+
+
Shares
खिमलाल गौतमसँग वार्ता :

‘हिउँ पग्लिँदै छ, हिमनदीहरू रोगी भइरहेका छन्’

'सगरमाथा आधार शिविर सार्नुपर्ने अवस्था आउनसक्छ'

पिसाबको उदाहरण त एउटा सानो दृष्टान्त मात्र हो। यसले कति सानो मानवीय गतिविधिले पनि हिमाली वातावरणमा कत्तिको ठूलो असर पारिरहेको छ भन्ने देखाउँछ। म त के भन्छु भने, हाम्रा कारणले गर्दा हाम्रा हिमनदीहरू ‘रोगी’ भइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १९:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवामा हिमचट्टान खसेर आएको बाढीले ठूलो जनधनको क्षति गराएको छ र खोज उद्धार जारी छ।
  • खिमलाल गौतमसहित छ जना अनुसन्धानकर्ताको अध्ययनले सगरमाथा आधार शिविरमा मानिसको पिसाबले पनि हिउँ पग्लिने देखाएको छ।
  • अध्ययनले सन् १९९१ देखि २०२३ सम्म आधार शिविर वरिपरि सतहको तापक्रम प्रतिवर्ष ०.२८ डिग्री सेल्सियसले बढेको देखाएको छ।

रसु्वामा हिमचट्टान खसेर आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । खोज उद्धारको काम जारी छ । ठूलो मानवीय र भौतिक क्षतिसँग मात्र होइन अहिले संसारभर हिमाल र जलवायुको विषय पनि थप बहसमा आएको छ । हिमालबाट अहिलेसम्मकै ठूलो विपत्ति निम्त्याउने खालको घटना भएपछि नेपालका हिमाल र हिउँहरूको अवस्थाबारे थप चासो बढेको हो । जलवायु परिवर्तनका कारण हिमाल पग्लँदै गएको विभिन्न अध्ययनहरूले पटकपटक पुष्टि गर्दै आएका छन् ।अहिले प्राविधिक साधनहरूको सुविधाका कारण हिमाल आरोहण क्रम पनि बढेको छ । हिमालमा मानव गतिविधिहरू धेरै बढेका छन् ।

यसैसन्दर्भमा चार जना नेपाली र दुईजना विदेशीहरूले हिमाल पग्लिनुमा मानवीय कारणहरू के कति छन् भन्ने विषयमा गरेको एउटा नयाँ अनुसन्धान केही महिना अघि अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएको छ । यो जर्नलले मान्छेको पिसाबका कारण पनि हिउँ पग्लिने तथ्य पत्ता लगाएको छ ।

अनुसन्धानकर्ता खिमलाल गौतम, भर्जिनिया ब्रकेट,जर्ज जियान, महेश थापा, अनिश दाहाल र सुदीप ठकुरीले सन् २०२३ को बसन्त ऋतुमा सगरमाथा आधार शिविरमा संकलन गरेको तथ्यहरूको आधारमा अध्ययन गरेका थिए । अध्ययनमा हिमनदी पग्लिनुमा योगदान पुर्‍याउने तीन प्रमुख पक्षमा विश्वव्यापी जलवायु परिवर्तन, स्थानीय रूपमा जीवाश्म इन्धनको प्रयोग, र मानिसको पिसाबजन्य विसर्जन मा केन्द्रित थियो । उक्त अध्ययनमा सन् २०२३ को वसन्त ऋतुमा सगरमाथि आधार शिविरमा यी गतिविधिहरूबाट निस्किएको कुल तापीय ऊर्जा ८४९,१७४ ± १७९,७७४ मेगाजुल रहेको अनुमान गरिएको छ। यो ऊर्जा २,४९२ ± ५२८ टन हिमनदीको बरफ तथा हिउँ पगाल्न पर्याप्त हुने देखिएको छ।

उनीहरूका अनुसार १९९१ देखि २०२३ सम्म सगरमाथा आधार शिविर तथा यसको आसपासका क्षेत्रको सतहको तापक्रममा प्रतिवर्ष ०.२८ °C का दरले बढेको देखाउँछ। यो दर आधार शिविर नजिकै रहेको खुम्बु हिमनदीको सतहमा भएको तापक्रम वृद्धिको दरभन्दा करिब दोब्बर थियो। साथै, आधार शिविरको ठीक उत्तरतर्फ रहेको भग्नवशेषले ढाकिएको भूभागको तापक्रम वृद्धिभन्दा यो दर करिब १५ प्रतिशत बढी थियो। यी निष्कर्षहरूले मानवीय गतिविधिबाट उत्पन्न हुने यस्ता प्रभावलाई सम्बोधन गर्न सकेमा खुम्बु हिमनदीको संरक्षण गर्न र यस क्षेत्रमा पर्वतारोहणको दीगो भविष्य सुनिश्चित गर्न सहयोग पुग्न सक्ने देखाउने उनीहरूको निष्कर्ष छ ।

यसै सन्दर्भमा यो अनुसन्धान टोलीका एक अनुसन्धानकर्ता खिमलाल गौतमसँग अनलाइनखबरका दुर्गा खनालले गरेको कुराकानी :

तपाईं हिमाल र हिउँको निरन्तर अध्ययन-अनुसन्धान गरिरहनुभएको छ । भर्खरै तपाईं, केही वैज्ञानिकहरू र विशेषज्ञहरू मिलेर हिमाल कसरी पग्लिइरहेको छ भनेर एउटा अनुसन्धानात्मक रिसर्च पेपर पनि प्रकाशित गर्नुभएको छ । भर्खरै रसुवामा हिमपहिरोका कारण आएको बाढीले ठूलो विपत्ति निम्त्याएको छ। नेपालका हिमालभित्र के भइरहेको छ, हिउँको अवस्था कस्तो छ ?

मूलतः हाम्रो मुख्य विषय ‘ग्लासियोलोजी’ वा ‘क्रायोस्फियर साइन्स’ नै त होइन, तर हामी जिओस्पेसियल साइन्समा काम गर्ने भएकै कारण यस क्षेत्रमा जोडिएका हौँ।

मेरो आफ्नै कुरा गर्दा, विगत १५ वर्षदेखि म सगरमाथा तथा त्यसको आधार शिविर सँग निरन्तर जोडिएको छु। यस क्रममा मैले कहिले आरोही, कहिले उचाइ मापन गर्ने प्राविधिक र कहिले सम्पर्क अधिकृतको रूपमा विभिन्न भूमिका निर्वाह गरेको छु।

सन् २०२६ सम्मको हिसाब गर्दा, दुई पटकको सगरमाथा आरोहण र सम्पर्क अधिकृतका रूपमा आधार शिविरमा बिताएको समय जोड्दा म ३६५ दिनभन्दा बढी समय हिमालमै बसिसकेको छु।

मैले हिमाललाई निकै नजिकबाट नियाल्ने मौका पाएको छु। सन् २०११ मा म पहिलोपटक सगरमाथा आधार शिविर पुग्दाको अवस्था र पछिल्लो पटक कोभिड-१९ पछि पुग्दाको अवस्थामा निकै ठूलो अन्तर देखेँ।

पहिले-पहिले एभरेस्ट बेसक्याम्पमा ‘आइस सेराक’ भनिने हिउँका ठूलठूला ढिस्का र थुम्काहरू हुन्थे, जसले गर्दा बेसक्याम्पको एउटा छेउबाट अर्को छेउ स्पष्ट देखिँदैनथ्यो। तर अहिले ती थुम्काहरू हराइसकेका छन् र बेसक्याम्पको एउटा कुनाबाट अर्को कुना सजिलै देख्न सकिन्छ।

त्यसैगरी खुम्बु ग्लेसियरको तल्लो भागमा पहिले साना-साना हिमाली वनस्पति/बिरुवाहरू तल्लो तटीय क्षेत्रसम्म देखिन्थे। तर अहिले ती वनस्पतिहरू बिस्तारै माथि-माथि सर्दै गएका छन्।

यसलाई हामी ‘ग्लेसियर रिट्रिटिङ’ अर्थात् हिमरेखा माथि सर्दै गएको अवस्था भन्छौँ। स्थानीय स्तरमा अध्ययन गर्दा यस्तो स्पष्ट देखिन्छ।

अर्कातर्फ, सन् २००८ मा चीनमा ओलम्पिक भएपछि र विशेष गरी २०१० देखि सगरमाथा आरोहणमा व्यापारिक टोलीहरूको आकर्षण र आरोहीहरूको सङ्ख्या असाध्यै तीव्र रूपमा बढेर गयो।

हामीले हिमाल पग्लिनुमा ‘ग्लोबल वार्मिङ’ (जलवायु परिवर्तन/विश्वव्यापी उष्णता) लाई मुख्य कारण मान्दै आएका छौँ, जुन सही पनि हो । किनभने, सन् १९५० यताको तथ्याङ्क हेर्दा संसारका अन्य क्षेत्रको तुलनामा हिमाली क्षेत्र र आर्क्टिक क्षेत्रमा ग्लोबल वार्मिङको असर ५० प्रतिशत बढी देखिएको कुरा वैज्ञानिक शोधहरूले पुष्टि गरिसकेका छन्।

हिमाली क्षेत्रमा ग्लोबल वार्मिङको असरबारे त अनुसन्धानहरू प्रकाशित भइनै रहेका छन्। तर, यसलाई फरक कोणबाट हेर्दा मानवीय गतिविधिका कारण कस्तो असर परिरहेको रहेछ भनेर तपाईंहरूले अध्ययन गर्नुभयो । यो अध्ययनका मुख्य निष्कर्ष के-के हुन्? मानवीय कुन-कुन गतिविधिले हिउँ र हिमाललाई असर पारिरहेका छन् ?

मुख्यतः यो अध्ययन हामीले विभिन्न तथ्याङ्क र प्रत्यक्ष स्थलगत अवलोकनका आधारमा गरेका हौँ । कतिपय डेटा हामीले सोझै आधार शिविरबाट सङ्कलन गर्‍यौँ भने कतिपय भूउपग्रहका तस्बिरहरू मार्फत अप्रत्यक्ष विधिबाट अध्ययन गरेका छौँ।

हामीले यस अनुसन्धानमा मुख्य गरी तीनवटा विषयलाई केन्द्रित गरेका छौँ। आधार शिविर र हिमालमा भइरहेको परिवर्तनको पहिलो कारण त ग्लोबल वार्मिङ नै भइहाल्यो।

दोस्रो कारण, स्थानीय स्तरमा प्रयोग हुने ‘जीवाश्म इन्धन’ हो। त्यहाँ मानिसहरू बस्दा वा खाना पकाउँदा प्रयोग हुने मट्टितेल, डिजेल, पेट्रोल र विभिन्न इन्जिनहरू चल्दा निस्कने धुवाँ-तापले असर पारिरहेको छ।

तेस्रो र अलि रोचक कारण चाहिँ मानव मूत्र हो। अध्ययनका क्रममा ‘पिसाबको हिसाब निकाल्न सकिन्छ कि सकिँदैन ?’ भनेर हेर्दा निकै गाह्रो भयो। प्रत्येक मानिसले दिनमा कति पिसाब फेर्छ भनेर नाप्ने कुरो पनि भएन। मानिसले जति धेरै पानी पिउँछ, पिसाबको मात्रा पनि त्यति नै बढी हुन्छ।

पिसाबले हिउँ वा हिमाललाई कसरी र कस्तो असर पार्दो रहेछ?

पिसाबको मात्रा वा प्रभावको कुरा गर्ने हो भने, समग्र हिमालको तुलनामा यो असाध्यै न्यून नै देखिन्छ। तर पनि हाम्रो अनुसन्धान अनुसार, एकै सिजनमा आधार शिविरमा करिब १५४ टन (अर्थात् १ लाख ५४ हजार किलोग्राम) पिसाब उत्सर्जन हुने देखिन्छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘द न्यूयोर्क टाइम्स’ ले पनि हाम्रो यस अध्ययनलाई निकै राम्रोसँग कभर गरेको थियो । इन्धन, एलपीजी ग्याँस, डिजेल र पेट्रोलको तुलनामा यो मात्रा सानो र नगण्य जस्तो देखिए पनि यसको आफ्नै प्रभाव छ।

आधार शिविरमा मानिसहरूले दिसा त ‘ब्लु ब्यारेल’ मा सङ्कलन गरेर ल्याउँछन्, तर पिसाब भने सबैले बाहिर ग्लेसियरमै गर्छन् ।

अर्को कुरा, तल्लो क्षेत्रमा मानिसले सामान्यतया दैनिक ३ लिटर जति पानी पिउँछन् भने माथि आधार शिविरमा त्यतिले पुग्दैन। त्यहाँ हावा सुक्खा हुने भएकाले शरीर छिटो ‘डिहाइड्रेट’ हुन्छ।

त्यसैले उच्च उचाइमा स्वस्थ रहन र ‘अल्टिच्युड सिक्नेस’ (लेक लाग्ने समस्या) बाट बच्न धेरै पानी पिउनुपर्ने हुन्छ, जसले गर्दा पिसाबको मात्रा पनि बढ्छ।

माथि उच्च उचाइमा मानिसले सामान्यतया दिनमा कम्तिमा चार-पाँच लिटर पानी पिउनै पर्छ। शरीरमा जति पानी प्रवेश हुन्छ सोही अनुसार नै बाहिर निस्किने हो। त्यसैले माथि पिसाबको उत्सर्जन पनि बढी हुन्छ।

यसअघि सन् २०१८ मा विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले ५,००० मिटरभन्दा माथिको उचाइमा गरेका अध्ययनहरूसमेत हेरेका थियौँ। अध्ययनका क्रममा पुरुष र महिलाको पिसाबको मात्रामा पनि भिन्नता पाइयो।

महिलाहरूले पुरुषको तुलनामा दैनिक करिब १ लिटर बढी पिसाब उत्सर्जन गर्दा रहेछन् । यसको सटीक जैविक कारण के हो भन्ने स्पष्ट नभए पनि यो एउटा चाखलाग्दो तथ्य देखियो।

यसलाई वैज्ञानिक तथ्याङ्कमा ढाल्न सकिन्छ कि सकिँदैन भनेर काम गर्दा हामीलाई निकै समय लाग्यो। किनभने विज्ञानमा हवाइ कुरा गरेर पुग्दैन, हरेक कुराको फर्मुला र पछाडिको कारण दिनुपर्छ। यस अध्ययनको नेतृत्व मैले नै गरेको थिएँ। पछि साथीहरूसँग सल्लाह गरेर, यो सम्भव छ भन्ने निष्कर्षमा पुगेपछि ड्राफ्ट तयार गरी रिपोर्टका रूपमा अगाडि बढाएका हौँ।

के पिसाबको तातोपनाले गर्दा हिउँ पग्लिने हो ?

पिसाबमा हुने अन्य रासायनिक तत्त्वहरूको त हामीले परीक्षण गरेनौँ, तर मुख्य प्रभाव तापक्रम र तरल रूपकै हुन्छ।

सामान्यतया पिसाबमा ‘युरिक एसिड’ वा अन्य एसिडिक तत्त्व हुन्छन् र शरीरका विकारहरू त्यसरी नै बाहिर जान्छन् भन्ने त छ । तर, ती एसिडले हिउँमा पार्ने थप प्रभावबारे भने हामीले गहन अध्ययन गर्न सकेनौँ, किनकि त्यसका लागि थप समय र अनुसन्धान आवश्यक पर्छ।

पिसाबको तापक्रम मानिसको शरीरकै तापक्रम सरह अर्थात् करिब ३७ डिग्री सेल्सियस हुन्छ। जब ३७ डिग्रीको त्यो तातो पिसाब आधार शिविरको हिउँ वा ‘मोरेन’ मा खस्छ, त्यसले त्यहाँको वातावरणसँग ‘इन्टरयाक्ट’ (प्रतिक्रिया) गर्छ।

आधार शिविर र हिमनदी को तापक्रम शून्यभन्दा तल हुने गर्छ । जब त्यति माइनस तापक्रम भएको ठाउँमा ३७ डिग्रीको तरल पदार्थ पुग्छ, त्यसको केही भाग वाष्पीकरण भएर वायुमण्डलमा जान्छ भने बाँकी भागले हिउँ पगाल्न पक्कै पनि केही न केही भूमिका खेल्छ ।

अन्य ठूला कारकहरूसँग तुलना गर्दा यो मात्रा सानो र नगण्य देखिए पनि यसको असर भने निश्चित रूपमा छ। त्यसैले तथ्याङ्कीय रूपमा ठूलो नदेखिए पनि विषयवस्तुका हिसाबले यो आफैँमा निकै महत्त्वपूर्ण र चाखलाग्दो निष्कर्ष हो।

आधार शिविरमा दिसा जस्तै पिसाबलाई पनि सङ्कलन गरेर तल ल्याउने खालको कुनै प्रोटोकल वा व्यवस्था छैन ?

अहिलेसम्म त्यस्तो कुनै प्रोटोकल छैन र संसारका अन्य कुनै हिमाली क्षेत्रमा पनि यस्तो व्यवस्था छ जस्तो मलाई लाग्दैन।

हाम्रो यो अनुसन्धान प्रकाशित हुनुअघि आधार शिविर नपुगेका वा यसबारे जानकारी नभएका आम मानिसहरूमा ‘आरोहीहरूले दिसा-पिसाब दुवै भाँडामै गर्छन्’ भन्ने भ्रम थियो। यहाँसम्म कि हाम्रा सह-लेखककी वैज्ञानिक भर्जिनिया बर्केटले पनि सुरुमा ‘पिसाब पनि ब्लु ब्यारेलमै सङ्कलन गरिन्छ होला नि’ भन्नुभएको थियो। तर मैले उहाँलाई त्यो गलत हो भनेर प्रस्ट पारेँ। किनकि म वर्षौँदेखि त्यहीँ काम गरिरहेको छु र मलाई त्यहाँको वास्तविकता थाहा छ।

आधार शिविरबाट फोहोर तल ल्याउँदा तौल अनुसार पैसा तिर्नुपर्छ। यदि पिसाब पनि भाँडामै सङ्कलन गर्ने हो भने त तौल अत्यधिक बढेर जान्छ। त्यसैले पिसाब भने बाहिर हिउँ वा ग्लेसियरमै फेर्ने चलन छ, र यसैको वातावरणीय प्रभावबारे हामीले अध्ययनमार्फत देखाएका हौँ।

तपाईंहरूले वैज्ञानिक रूपमै यो निष्कर्ष निकालिसकेपछि अब पिसाबलाई पनि सङ्कलन गरेर तल ल्याउने वा अन्य कुनै व्यवस्था गर्नुपर्ने देखिन्छ। यस विषयमा तपाईंहरूको सुझाव वा सिफारिस के छ?

अनुसन्धानकर्ताहरूले सामान्यतया नीतिगत सिफारिस नै भनेर दाबी गर्दैनन्।

हाम्रो काम त वास्तविकता के हो भनेर बाटो देखाइदिने मात्र हो। अनुसन्धानको आचारसंहिताले नीति निर्माताहरूलाई ‘यस्तै गर’ भनेर दबाब दिन मिल्दैन।

हामीले सगरमाथा आधार शिविरको सन्दर्भमा ‘यदि आवश्यकता परेमा आधार शिविर स्थानान्तरण गर्नुपर्ने हुन सक्छ’ भनेर समेत सङ्केत गरेका छौँ। तपाईंले हाम्रो अनुसन्धान पत्रको सारसंक्षेपका अन्तिम तीन लाइन पढ्नुभयो भने पनि यो कुरा स्पष्ट हुन्छ।

हामीले तथ्य प्रस्तुत गरिदिएका छौँ, अब त्यसलाई कसरी कार्यान्वयनमा लैजाने भन्ने कुरा नीति निर्माता र राजनीतिज्ञहरूको हातमा छ। अनुसन्धानकर्ताले यो गर्नैपर्छ भनेर आदेश दिने होइन।

अनुसन्धानकर्ताको काम त विषयवस्तुको प्रभाव र असर कस्तो छ भनेर देखाउनेसम्म मात्रै हो।

पिसाबको उदाहरण त एउटा सानो दृष्टान्त मात्र हो। यसले कति सानो मानवीय गतिविधिले पनि हिमाली वातावरणमा कत्तिको ठूलो असर पारिरहेको छ भन्ने देखाउँछ। म त के भन्छु भने, हाम्रा कारणले गर्दा हाम्रा हिमनदीहरू ‘रोगी’ भइरहेका छन् ।

हामीले अपेक्षा गरेभन्दा निकै तीव्र गतिमा हिउँ र हिमनदीहरू पघ्लिरहेका छन्, जसको परिणाम हामीले भर्खरै पनि देख्यौँ।

हामीले त सगरमाथा आधार शिविरको करिब ३० हेक्टरको सानो क्षेत्रमा मात्र यो अध्ययन गरेका हौँ। तर यसको व्यापकता लाई वृहत् रूपमा हेर्ने हो भने, यसले हाम्रा ससाना ‘ह्युमन फुटप्रिन्ट’ (मानवीय गतिविधि) ले हिमाली पारिस्थितिक प्रणालीमा कतिसम्म असर पारिरहेका छन् भन्ने स्पष्ट पार्छ। यो अनुसन्धानले हिमाली वातावरण जोगाउन अब थप ठोस कदम चाल्न अति आवश्यक भइसकेको सन्देश दिएको छ।

हिमालका हिउँहरू पग्लेकै कारण भर्खरै रसुवामा आएको बाढी-पहिरोको दृश्य हामीले देख्यौँ। नेपालका अन्य हिमाली क्षेत्रहरूमा पनि यस्ता खालका विपत्ति र घटनाहरू दोहोरिने सम्भावना कत्तिको देख्नुहुन्छ?

विश्वका तथ्याङ्कहरू हेर्दा विश्वभर हुने कार्बन उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम छ। नेपालमा त्यस्ता ठूला उद्योगधन्दाहरू छैनन्। तर विकसित र औद्योगिक देशहरूमा भने कार्बन उत्सर्जन अत्यधिक छ, जसको प्रत्यक्ष मार हाम्रा हिमालहरूले खेपिरहेका छन् । कार्बन उत्सर्जनका कारणले पनि हाम्रा हिमालहरूमा असर परेको हुन सक्छ। हामीले यस विषयमा छुट्टै अनुसन्धान नगरेकाले यस्तै हो भनेर ठोकुवा त गर्दैनौँ, तर असर परेको सम्भावना उच्च छ।

अर्को मुख्य कुरा, हाम्रा हिमालहरू भूगर्भशास्त्रका अनुसार निकै कमजोर छन्। भूगर्भविद्हरूका अनुसार हिमाली शृङ्खलाको उत्पत्ति जम्मा साढे चारदेखि पाँच करोड वर्ष (४५-५० मिलियन वर्ष) अघि मात्र भएको हो। यो पृथ्वीको इतिहासमा निकै नयाँ हिमाल मानिन्छ। हुन त मैले दुई-तीन वर्षअघि ‘हिन्दूइज्म टुडे’ मा एउटा लेख लेख्दै पूर्वीय दर्शन र पौराणिक मान्यताअनुसार यसको इतिहास साढे १२ करोड वर्ष पुरानो देखिने उल्लेख गरेको थिएँ। तर त्यो मिथोलोजिकल अवधारणा भयो । वैज्ञानिक रूपमा भने यो नयाँ पर्वत नै हो।

त्यसैले युरोपतिर दुई-तीन सय मिटरको सुरुङ सजिलै खन्न सकिन्छ भने नेपालमा ५० मिटरको पहाड खन्दा पनि भत्किने डर हुन्छ। यस्तो कमजोर हिमालमा ग्लोबल वार्मिङको असर विश्वमै सबैभन्दा बढी (आर्क्टिक क्षेत्र र हिमाली क्षेत्रमा) परिरहेको छ भन्ने कुरा अनुसन्धानहरूले पुष्टि गरिसकेका छन्।

हामीले सोचेभन्दा निकै छिटो—अबको १०-१५ वर्षमै—हिमालमा स्पष्ट र भयानक परिवर्तनहरू देखिने जोखिम छ । यसका लागि वैज्ञानिक नै भइरहनुपर्दैन, तपाईं आफैँ दुईवटा फरक सिजनमा आधार शिविर पुग्नुभयो भने अघिल्लो र पछिल्लो सिजनको फरक आँखाले नै प्रस्ट देख्न सक्नुहुन्छ। त्यसैले हिमाल संरक्षणका लागि हामीले अब तत्कालै अनुकूलन तथा न्यूनीकरणका उपायहरू अगाडि बढाउनु अति आवश्यक भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?