढेको वितृष्णाले देशी–विदेशी शक्तिहरूलाई आफ्नो चलखेल बढाउने अवसर दिएको छ।

कम्युनिस्ट शक्ति वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित हुन नसक्नु केवल कम्युनिस्ट आन्दोलनको संकट मात्र होइन; राष्ट्र र जनतासामु उपस्थित गम्भीर राष्ट्रिय संकटको संकेत पनि हो। त्यसैले यो संकट पार गर्न ढिलो नगरि पुराना आग्रह-पूर्वाग्रहबाट मुक्त अर्थात् म मात्रै सही छु भन्ने मनोरोगबाट मुक्त भई सबै क्रान्तिकारीहरू एकठाउँमा उभिनैपर्छ।

जनताले आन्दोलनको आवश्यकता महसुस गर्नु आफैंमा सम्भावित क्रान्तिकारी उभारको संकेत हो। तर त्यसको नेतृत्व गर्ने अवसर हामीले गुमायौं। त्यो अवसर सदुपयोग गर्न सकेको भए पार्टी एकताको माग जनस्तरबाटै उठ्ने थियो र एकीकरणले जनतामा नयाँ ऊर्जा र आशा सञ्चार गर्ने थियो। तर आज नेतृत्वको अक्षमताका कारण निराश हुँदै गएको वामपन्थी जनमतले पार्टी एकतालाई समेत नेताहरूको स्वार्थपूर्तिको साधनका रूपमा बुझ्न थालेको छ। बरु नयाँ सत्तारूढ शक्तिप्रति उनीहरूले झिनो आशा राखेको देखिन्छ। यो समर्थन उनीहरूप्रतिको गहिरो विश्वासभन्दा पनि पुराना पार्टी र नेतृत्वप्रतिको असन्तोष व्यक्त गर्न अन्य सकारात्मक विकल्प नदेखिएको परिस्थितिको परिणाम जस्तो देखिन्छ। २०७६/७७ मा माओवादी केन्द्र र एमालेबीच भएको एकता र त्यसपछिको विभाजनले जनतामा यस्तो मनोविज्ञान निर्माण गर्न नकारात्मक भूमिका खेलेको छ। यो मनोविज्ञान एकैचोटि बदलिंदैन; जनताको भाँचिएको विश्वास पुनः जोड्न समय लाग्छ।

निष्कर्ष

आजको आवश्यकता अर्को एउटा कम्युनिस्ट पार्टी थप्नु होइन। फुट, विभाजन र गुटबन्दीप्रति जनताको कुनै रुचि छैन; उनीहरू क्रान्तिकारी ध्रुवीकरण, पुनर्गठन र पुनर्निर्माण चाहन्छन्। त्यसैले प्रश्न अब अर्को पार्टी बनाउने होइन, कम्युनिस्ट आन्दोलनलाई नयाँ विचार, नयाँ राजनीतिक संस्कृति, नयाँ संगठनात्मक पद्धति र नयाँ पुस्ताको ऊर्जासँग जोडेर पुनर्जीवित गर्ने हो।

मार्क्सवादलाई जीवित राख्नु भनेको मार्क्स, एंगेल्स, लेनिन वा माओका भनाइ दोहोर्‍याइरहनु होइन; उनीहरूले जस्तै आफ्नो समयका वास्तविकतालाई गहिरोसँग बुझ्ने, स्थापित मान्यतामाथि प्रश्न उठाउने र नयाँ समाधान खोज्ने साहस गर्नु हो। विगतको अनुभवबाट सिक्दै वर्तमानको यथार्थलाई बुझ्ने र भविष्यका लागि नयाँ बाटो निर्माण गर्ने क्षमता नै मार्क्सवादको जीवन्तता हो।

यदि हामीले त्यो साहस गर्न सक्यौं भने आजको संकट अन्त्यको संकेत मात्र होइन, नयाँ सुरुआतको अवसर पनि बन्न सक्छ। वस्तुगत परिस्थिति समाजवादका लागि उर्वर बन्दै जाँदा आत्मगत कमजोरी सच्याउन सकियो भने नेपाली कम्युनिस्ट आन्दोलन फेरि आशाको केन्द्र बन्न सक्छ।

तर त्यसका लागि पहिले अरूलाई बदल्ने होइन, आफूलाई बदल्ने अभियान शुरु गर्नुपर्छ। वर्गीय तथा उत्पीडित समुदायसँग नङ–मासु, पानी–माछा जस्तो जीवन्त सम्बन्ध पुनःस्थापित गर्नुपर्छ। आजको दुर्दशाको एउटा प्रमुख कारण वर्गीय र उत्पीडित जनसमुदायसँगको  सम्बन्धविच्छेद नै हो। जनताबाट टाढिएर जनताको मुक्ति सम्भव हुँदैन; जनतासँग जोडिएर मात्र समाज रूपान्तरणको शक्ति निर्माण गर्न सकिन्छ।

त्यसैले आजको चुनौती केवल संगठन पुनर्निर्माणको होइन; विश्वास पुनर्निर्माणको पनि हो। विचारमा पुनर्जागरण, राजनीतिमा नयाँ संस्कार, संगठनमा जनवाद र योग्यताको संयोजन, नेतृत्वमा जवाफदेहिता र जनतासँग जीवन्त सम्बन्ध— यी सबैलाई व्यवहारमा उतार्न सके मात्र पुनर्जागरण सम्भव हुनेछ।

र अन्ततः, शायद आजको सबैभन्दा कठिन, तर सबैभन्दा निर्णायक प्रश्न यही हो— हामी फेरि कम्युनिस्ट आन्दोलन उठाउन चाहन्छौं कि कम्युनिस्ट आन्दोलनको नाममा आफूलाई मात्र जोगाइरहन चाहन्छौं ? यही प्रश्नको इमानदार उत्तरबाट नै नयाँ यात्राको सुरुआत हुनेछ।

लेखक
हरिबोल गजुरेल

गजुरेल, नेपाली कम्युनिष्ट पार्टीको पूर्वनेता हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?