+

आईसीसीका सीईओ भन्छन् : नेपाल भोलिको अफगानिस्तान वा न्युजिल्यान्ड बन्न सक्छ

२०८३ भदौ  १० गते १७:४३ २०८३ भदौ १० गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी सीईओ सञ्जोग गुप्ताले नेपाल भोलिको अफगानिस्तान वा न्युजिल्यान्ड बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
  • गुप्ताले नेपालको क्रिकेट स्तर द्रुत गतिमा सुधार भइरहेको र नेपाली खेलाडीले विश्व मञ्चमा आफूहरू योग्य भएको प्रमाणित गरिरहेको बताएका छन् ।
  • आईसीसीले पछिल्ला दुई वर्षमा नेपालको क्रिकेट विकासका लागि करिब ५० लाख अमेरिकी डलर लगानी गरेको छ ।

१० भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) सञ्जोग गुप्ताले नेपाल अफगानिस्तान वा न्युजिल्यान्ड बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै सीईओ गुप्ताले नेपाली क्रिकेट शीर्ष तहमा पुग्ने अर्को एसोसिएट सदस्य राष्ट्र बन्न सक्ने विश्वास व्यक्त गरेका हुन् । ‘नेपाल भोलिको अफगानिस्तान बन्न सक्छ अथवा भोलिको न्युजिल्यान्ड पनि बन्न सक्छ’ उनले भने ।

नेपालको प्रदर्शनको स्तरमा द्रुत गतिमा सुधार भइरहेको सीईओ गुप्ताले बताए । ‘नेपालले उत्कृष्ट खेलाडीहरूको यस्तो समूह विकास गरेको छ । जसले आईसीसीका विभिन्न बाटो हुँदै निरन्तर माथि उठिरहेको छ,’ उनले भने, ‘उनीहरू (नेपाली खेलाडी) ले विश्व मञ्चमा आफूहरू योग्य भएको पनि प्रमाणित गरिरहेका छन्।’

आईसीसीले पछिल्ला दुई वर्षमा नेपालको क्रिकेट विकासका लागि करिब ५० लाख अमेरिकी डलर लगानी गरेको छ । यस्तै नेपालले अर्को वर्ष आयोजना हुने यू–१९ महिला विश्वकपको सह–आयोजकको अधिकार पनि पाएको छ ।

‘नेपाललाई कुनै पनि खेलले चाहने सबैभन्दा ठूलो सम्पत्ति प्राप्त छ- ठूलो र अत्यन्तै उत्साहित फ्यानबेस’ गुप्ताले भने, ‘आजका समर्थक नै भोलिका खेलाडी हुन् ।’

सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकपमा छनोट हुनु नेपालका लागि निर्णायक मोड थियो । भारत, पाकिस्तान र श्रीलंकाजस्ता क्रिकेटका शक्तिशाली राष्ट्रले घेरिएको क्षेत्रमा नेपालले लामो समय अरूलाई हेरेर बस्नुपरेको थियो ।

सन् २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएपछि क्रिकेटको लोकप्रियता नेपालमा ह्वात्तै बढेको हो ।

आईसीसी सीईओ नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय