+
+
Shares

नुवाकोटका अधिकांश स्थानमा विद्युत् सेवा पुन: सुरु

प्राधिकरणका अनुसार नुवाकोटका अधिकांश स्थानमा विद्युत् नियमित भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ११ गते १७:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका कर्मचारी, मजदुर, परिवार र स्थानीयको उद्धार प्राथमिकतामा राख्दै प्राधिकरणले नुवाकोटमा विद्युत् सेवा पुनः सुरु गरेको छ।
  • प्राधिकरणले धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभी लाइनलाई ११ केभी लाइन चार्ज गरी नुवाकोटका अधिकांश अत्यावश्यक स्थानमा वैकल्पिक विद्युत् आपूर्ति गरेको छ।
  • अस्पताल, दूरसञ्चार र अन्य अत्यावश्यक क्षेत्रमा आपूर्ति गर्न चार प्राविधिक टोली र डिजेल जेनेरेटर नुवाकोट पठाइएको छ, रसुवामा पनि आपूर्तिका विकल्प तयारी भइरहेका छन्।

११ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी, मजदुर, उनीहरूका परिवार तथा स्थानीयवासिन्दाको उद्धार प्राथमिकतामा राख्दै नुवाकोटमा विद्युत् सेवा पुन: सुरु गरेको छ ।

प्राधिकरणका अनुसार नुवाकोटका अधिकांश स्थानमा विद्युत् नियमित भएको छ । बाढीबाट नियमित विद्युत् आपूर्ति प्रणाली प्रभावित भएपछि प्राधिकरणले नुवाकोटका अधिकांश अत्यावश्यक स्थानमा वैकल्पिक मार्गबाट विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाएको छ ।

त्यसका लागि धादिङ, काठमाडौं र सिन्धुपाल्चोकबाट ६६ केभीको लाइनलाई ११ केभी लाइन चार्ज गरी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति पुर्‍याइएको प्राधिकरणले जनाएको छ ।

विद्युत् आपूर्ति पूर्णरूपमा नियमित हुन समय लाग्ने क्षेत्रमा प्राधिकरणले ब्याकअप व्यवस्था समेत अघि बढाएको छ । काठमाडौं लगायतका स्थानबाट २५/२५ केभीएका दुई र ५० केभीए क्षमताका डिजेल जेनेरेटर सहित चार प्राविधिक टोली नुवाकोट पठाइएको छ ।

प्राविधिक टोलीले अस्पताल, दूरसञ्चार सेवा तथा अन्य अत्यावश्यक क्षेत्रमा विद्युत् आपूर्ति सुरु गर्न जेनेरेटर जडान गर्नुका साथै ब्याकअप पावरको व्यवस्था मिलाइरहेको छ ।

अत्यावश्यक सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक स्रोतबाट विद्युत् उपलब्ध गराउने काम भइरहेको प्राधिकरणले जनाएको छ । त्यस्तै रसुवा जिल्लामा पनि विद्युत् आपूर्ति सुरु गराउन विभिन्न विकल्पको तयारी भइरहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको अवस्थाबारे प्राविधिक मूल्यांकन गर्दै नियमित विद्युत् आपूर्ति पुनर्स्थापनाको काम पनि समानान्तर अघि बढाएको छ ।

प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र सामान्य अवस्थामा फर्काउन उपलब्ध जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी हरसम्भव प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?