१६ भदौ, जनकपुरधाम । बाराबाट ११ वर्षीय बालकको अपहरण गरी भारत लगेर हत्या भएको खुलेको छ । प्रहरीले हत्या आरोपमा एक १७ वर्षीय किशोर पक्राउ परेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता मीनबहादुर घलेका अनुसार विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय राजेशकुमार साह ९ भदौमा बिहान करिब ९ बजेबाट हराएका थिए ।
उनी हराएको जानकारी आएपछि प्रहरीले खोजतलास सुरु गरेको थियो । भदौ ११ गते बिहान करिब १०:३० मा भारतमा राजेश मृत फेला परेका थिए । उनको शव भारतको बिहान राज्यअन्तर्गत मोतिहारी जिल्ला नुनियाडी पञ्चायत–१ स्थित सिंहा नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्दैजाँदा प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट राजेशलाई विश्रामपुरबाट अपहरण गरी भारतमा लगेर हत्या गरेको खुलेको डीएसपी घलेले जानकारी दिए ।
उनका अनुसार घटनामा संलग्न रहेको आरोपमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वाकै १७ वर्षीय किशोर पक्राउ परेका छन् ।
उनी विरुरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ ।
प्रतिक्रिया 4