+

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

२०८३ भदौ  १६ गते १२:३५ २०८३ भदौ १६ गते १२:३५

विपद् सकिए पनि मानसिक स्वास्थ्यको काम लामो समय सकिँदैन ।  भूकम्प र कोरोना महामारीको अनुभवले पनि यो देखाएको छ ।

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मनोचिकित्सक डा. सगुन बल्लभ पन्तले विपद‍्‍मा पहिला सुरक्षा, त्यसपछि मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्ने र मनोवैज्ञानिक प्राथमिक सहयोग उपचार नभएको बताए ।
  • उनले उद्धार गरिएका व्यक्ति र बालबालिकासँग डर, त्रास नबढ्ने गरी सुन्ने, आश्वासनमा सावधानी अपनाउने र आवश्यक सेवासँग जोड्ने अभ्यास गर्नुपर्नेमा उनको जोड छ ।

बाढीले घर बगाउँछ, सम्पत्ति बगाउँछ, आफन्तसँग विछोड गराउँछ ।  त्यसको असर त्यतिमै सकिँदैन । पानीको भेल घटेपछि पनि त्यसले छाडेको डर, त्रास, अन्योल र पीडाको भेल भने मानिसको मनमा लामो समयसम्म बगिरहन सक्छ । विशेषगरी परिवार गुमाएका, सम्पत्ति गुमाएका, घाइते वा परिवारबाट छुट्टिएकाहरूमा यसको अझ गहिरो असर हुनसक्छ ।

यसको अर्थ हो उद्धार भनेको केवल मानिसलाई जोखिमपूर्ण ठाउँबाट सुरक्षित स्थानमा ल्याउनु मात्र होइन । भौतिक शरीरसँगै उसको मनलाई पनि सुरक्षित महसुस गराउनु हो ।  विपद्को तत्कालीन अवस्थामा घाइतेको शारीरिक उपचारमा बढी ध्यान जाने गरे पनि मानसिक स्वास्थ्यलाई पनि प्राथमिकतामा राख्नुपर्ने मनोचिकित्सकको भनाइ छ ।

बाढीपछि मानसिक स्वास्थ्यमा देखिन सक्ने असर, बालबालिकाको मनोवैज्ञानिक अवस्था, सञ्चारमाध्यमको संवेदनशीलता र मनोवैज्ञानिक प्राथमिक सहयोगका विषयमा मनोचिकित्सक डा. सगुन बल्लभ पन्तसँग गरिएको कुराकानी :

विपद्को समयमा मनोवैज्ञानिक प्राथमिक सहयोग भनेको के हो ?

मनोवैज्ञानिक प्राथमिक सहयोग भनेको उपचार होइन । कठिन अवस्थामा परेको व्यक्तिलाई सुरक्षित महसुस गराउने, उसको कुरा ध्यानपूर्वक सुन्ने र आवश्यक सहयोगसँग जोड्ने प्रक्रिया हो ।

मनोवैज्ञानिक प्राथमिक सहयोगलाई तीन वटा कुराबाट बुझ्न सकिन्छ—हेर्नुहोस्, सुन्नुहोस्जोड्नुहोस्

हेर्नुहोस् : व्यक्ति सुरक्षित छ कि छैन ? ऊ डराएको छ कि छैन ? अलमलिएको छ कि छैन ? परिवारबाट छुट्टिएको छ कि छैन ? उसलाई खाना, पानी, औषधि वा स्वास्थ्य सेवाको आवश्यकता छ कि छैन ? वृद्ध, बालबालिका वा अपाङ्गता भएका व्यक्ति हुन् कि होइनन् ? यी कुरा हेर्नुपर्छ।

सुन्नुहोस् : सुरुमा आफ्नो परिचय दिनुपर्छ । ‘म सहयोग गर्न आएको हुँ’, ‘तपाईंलाई अहिले के चाहिएको छ ?’, ‘म तपाईंलाई कसरी सहयोग गर्न सक्छु ?’ भनेर सोध्न सकिन्छ । व्यक्ति कुरा गर्न चाहन्छ भने शान्त भएर सुन्नुपर्छ । तर घटनाको सबै विवरण बताउन बाध्य पार्नु हुँदैन ।

जोड्नुहोस् : उसको आवश्यकता पहिचान गरिसकेपछि स्वास्थ्य सेवा, परिवार खोज्ने संयन्त्र, बाल संरक्षण सेवा, राहत वा स्थानीय तहजस्ता आवश्यक सेवासँग जोड्नुपर्छ ।

बुझ्नुपर्ने कुरा के हो भने हामी व्यक्तिको समस्याको समाधान गर्न होइन, सहयोग गर्न पुगेका हौं । विपद्‍मा पहिले सुरक्षा, त्यसपछि मानसिक स्वास्थ्य भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ ।

विपद्को समयमा मानसिक स्वास्थ्यका दृष्टिले पहिलो प्राथमिकता के हुनुपर्छ ?

 तत्कालको अवस्थामा मानिसको प्राथमिकता नै फरक हुन्छ । कहाँ बस्ने ? कहाँ सुत्ने ? के खाने ? शौचालय कहाँ जाने ? परिवार कहाँ छ ? आफन्तसँग कसरी सम्पर्क गर्ने ? जस्ता कुरा उसको तत्कालीन आवश्यकता हुन सक्छन्।

त्यसैले पहिले उसलाई सुरक्षित र स्थिर अवस्थामा ल्याउनुपर्छ । हामीले केन्द्रमा बसेर प्रभावित क्षेत्रको आवश्यकता अनुमान गर्नेभन्दा त्यहाँको वास्तविक आवश्यकता बुझ्नुपर्छ ।

शारीरिक चोटको प्रकृति केही हदसम्म अनुमान गर्न सकिन्छ, तर मनोवैज्ञानिक आवश्यकता प्रत्येक व्यक्तिको फरक हुन सक्छ । त्यसैले पहिले हेर्ने, त्यसपछि सुन्ने र आवश्यकताअनुसार सहजीकरण गर्ने हो ।

विपद्‍मा आफन्त खोजिरहेका व्यक्तिसँग कुराकानी गर्दा के कुरामा ध्यान दिनुपर्छ ?

कसैले ‘मेरो परिवार भेटिन्छ ?’ भनेर सोध्यो भने ‘पक्का भेटिन्छ’ भन्नु हुँदैन । बरु ‘मलाई अहिले यसको जानकारी छैन, तर बुझ्ने प्रयास गर्छु’ भन्न सकिन्छ । झुटो आश्वासनले तत्काल केही राहत दिएजस्तो देखिए पनि पछि त्यसले ठूलो मानसिक असर पार्न सक्छ । त्यसैले आफूलाई थाहा नभएको कुरा पक्का भएको जस्तो गरेर भन्नु हुँदैन ।

हाम्रो संवाद यस्तो हुनुपर्छ, जसले न अनावश्यक आशा जगाओस्, न अनावश्यक त्रास सिर्जना गरोस् ।

उद्धार गरेर ल्याइएको व्यक्तिलाई तत्काल कस्तो व्यवहार गर्नु उचित हुन्छ ? 

उद्धार भएर आएको व्यक्ति शारीरिक रूपमा घाइते मात्र होइन, मानसिक रूपमा पनि अस्थिर हुनसक्छ । त्यसैले घटनाको विवरण सोध्नु पहिलो प्राथमिकता होइन । पहिले उसको अवस्था हेर्नुपर्छ ऊ डराएको छ कि छैन, अलमलिएको छ कि छैन, परिवारबाट छुट्टिएको छ कि छैन, खाना–पानी वा औषधिको आवश्यकता छ कि छैन । त्यसपछि ‘तपाईंलाई अहिले के आवश्यकता छ ?’ वा ‘म तपाईंलाई कसरी सहयोग गर्न सक्छु ?’ भनेर सोध्न सकिन्छ ।

व्यक्तिले आफ्नो कुरा भन्न चाहन्छ भने ध्यान दिएर सुन्नुपर्छ । तर ‘घटना कसरी भयो ?’, ‘कहाँ हुनुहुन्थ्यो ?’, ‘कसरी बाँच्नुभयो ?’ भन्दै घटनाको विवरण निकाल्न खोज्नु हुँदैन । यसरी घटनालाई बारम्बार सम्झाउन खोज्दा व्यक्तिलाई घटना फेरि दोहोरिएजस्तो महसुस हुन सक्छ । त्यसले डराउने, आत्तिने र झस्किने हुन सक्छ ।

बालबालिकाको हकमा मनोवैज्ञानिक प्राथमिक सहयोग कसरी गर्ने ?

विपद्का बेला बालबालिकाको प्रतिक्रिया वयस्कको भन्दा फरक हुन सक्छ । उनीहरू धेरै नबोल्ने, चुप लागेर बस्ने वा उल्टै धेरै बोल्ने, डराउने, आमाबुबालाई छोड्न नचाहने, राति सुत्न नसक्ने, नराम्रो सपना देख्ने, रुन थाल्नेजस्ता लक्षण देखाउन सक्छन् । त्यसैले बालबालिकासँग व्यवहार गर्दा थप संवेदनशील हुनुपर्छ ।

उद्धारका क्रममा बच्चालाई ‘तिमी नडराऊ’ मात्र भन्नुभन्दा ‘अहिले तिमी सुरक्षित ठाउँमा छौ, हामी छौँ’ भन्नु राम्रो हुन्छ । सुरुमा आफू को हो भनेर परिचय दिनुपर्छ । त्यसपछि बच्चाको अभिभावक वा विश्वासिलो हेरचाहकर्ता को हो भन्ने पहिचान गरी उनीहरूसँग जोड्नुपर्छ ।

बच्चाले आफैं बताउन चाह्यो भने उसका कुरा सुन्नुपर्छ तर उसले बताउन चाहेन भने जबरजस्ती विपदबारे सोध्नु हुँदैन । ‘के भयो ?’, ‘कसरी भयो ?’, ‘तिम्रो अनुभव कस्तो थियो ?’ भनेर पटक–पटक प्रश्न गर्दा बच्चामा घटनाको झझल्को फेरि आउन सक्छ ।

बरु ‘तिमी यहाँ सुरक्षित छौ’, ‘तिमीलाई के चाहिएको छ ?’, ‘के खान मन छ ?’ जस्ता प्रश्न गर्नु उपयुक्त हुन्छ । बालबालिकालाई खेल्ने, चित्र बनाउने, कोर्ने तथा सामान्य गतिविधिमा सहभागी गराउन प्रोत्साहित गर्नुपर्छ । यसले उनीहरूलाई बिस्तारै सामान्य अवस्थामा फर्किन सहयोग गर्छ ।

परिवार हराएको अवस्थाका बच्चासँग कसरी कुरा गर्ने ?

निश्चित जानकारी नभएको अवस्थामा ‘तिम्रो आमा पक्कै आउनुहुन्छ’ भन्नु हुँदैन । बच्चाले ‘मेरो आमा भेटिन्छिन्?’ भनेर सोध्यो भने ‘मलाई अहिले निश्चित जानकारी छैन, तर म बुझ्ने प्रयास गर्छु’ भन्न सकिन्छ ।

बालबालिकालाई सुरक्षित स्थानमा राख्ने, उसको आवश्यकताअनुसार खाना, पानीको व्यवस्था गर्ने र अभिभावक वा विश्वासिलो हेरचाहकर्तासँग जोड्ने काम प्राथमिकतामा हुनुपर्छ ।

विपद्पछि  कस्तो मानसिक रोगको सम्भावना हुन्छ ?

विपद्पछि सबैलाई डिप्रेसन वा एन्जाइटी भएको हुँदैन । विपद्को तत्कालीन अवस्थामा डर, भय, अन्योल, छटपटी, निराशा जस्ता प्रतिक्रिया धेरै मानिसमा देखिन सक्छन् । तर त्यसको अर्थ सबैलाई मानसिक रोग लागेको हो भन्ने होइन । समय बित्दै जाँदा मात्र केही व्यक्तिमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या विकसित हुनसक्छ ।

विपद्को मानसिक कहिलेसम्म रहन्छ ?

विपद्को मानसिक असर लामो समयसम्म रहन सक्छ । सुरुवाती चरणमा एक्युट स्ट्रेस डिसअर्डरजस्ता लक्षण देखिन सक्छन् । व्यक्ति अत्यन्तै अन्योलमा पर्ने, डराउने, झस्किने, राति सुत्न नसक्ने, फेरि त्यस्तै घटना होला कि भन्ने त्रास हुने अवस्था देखिन सक्छ ।

समय बित्दै जाँदा नैराश्यता, दिग्दारीपन, डिप्रेसन र एन्जाइटीका लक्षण देखिन सक्छन् । अझ केही व्यक्तिमा पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर देखिन सक्छ । आघातजन्य घटना बारम्बार सम्झना आइरहने, घटना दोहोरिएजस्तो महसुस हुने, झस्किने, तर्सिने र सामान्य जीवनमा फर्किन कठिन हुने अवस्था आउन सक्छ । डिप्रेसन, एन्जाइटीसँगै कतिपय अवस्थामा साइकोसिसजस्ता समस्या पनि देखिन सक्छन् ।

विपद्को तत्कालीन अवस्थामा मानिसको ध्यान जीवन बचाउने र आफन्त खोज्नेमा केन्द्रित हुन्छ । तर बिस्तारै गास, बास र सुरक्षाको अवस्था स्थिर हुँदै गएपछि आफूले गुमाएको कुरा महसुस हुन थाल्छ । घर गुमाएको, सम्पत्ति गुमाएको, परिवारका सदस्य गुमाएको वा रोजगारी तथा जीवनशैली गुमाएको पीडा त्यसपछि गहिरिन सक्छ ।

शारीरिक रूपमा अंगभंग भएका, टाउकोमा चोट लागेका वा अपाङ्गता हुने किसिमका चोट भएका व्यक्तिमा पनि आफ्नो जीवन, परिवार र कामकाजबाट अलग भएको अनुभूतिले मानसिक असहजता बढाउन सक्छ । त्यसैले मानसिक स्वास्थ्य सहयोग उद्धारको समयबाट सुरु भए पनि यसको आवश्यकता दीर्घकालीन हुन सक्छ ।

पहिलेदेखि मानसिक समस्या भएकाहरूको के हुन्छ ? 

पहिलेदेखि मानसिक समस्या भएकालाई थप जोखिम रहन्छ । विपद्को असर पहिलेदेखि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा अझ गम्भीर हुन सक्छ । नियमित औषधि सेवन गरिरहेका व्यक्तिको औषधि बाढीमा बग्न सक्छ वा उपचार रोकिएको हुनसक्छ । यस्तो अवस्थामा पहिलाको मानसिक स्वास्थ्य समस्या पुनः दोहोरिन सक्छ ।

त्यस्तै, तनाव कम गर्ने नाममा रक्सी वा अन्य पदार्थको प्रयोग बढ्ने जोखिम पनि रहन्छ । त्यसैले राहत तथा पुनर्स्थापनासँगै नियमित मानसिक स्वास्थ्य उपचार र औषधिको निरन्तरतामा पनि ध्यान दिनुपर्छ ।

विपद्को असर घटनास्थलमा मात्र हुन्छ कि टाढा रहेका आफन्तमा पनि पर्न सक्छ ?

विपद्को असर ‘ग्राउन्ड जिरो’मा रहेका व्यक्तिमा मात्र सीमित हुँदैन । प्रभावित क्षेत्रमा परिवार वा सम्पत्ति भएका तर काठमाडौं वा विदेशमा रहेका व्यक्तिमा पनि डर, त्रास, अन्योल र तनाव देखिन सक्छ ।

हामीले काठमाडौंमा पनि यस्तो प्रभाव देखिरहेका छौँ । उदाहरणका लागि, रसुवामा परिवार वा सम्पत्ति भएका तर काठमाडौंमा बसिरहेका व्यक्तिले सामाजिक सञ्जाल, भिडियो वा समाचारमार्फत विपद्को दृश्य निरन्तर हेरिरहेका हुन्छन् । त्यसले उनीहरूमा पनि डर, त्रास र मानसिक तनाव बढाउन सक्छ ।

त्यसैले मानसिक स्वास्थ्यको दृष्टिले विपद्को प्रत्यक्ष प्रभावमा परेका व्यक्तिलाई मात्र होइन, विपद्सँग भावनात्मक रूपमा जोडिएका मानिसलाई पनि ध्यान दिनुपर्छ ।

कस्तो अवस्थामा मानसिक स्वास्थ्य विशेषज्ञको सहयोग आवश्यक पर्छ ?

सबैलाई तत्काल मनोचिकित्सकको आवश्यकता पर्दैन । विपद्पछि डर, त्रास, अन्योल वा छटपटी देखिनु सामान्य प्रतिक्रिया पनि हुन सक्छ । तर व्यक्तिको व्यवहारमा गम्भीर परिवर्तन देखिन थालेमा भने विशेषज्ञको सहयोग लिन ढिला गर्नु हुँदैन ।

जस्तो, व्यक्ति अत्यन्तै असामान्य व्यवहार गरिरहेको छ, रातभरि सुत्न सकेको छैन, अत्यधिक आक्रामक भएको छ, आत्महत्या गर्ने वा आफूलाई हानि पुर्याउने कुरा गरिरहेको छ भने तुरुन्त मानसिक स्वास्थ्य विशेषज्ञसँग समन्वय गर्नुपर्छ ।

त्यस्तै, एक्लै बोल्ने, बर्बराउने, बाटोमा एक्लै बर्बराउँदै हिँड्ने, कसैसँग पनि अन्तरक्रिया नगर्ने, क्याम्प वा शिविरमा एक्लिएर घोरिएर बस्ने वा उसको सामान्य व्यक्तित्वमै ठूलो परिवर्तन आएको देखिएमा पनि त्यसलाई सामान्य मानेर छोड्नु हुँदैन । यस्ता व्यक्तिलाई तत्काल मानसिक स्वास्थ्य सेवासँग जोड्नुपर्छ ।

प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य विशेषज्ञ उपलब्ध छैनन् भने के गर्ने ?

प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य विशेषज्ञ उपलब्ध नभए स्थानीय स्वास्थ्यकर्मीले ठूला अस्पताल तथा मानसिक स्वास्थ्य विशेषज्ञसँग समन्वय गर्न सक्छन् । त्यसका लागि टेलि–साइकियाट्री एउटा उपयोगी विकल्प हुनसक्छ । स्थानीय स्वास्थ्यकर्मीले आवश्यक जानकारी लिएर काठमाडौं वा अन्य ठाउँमा रहेका मानसिक स्वास्थ्य विशेषज्ञसँग समन्वय गरी आवश्यक परामर्श र सहयोग लिन सक्छन् ।

अहिले प्रभावित क्षेत्रका मानिसहरू मानसिक स्वास्थ्य समस्या लिएर अस्पतालमा अपेक्षित रूपमा नआएको पनि हुनसक्छ । त्यसको अर्थ उनीहरूमा मानसिक स्वास्थ्यको समस्या छैन भन्ने होइन ।

अहिले उनीहरूको प्राथमिकता नै फरक छ । कोही आफ्नो परिवार खोजिरहेका छन्, कोही आफन्तको अवस्था बुझिरहेका छन्, कोही सुरक्षित ठाउँ खोजिरहेका छन् । कतिपयले परिवारका सदस्य गुमाएपछि अस्पतालमा समेत आफन्तको शव वा जीवित व्यक्तिको खोजी गरिरहेका हुन सक्छन् । त्यसैले मानसिक स्वास्थ्य समस्या पछि सतहमा आउने सम्भावना हुन्छ ।

नेपालमा तत्काल मनोसामाजिक सहयोग आवश्यक परे कहाँ सम्पर्क गर्न सकिन्छ ?

नेपाल सरकारले राष्ट्रिय आत्महत्या निवारण हेल्पलाइन ११६६ सञ्चालन गरिरहेको छ । अहिले यसलाई मनोसामाजिक सहयोगका लागि पनि प्रयोग गर्न सकिने गरी समेटिएको छ । मानसिक रूपमा समस्या वा संकटमा रहेका व्यक्तिले आवश्यकताअनुसार ११६६ मा सम्पर्क गरेर सहयोग लिन सक्छन् ।

त्यससँगै, प्रभावित स्थानीय तहले आफ्नो क्षेत्रमा उपलब्ध मानसिक स्वास्थ्य स्रोतको पहिचान र म्यापिङ गर्न आवश्यक छ । कहाँ मानसिक स्वास्थ्य विशेषज्ञ छन्? कसले तत्काल सहयोग गर्न सक्छ? कुन स्वास्थ्य संस्थामा सेवा उपलब्ध छ? कहाँ टेलि–साइकियाट्रीको आवश्यकता पर्छ? यस्ता कुराको पहिचान गर्नुपर्छ ।

आवश्यकता भए संघीय तहसँग समन्वय गरेर विशेषज्ञ खटाउने, टेलि–साइकियाट्रीमार्फत सेवा उपलब्ध गराउने तथा स्वास्थ्यकर्मी, स्वयंसेवक र पहिलो प्रतिक्रियाकर्तालाई मनोवैज्ञानिक प्राथमिक सहयोगसम्बन्धी तालिम दिने व्यवस्था गर्नुपर्छ ।

विपद्को समयमा आम मानिसले के-के कुरा ध्यान दिने ?

मनोवैज्ञानिक प्राथमिक सहयोगका लागि विशेषज्ञ नै हुनुपर्छ भन्ने छैन । पहिलो प्रतिक्रियाकर्ता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवक, परिवारका सदस्य वा समुदायका मानिसले पनि आधारभूत सहयोग गर्न सक्छन् । तर गम्भीर मानसिक स्वास्थ्यका लक्षण देखिएका व्यक्तिलाई भने समयमै विशेषज्ञको सहयोग आवश्यक हुन्छ ।

अर्को महत्त्वपूर्ण कुरा, विपद् सकिए पनि मानसिक स्वास्थ्यको काम लामो समय सकिँदैन ।  भूकम्प र कोरोना महामारीको अनुभवले पनि विपद्पछि मानसिक स्वास्थ्य सहयोग दीर्घकालीन रूपमा आवश्यक हुने देखाएको छ ।

जति–जति भौतिक संरचना स्थिर हुँदै जान्छन्, गास, बास र कपासको व्यवस्था हुँदै जान्छ, त्यति–त्यति मानिसले आफूले गुमाएको कुरा महसुस गर्न थाल्न सक्छ । त्यसपछि नयाँ किसिमका मानसिक स्वास्थ्य चुनौतीहरू देखा पर्न सक्छन् । त्यसैले राहत, पुनर्स्थापना र पुनर्निर्माणसँगै मानसिक स्वास्थ्य सेवालाई पनि दीर्घकालीन योजनामा राख्नुपर्छ ।

मानसिक स्वास्थ्य रसुवा बाढी विपद्
लेखक
सुमित्रा लुइटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

‘विपद्‍मा उद्धारसँगै मानसिक स्वास्थ्यमा पनि ध्यान दिनुपर्छ’

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

प्रधानमन्त्री राहत कोषमा अन्नपूर्ण न्युरो अस्पतालको ३० लाख सहयोग

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

विपद्को घडीमा मन सम्हाल्ने सहारा : मनोवैज्ञानिक प्राथमिक सहायता

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?

बाढीपछि देखिन सक्ने अर्को संकट : रोगको प्रकोप रोक्ने जिम्मेवारी कसको ?

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

बाढीबाट घाइतेलाई नेपाल रेडक्रस सोसाइटीले निःशुल्क रगत उपलब्ध गराउने

अस्पतालको शय्यामा सुजल : अन्धकार छ मृत्युको मुखबाट फर्किएको संसार

अस्पतालको शय्यामा सुजल : अन्धकार छ मृत्युको मुखबाट फर्किएको संसार