News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी नदीमा आएको बाढीको १२ घण्टा अघि नै बाढी पूर्वानुमान महाशाखाले भदौ ९ गते राति ‘पँहेलो’ सूचना जारी गरेको थियो।
- विज्ञहरूले भोटेकोशीजस्तो अचानक आएको बाढी पत्ता लगाएर जानकारी दिने प्रभावकारी पूर्वसूचना प्रणाली नेपालमा नभएको बताएका छन्।
- राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका सीईओ अनिल पोखरेलले भोटेकोशीमा आए जस्तो बाढीबारे पूर्वसूचना दिने प्रणाली नै छैन भन्नुभयो।
११ भदौ, काठमाडौं । बुधबार बिहान ९ बजेतिर भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति गर्नुभन्दा १२ घण्टा पहिले नै बाढी पूर्वानुमान महाशाखाले एउटा सूचना जारी गरेको थियो ।
भदौ ९ गते रातिको उक्त सूचनामा सतर्कता तह भन्दा बढी पानी परेकाले नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।
महाशाखाले सामाजिक सञ्जालमा राखेको सूचनामा भनिएको छ, ‘भदौ ९, राती ९:२० बजे फलाखु खोला ९ बेत्रावती, नुवाकोट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दा सतर्क रहनुहोला ।’
‘लौ हिजै थाहा रहेछ त के हेरेर बसेको सम्बन्धित निकाय ?’
त्यो सूचना पढेर सामाजिक सञ्जालमा धेरैले यही आशयको प्रतिक्रिया जनाएका छन् ।
बाढी पूर्वानुमान महाशाखाले अवस्था सामान्य छ भन्यो भने ‘हरियो,’ सतर्क हुनुपर्ने छ भने ‘पँहेलो’, तयारी अवस्थामा बस्नुपर्ने छ भने ‘सुन्तला’ र तुरुन्त प्रतिकार्य गर्नुपर्ने अवस्था छ भने ‘रातो’ रंगमा सूचना जारी गर्छ ।
९ भदौको सूचना ‘पँहेलो’ रंगमा प्रकाशित छ । जसको अर्थ हो- सतर्क रहनु ।

पानीको बहावले सतर्कता तह पार गरेको भनेर मापन गरेको जलमापन केन्द्र रहेको बेत्रावतीमै बाढीले बबण्डर मच्चायो । त्यसो भए थाहा पाएर पनि सम्बन्धित निकाय केही नगरी बसेको हो ? वा पूर्वसूचना प्रणालीले नै काम गरेन ?
‘त्यो दुबै होइन, भोटेकोशीमा आएको जस्तो बाढी पत्ता लगाएर पूर्व जानकारी दिन सक्ने संयन्त्रै हामीसँग भएन,’ विज्ञहरू भन्छन् ।
जलमापन केन्द्रले नदीको तह मापन गर्छ । बेत्रावतीस्थित जलमापन केन्द्रले पनि त्यही अनुसार सतर्कता तह पार गरेको सूचना प्रवाह गर्यो । ‘हाम्रोमा रिभर लेभल सेन्सर राखिएको छ । सेन्सरले सेन्स गर्न नपाउँदै त्यो ड्यामेज भयो,’ पूर्वसूचना प्रणालीका जानकार दीनानाथ भण्डारी भन्छन्, ‘नदीको सतह बढ्दै गएको भए सेन्सरले काम गर्ने थियो । पानीको बहाव एक्सासी बढ्यो, बस्ती नै लगी हाल्यो ।’
भण्डारीका अनुसार प्रकोप आउँदैछ वा आउन सक्छ भनेर पहिले नै सम्बन्धित सबैलाई गरिने खबर नै पूर्वसूचना हो ।

प्रकोप पूर्वसूचनामा पूर्व जानकारी, चेतावनी र निर्देशन वा सुझाव दिने गरिन्छ । उनी भन्छन्, ‘सूचनामा कुन प्रकोप, कहाँबाट कसरी कहिले आउँदैछ भन्ने जानकारी हुन्छ । त्योसँगै सम्भावित प्रकोपले कहाँ, कहिले, को–कसलाई, कस्तो र के के असर गर्न सक्छ भन्ने चेतावनी दिइएको हुन्छ ।’

राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृ (सिईओ) अनिल पोखरेल नेपालमा प्रभावकारी विपद् पूर्वसूचना प्रणाली नै नभएको बताउँछन् ।
उनी भन्छन्, ‘हामी कहाँ भोटेकोशीमा आए जस्तो बाढी बारे पूर्वसूचना दिने प्रणाली नै छैन । कसैले छ भनिरहेको छ भने त्यो भ्रम हो ।’
जनधनको क्षति हुन नदिन प्रभावकारी ढंगले समयमै नपुग्ने सूचनालाई पूर्वसूचना भन्न नमिल्ने पोखरेल बताउँछन् ।
‘यस्तो सूचना रेडियो-टेलिभिजन-मोबाइल-सामाजिक सञ्जालबाट दिएर मात्र पुग्दैन,’ उनी भन्छन्, ‘आम सञ्चारका सबै माध्यममा पनि एकसाथ प्रसारण गर्ने व्यवस्था मिलाउनु पर्दछ ।’

भोटेकोशीको बाढी हिमपहिरो, हिमताल वा नदीको मुहान थुनिएर आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान छ । कारण जेसुकै भए पनि बेलैमा पूर्वसूचना पुर्याउन सकेको भए धेरैको ज्यान जोगाउन सकिन्थ्यो भन्नेमा विमति छैन ।
पूर्वसूचनाकै कारण टिमुरे, स्याफ्रुवेंसी, बेत्रावती लगायतका बस्तीको तुलनामा त्यसभन्दा तल्लो तटीय क्षेत्रमा मानवीय क्षति कम गर्न सकेको जानकारहरू बताउँछन् । तर प्रभावकारी पूर्वसूचनाका लागि हुनुपर्ने जति काम भने भएकै छैन ।
रसुवागढी, कैलाश पर्वत, कर्णाली हुँदै भारतको गङ्गासम्मको यात्रा गरेर पुस्तक लेखेका वातावरण पत्रकार रमेश भुसाल नदी किनारमा घर, पुल, सडक, जलविद्युत आयोजना जस्ता पूर्वाधार बने पनि विपद्बाट जोगाउने प्राथमिक सूचना प्रणालीमा पर्याप्त लगानी नभएको बताउँछन् ।
‘उत्तरी छिमेकी चीनसँग जोडिएका नाकाहरू नदीका उद्गमस्थल हुन् । त्यहाँ हुने फेरबदल र हिमपहिरो वा अन्य पहिरोले तल्लो तटीय क्षेत्रको बहाबमा ठूलो असर पार्छ । त्यसैले त्यहाँको पूर्वसूचना प्रणाली मजबुत बनाउन प्रभावकारी पहल गरेको देखिँदैन,’ भुसाल भन्छन् ।
पूर्वसूचना भनेकै प्रकोप नपुग्दै जोखिमयुक्त क्षेत्रवासीलाई सुरक्षितस्थानमा पुगिसक्ने गरी सूचना पुर्याउनु हो । अर्थात् जनधनको क्षतिपछि पुग्ने सूचना ‘लगन पछिको पोते’ भने जस्तो हो ।
तर पूर्वसूचना पाउनु त कहाँ हो कहाँ बाढीले विनास मच्चाएको डेढ दिन भइसक्दा पनि यसको वास्तविक कारण समेत पत्ता लाग्न सकेको छैन ।
दुई दिनपछि आउने स्याटलाइट इमेजहरू विपदको कारण पत्ता लगाएर भविष्यका लागि तयारी गर्न मात्र काम लाग्ने विज्ञहरू बताउँछन् ।
भोटेकोशीको घटनाले नदीको बहावमापन गरेर मात्र बाढीको पूर्वानुमान गर्न सकिँदैन भन्ने देखिएको छ । पूर्वसूचनाका जानकार भण्डारी जोखिमयुक्त स्थानमा सर्भिलेन्स क्यामरा राख्न सुझाउँछन् ।
‘जसरी कम्पनको आधारमा सडकमा पैदल यात्रु हिंडेको, साईकल, मोटरसाइकाल वा ठूलो ट्रक गुडेको छुट्याउन सकिन्छ । ठीक त्यसैगरी मुहानमा कत्रो वा कस्तो कम्पन आएको छ भन्ने छुट्याउन सेन्सर र भिडियो क्यामरा राख्न आवश्यक देखियो,’ भण्डारी भन्छन्, ‘र त्यस्तो भाइब्रेसन सेन्स गरेर एआईले साइरन बज्ने व्यवस्था मिलाउनु पर्यो ।’
प्रतिक्रिया 4