१० भदौ, सप्तरी । रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि सप्तरी बोदेबरसाइन नगरपालिका–८ काचनटोलका तीन दाजुभाइ सम्पर्कविहीन भएका छन् ।
बाढीपछि ३१ वर्षीय देवकुमार यादव, ३५ वर्षीय शिवकुमार यादव र २५ वर्षीय सचित यादवसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ ।
सम्पर्कविहीन तीनै जना रसुवास्थित एक हाइड्रोपावरमा कार्यरत थिए । देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत रहेको परिवारको भनाइ छ ।
उनीहरूका बुवा लालबहादुर यादवका अनुसार बुधबार बिहान रसुवामा बाढी आएपछि तीनै छोरासँग सम्पर्क हुन सकेको छैन ।
अहिले आफ्ना छोराहरूको अवस्था अज्ञात रहेकाले तत्काल खोजी तथा उद्धार कार्य अघि बढाउन लालबहादुरले सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
एकै परिवारका तीन दाजुभाइ सम्पर्कविहीन भएपछि उनीहरूका परिवार तथा काचनटोलवासी चिन्तित बनेका छन् ।
भोटेकोशीमा आएको बाढीका कारण नुवाकोट र धादिङसहित तीन जिल्लामा ठूलो भौतिक र मानवीय क्षति भएको छ । चीनतर्फबाट आएको बाढीका कारण भोटेकोशी र त्रिशुली नदी किनारका धेरै बस्तीहरू बगेका छन् ।
प्रतिक्रिया 4