News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका संघीय सांसदहरूले रसुवाको बाढीपीडित राहतका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन्।
- एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सांसदहरूको पारिश्रमिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी संकलन हुने बताए।
- एमालेले उद्धार, राहत, शव व्यवस्थापन र बेपत्ताको खोजी अनुगमनका लागि संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय पनि गरेको छ।
१६ भदौ, काठमाडौं । नेकपा एमालेका संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक रसुवा बाढी पीडितहरूलाई दिने भएका छन् ।
एमालेको मंगलवार बसेको संसदीय दलको बैठकले १५ दिनको पारिश्रमिक बाढीपीडितको राहत, उद्धार र पुनस्थापनामा सहयोग गर्ने निर्णय गरेको हो । संघीय सांसदहरूले १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचेतक ऐनबहादुर महरले जानकारी दिए ।
सांसदहरूको पारिश्रमिकबाट करिब १२ लाख रुपैयाँभन्दा बढी रकम संकलन हुने पनि उनले बताए । एमालेले बाढीपीडितको राहतका लागि यसअघि १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
‘बाढी पीडितहरूलाई राहत र उद्धारका लागि सरकारले सहयोग माग गरेको छ, सङ्कलन गरेको छ, नेकपा एमालेले भर्खरै हिजो मात्रै पनि १ करोड २० लाख रूपैयाँ राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ,’ उनले भने, ‘त्यो १ करोड २० लाखलाई टेवा पुग्ने गरी हाम्रो सङ्घीय संसदीय दलका तर्फबाट प्रत्येक सांसदको १५ दिनको पारिश्रमिक त्यसमा जम्मा गर्ने हामीले निर्णय गरेका छौं । त्यसो करिब १२ लाख भन्दा बढी यहाँबाट जम्मा हुने हामीले अपेक्षा गरेका छौं ।’
एमालेले उद्धार, राहत, शव व्यवस्थापन तथा बेपत्ताको खोजी कार्यको अनुगमन र सरकारसँग आवश्यक समन्वय गर्न संसदीय विशेष समिति गठनको माग गर्ने निर्णय पनि गरेको छ ।
बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा विशेष समिति गठनको माग गर्ने र उक्त बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापाले सम्बोधन गर्ने उनले बताए ।
प्रतिक्रिया 4