+
+
Shares
रसुवा बाढी :

अस्पतालका भित्तामा बेपत्ता आफन्तको तस्वीर

एकातिर आफन्तले बेपत्ताको तस्वीरसहितको विवरण टाँसेका छन् । अर्कोतर्फ अस्पतालले शव पहिचानका लागि मृतकको तस्वीर झुण्ड्याएको अवस्था छ ।

रिखिराम जिसी रिखिराम जिसी
२०८३ भदौ १४ गते २०:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भोटेकोशी बाढीमा बेपत्ता आफन्तको खोजीमा परिवारजनले त्रिवि शिक्षण अस्पतालसहित काठमाडौंका अस्पतालका भित्तामा फोटो टाँस्न थालेका छन्।
  • बुधबार बिहान आएको बाढीपछि देवेन्द्र खड्का, टैलेन्द्र मगर, निमदोर्जे तामाङ, समुद्र गुरुङ र समुद्र न्यौपाने सम्पर्कविहीन भएका छन्।
  • रसुवाका ग्याल्साङ वाङ्दी तामाङ, च्युन्की तामाङी, निमा तेन्जेन लामा र दोर्जे छिरिङ तामाङ पनि बाढीपछि बेपत्ता छन्।

१४ भदौ, काठमाडौं । सिन्धुपाल्चोकका केशव खड्का आइतबार बिहानै त्रिवि शिक्षण अस्पताल पुगेर भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको तस्वीर टाँसेर फर्किए ।

भोटेकोशीमा बुधबार बिहान आएको बाढीमा परेर केशवका मामाका छोरा देवेन्द्र खड्का बेपत्ता भएका थिए । उनीसँगै सोही ठाउँका टैलेन्द्र मगर, निमदोर्जे तामाङ, समुद्र गुरुङ र समुद्र न्यौपाने बाढीमा हराएका छन् । उनीहरू भेटिने आशमा केशवले पाँचै जनाको फोटोसहितको विवरण आइतबार त्रिवि शिक्षण अस्पतालको भित्तामा टाँसेका हुन् ।

केशवका अनुसार ५ मध्ये ४ जना भ्यानका चालक थिए । उनीहरूले सामान लिनका लागि गाडी लिएर नेपाल–चीन सिमानातिर गएका थिए । तर बाढीपछि उनीहरू सम्पर्कविहीन छन् । ‘चाइना जाँदै गर्दा टिमुरेमा अन्तिम लोकेसन देखाउँछ । त्यसपछि कुनै सम्पर्क छैन,’ केशवले अनलाइनखबरसँग भने ।

सम्पर्कविहीन भएलगत्तै केशवसहित आफन्तले उनीहरूको खोजी गरिरहेका छन् । तर हालसम्म कुनै पत्तो पाएका छैनन् । ‘कतै शवको अनुहार हेरेर पहिचान गर्न सकिन्छ कि भनेर कोही त्रिशूली कोही मलेखुसम्म पुग्यौं । तर कतै पहिचान हुन नसकेपछि फर्किएर आएको हो,’ उनले भने ।

उनले त्रिवि शिक्षण अस्पताल मात्रै होइन, सबैजसो अस्पतालमा पुगेर बेपत्ता भएकाहरूको तस्वीर टाँसेका छन् । ‘हामीले ट्रमा, वीर, किस्टसहित अस्पतालजति सबैमा टाँसेका छौं,’ उनी भन्छन्, ‘भेटिने आशा त छ नि । कतै मोबाइल नलाग्ने ठाउँतिर अड्केर बसेका छन् कि भन्ने आश त हो ।’

विदेशमा रहेका साथीका परिवारको खोजीमा तेञ्जिङ शेर्पाले पनि कुनै कसर बाँकी राखेका छैनन् । उनले आइतबारमात्रै साथीको परिवारको विवरणसहितको तस्वीर त्रिवि शिक्षण अस्पतालको भित्तामा टाँसेर फर्किए । उनका साथीका बुबा ५० वर्षीय ग्याल्साङ वाङ्दी तामाङ, आमा ४९ वर्षीया च्युन्की तामाङी, ज्वाईं निमा तेन्जेन लामा र भतिज ४ वर्षीय दोर्जे छिरिङ तामाङ बेपत्ता छन् । ‘साथी बाहिर छन् । त्यही भएर म कुदेको हो । गाउँमा सम्पर्क गर्नका लागि नेट थिएन । त्यही भएर मैले यहाँबाट सक्दो गरेको छु,’ उनी भन्छन् ।

शेर्पाका अनुसार साथीका बुबा, आमा र भतिज रसुवाका स्याफ्रुबेसीमा बस्थे । ज्वाईं भने चिलिमे हाइड्रोपावरमा थिए । तर बुधबार बिहानको बाढीपछि ४ जनासँग नै सम्पर्क हुन सकेको छैन । ‘ज्वाईं चाहिँ हाइड्रोपावरमा हुनुहुन्छ कि भन्ने आशंका छ । सबैतिर रिपोर्ट गरियो । कतैबाट केही आएन,’ उनले भने ।

बुधबार यता त्रिवि शिक्षण अस्पतालसहित काठमाडौंका धेरै अस्पतालमा बेपत्ताहरूको खोजीका लागि दैनिक धाउने आफन्तको भिड छ । बुधबार बिहान आएको बाढीमा परेर सयौंको संख्यामा बेपत्ता भएका छन् । बेपत्ताहरूको आफन्त आफ्नो मान्छे भेटिने आशमा दैनिकजसो नै अस्पताल धाउने गरेका छन् ।

४–५ दिनसम्म पनि आफ्नो मान्छे फेला नपर्दा अहिले आफन्तहरूले हराएका व्यक्तिहरूको तस्वीर अस्पतालको भित्ताभित्तामा टाँसेका छन् । एकातिर आफन्तले आफ्ना मान्छे भेटिने आशले फोटोसहितको विवरण अस्पतालको भित्तामा टाँसेका छन् भने अस्पतालले शवको पहिचानका लागि मृतकको तस्वीर भित्तामा झुण्ड्याएको अवस्था छ ।

दैनिकजसो अस्पतालमा धाउने धेरै आफन्तहरू आफ्नो मान्छे फेला नपर्दा मलिन अनुहार लगाउँदै घर फर्किन बाध्य छन् ।

तस्वीरहरू : 

 

 

लेखक
रिखिराम जिसी

जिसी अनलाइनखबरमा खेलकुद रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?