+

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ : चार विधाको मनोनयन सार्वजनिक

२०८३ भदौ  १४ गते १६:३१ २०८३ भदौ १४ गते १६:३१

१४ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक विधाका मनोनयन सार्वजनिक गरेको छ ।

आगामी भदौ १८ गते काठमाडौंमा हुने अवार्ड समारोहमा यी चार विधाका विजेतासहित कुल ९ विधामा सम्मान प्रदान गरिनेछ ।

पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी, एथ्लेटिक्सका सोमबहादुर कुमाल, बक्सिङका चन्द्र थापा, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य मनोनयनमा परेका छन् ।

महिलातर्फ फुटबलकी सावित्रा भण्डारीसहित करातेका एरिका गुरुङ, सानुमाया थिङ, सबिना श्रेष्ठ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

यस्तै युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद, करातेके मनिषा कुमारी बोहोरा, चेसका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन् ।

वर्ष प्रशिक्षकको मनोनयनमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ, करातेकै मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरन सिंह खत्री परेका छन् ।

विधागत मनोनयनमा कराते हावी देखिएको छ । चार विधामा गरेर करातेका ८ खेलाडी/प्रशिक्षक मनोनयनमा परेका छन् ।

वर्ष पुरुष खेलाडी

चन्द्र थापा (बक्सिङ) : विश्व बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक जित्दै चन्द्र थापा विश्व बक्सिङमा पदक जित्ने पहिलो नेपाली मुक्केबाज बने। उनले प्रतियोगिताबाट ७५ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका थिए, जुन कुनै नेपाली खेलाडीले व्यक्तिगत रूपमा जितेको अहिलेसम्मकै ठूलो पुरस्कार राशि हो। भुटानमा भएको फोर नेसन्स बक्सिङमा उनले रजत पदक पनि जितेका थिए।

सोमबहादुर कुमाल (एथ्लेटिक्स) : सोमबहादुरले चौथो दक्षिण एसियाली सिनियर एथ्लेटिक्स च्याम्पियनसिपमा ८०० मिटरमा रजत जिते। चीनमा सम्पन्न एसियन इन्डोर च्याम्पियनसिपमा उनले १ मिनेट ५९.४६ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाए भने दोस्रो पोखरा एथ्लेटिक्स मिटमा ४०० र ८०० मिटरमा दुई स्वर्ण जिते।

प्रदीप बैजाली मगर (कराते) : श्रीलंकामा सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिपमा प्रदीपले यू–२१ र सिनियर कुमितेमा दुई स्वर्ण जिते। त्यस्तै टिम कुमितेमा रजत तथा राष्ट्रिय प्रतियोगिताहरूमा लगातार स्वर्ण पदक जित्दै उत्कृष्ट वर्ष बिताए।

दीपेन्द्रसिंह ऐरी (क्रिकेट) : दीपेन्द्रले नेपाललाई टी–२० विश्वकपमा छनोट गराउन निर्णायक भूमिका खेले। छनोट चरणमा लगातार पाँच खेलमा प्रत्यक्ष थ्रोमार्फत रनआउट गर्दै विश्व कीर्तिमान बनाए। उनले समग्र वर्ष ६६२ रन र १५ विकेट लिए भने विश्वकपमा स्कटल्यान्डविरुद्ध अविजित ५० रन बनाउँदै प्लेयर अफ द म्याच बने।

सद्भाव आचार्य (गल्फ) : सद्भावले नेपाल अन्तर्राष्ट्रिय एमेच्योर गल्फ च्याम्पियनसिपमा व्यक्तिगत र टिम दुवै स्वर्ण जिते। अमेरिकाको एनसीएए डिभिजन–१ गल्फमा पनि टिम च्याम्पियन बन्न सफल भएका थिए।

वर्ष महिला खेलाडी

एरिका गुरुङ (कराते) : एरिकाले कराते वान प्रिमियर लिगका विभिन्न चरणमा लगातार पदक जित्दै नेपालको नाम उँचो बनाइन्। उनले मोरक्कोमा कांस्य, टर्की र चीनमा रजत तथा मलेसियामा स्वर्ण पदक जितिन्।

सावित्रा भण्डारी (फुटबल) : सावित्राले एसियन कप छनोटमा १० गोल गर्दै नेपालको ऐतिहासिक प्रदर्शनमा नेतृत्वदायी भूमिका खेलिन्। उनी युरोपियन महिला फुटबल लिगमा ह्याट्रिक गर्ने पहिलो नेपाली खेलाडीसमेत बनिन् भने अस्ट्रेलियाको ए–लिग क्लब वेलिङ्टन फिनिक्सबाट पनि गोल गरिन्।

सानुमाया थिङ (कराते) : सानुमायाले दक्षिण एसियाली करातेमा टिम कातामा स्वर्ण र व्यक्तिगत कातामा रजत जितिन्। उनी विश्व कराते च्याम्पियनसिपका लागि छनोट हुने नेपाली खेलाडीमध्ये एक हुन्।

सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स) : सन्तोषीले दक्षिण एसियाली च्याम्पियनसिपमा ५,००० र १०,००० मिटरमा दुई कांस्य जितिन्। दुवै इभेन्टमा राष्ट्रिय कीर्तिमान बनाएकी उनले स्पेनको भ्यालेन्सिया म्याराथन र भारतको हाफ म्याराथनमा पनि नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्।

सबिना श्रेष्ठ (कराते) : सबिनाले दक्षिण एसियाली करातेमा व्यक्तिगत र टिम कुमिते गरी दुई स्वर्ण जितिन्। थाइल्यान्ड ओपनमा टिम कुमितेमा स्वर्ण र व्यक्तिगत कुमितेमा कांस्य पदक पनि हात पारिन्।

वर्ष युवा खेलाडी

अर्पिल राना (बक्सिङ) : अर्पिलले एसियाली यू–२२ बक्सिङ च्याम्पियनसिपमा कांस्य जिते। उनले साउदी अरेबिया र भुटानका खेलाडीलाई हराउँदै सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए।

रेहान जाबेद (कराते) : रेहानले चीनमा सम्पन्न एसियाली क्याडेट, जुनियर तथा यू–२१ कराते च्याम्पियनसिपमा कांस्य जिते। साथै एसियन प्यासिफिक सितोरियो करातेमा पनि कांस्य पदक हात पारे।

मनिषा कुमारी बोहोरा (कराते) : मनिषाले एसियाली यू–२१ करातेमा कांस्य जितिन्। श्रीलंकामा भएको दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण तथा राष्ट्रिय करातेमा पनि स्वर्ण जितेकी थिइन्।

पुरुषोत्तम सिलवाल (चेस) : पुरुषोत्तमले वेस्ट एसियन जुनियर ब्लिट्ज चेस च्याम्पियनसिपमा रजत जिते। उनले प्रतियोगितामा भारतका अन्तर्राष्ट्रिय मास्टरलाई पराजित गरेका थिए भने रुसकी महिला ग्रान्डमास्टरमाथि पनि जित निकाले।

रौनक श्रीवास्तव (क्रिकेट) : रौनकले टीबी शाह यू–१६ राष्ट्रिय क्रिकेटमा २१७ रनको ऐतिहासिक दोहोरो शतक प्रहार गरे। प्रतियोगितामा ३३२ रनसहित सर्वाधिक रन बनाउने खेलाडी पनि उनी नै बने।

वर्ष प्रशिक्षक

दीपक महर्जन (बक्सिङ) : दीपक महर्जनको प्रशिक्षणमा चन्द्र थापाले विश्व बक्सिङमा कांस्य जिते। उनले फोर नेसन्स कपमा नेपाललाई चार स्वर्णसहित उत्कृष्ट प्रदर्शन गराएका थिए।

कुशल श्रेष्ठ (कराते) : कुशल श्रेष्ठले एरिका गुरुङलाई कराते वान प्रिमियर लिगमा लगातार अन्तर्राष्ट्रिय पदक जिताउन सफल भए। साथै रेहान जाबेद, मनिषा बोहोरा र सबिना श्रेष्ठजस्ता खेलाडीको सफलतामा पनि उनको महत्वपूर्ण भूमिका रह्यो।

मण्डेकाजी श्रेष्ठ (कराते) : मण्डेकाजी श्रेष्ठको प्रशिक्षणमा सानुमाया थिङ विश्व कराते च्याम्पियनसिपका लागि छनोट भइन्। दक्षिण एसियाली करातेमा नेपालले २१ स्वर्ण जित्दा उनी टोलीका प्रमुख प्रशिक्षकमध्ये एक थिए।

स्टुअर्ट ल (क्रिकेट) : स्टुअर्ट लले नेपाललाई टी–२० विश्वकपमा छनोट गराए। उनको प्रशिक्षणमा नेपालले विश्वकप छनोटका सुपर सिक्सका सबै खेल जित्दै उपाधिसहित विश्वकप यात्रा तय गरेको थियो।

पुरन सिंह खत्री (नेत्रहीन महिला क्रिकेट) : पुरन सिंह खत्रीले दृष्टिविहीन महिला टी–२० विश्वकपको पहिलो संस्करणमा नेपाललाई उपविजेता बनाए। उनले उमेर समूहका प्रतियोगितामा पनि नेपाली टोलीलाई उल्लेखनीय सफलता दिलाएका छन्।

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पल्सर स्पोर्ट्स अवार्ड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय