News Summary
Generated by OK AI. Editorially reviewed.- तिब्बतबाट रसुवातर्फ आएको बाढीमा घाइते भएका २६ जनालाई बिहिबार बिहानसम्म त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ।
- अस्पतालका अनुसार उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको छ र ६ जनाको आईसीयूमा उपचार भइरहेको छ।
- अस्पतालले थप ५० देखि ६० जना घाइते आउन सक्ने अनुमान गर्दै उपचार टोली र आवश्यक सेवा तयारी अवस्थामा राखेको छ।
११ भदौं, काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएका बिहिबार बिहानसम्म २६ जनालाई उपचारका लागि ल्याइएको छ।
उनीहरूमध्ये २५ वर्षीय एक पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार अस्पतालमा ल्याइएका घाइतेमध्ये ६ जनाको आईसीयूमा उपचार भइरहेको छ।
बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि शिक्षण अस्पताल आउन सक्ने सूचना प्राप्त भएको उनले बताए ।
सम्भावित बिरामीको चापलाई ध्यानमा राखेर अस्पतालले आवश्यक तयारी गरिसकेको पनि उनले जानकारी दिए ।
‘हामीले ५०–६० जना जति थप बिरामी आउन सक्ने अनुमान गरेका छौं। त्यहीअनुसार अस्पतालको तयारी गरेका छौं,’ प्रवक्ता डा. सेढाईंले अनलाइनखबरसँग भने ।
उनका अनुसार थप आउने घाइतेमध्ये अत्यन्त गम्भीर तथा आईसीयू आवश्यक पर्नेभन्दा चोटपटक लागेका बिरामीको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ।
अस्पतालले सम्भावित बिरामीको चाप व्यवस्थापनका लागि उपचार टोली र आवश्यक सेवाको तयारी अवस्थामा राखेको जनाएको छ।
तिब्बतबाट आएको विनाशकारी बाढीले रसुवा क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहँदा घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउने क्रम पनि जारी छ । सम्पर्क विहीन भएका मानिसलाई खोज्दै आफन्तहरू अस्पतालमा पुगेका छन् ।
प्रतिक्रिया 4