+
+
Shares

रसुवाको बाढीले विद्युत गृह र २२० केभी सबस्टेसनमा क्षति, विद्युत आपूर्ति बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते ११:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ र त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुर्‍याएको छ।
  • बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको छ भने केही क्षेत्रमा आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ।
  • बाढीले घर, सडक, पुललगायत भौतिक पूर्वाधारमा पनि क्षति पुर्‍याएको प्रारम्भिक जानकारी छ र विस्तृत विवरण संकलन भइरहेको छ।

१० भदौ, काठमाडौं । रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्‍याएको छ। बाढीका कारण रसुवा र आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्र तथा त्रिशूली–३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा क्षति पुगेको छ। यस्तै, त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनासमेत बाढीबाट प्रभावित भएका छन्।

विद्युत उत्पादन, प्रसारण तथा वितरणसँग सम्बन्धित संरचनामा क्षति पुगेपछि केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत आपूर्ति नियमित गर्न हरसम्भव प्रयास गरिरहेको भन्दै आपूर्ति नियमित नहुन्जेल धैर्य गरिदिन उपभोक्तालाई आग्रह गरेको छ।

बाढीले विद्युतका संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत उल्लेख्य क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राधिकरणले दिएको छ। क्षतिको विस्तृत विवरण भने संकलन भइरहेको छ।

प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै पक्षलाई तत्काल प्रभावकारी रूपमा परिचालित हुन आग्रह गरेको छ।

बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ।

रसुवामा यसअघि पनि बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको थियो। पछिल्लो बाढीले पुनः ऊर्जा पूर्वाधारमा असर पारेपछि उत्पादनदेखि प्रसारण र वितरणसम्मको विद्युत प्रणाली प्रभावित हुने जोखिम बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?