+
+
Shares

बाढीपछि सम्पर्कविहीन : भेटिने आशमा परिवार, कतै कुशको शव बनाएर अन्त्येष्टि

मंगलबार दिउँसोसम्मको तथ्यांक अनुसार रसुवा बाढीमा परी मधेश प्रदेशका १६४ जना सम्पर्कविहीन छन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८३ भदौ १६ गते १९:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको दोसान हाइड्रोपावरमा कार्यरत सप्तरीका एकै घरका तीन दाजुभाइ भोटेकोशीको बाढीपछि सम्पर्कविहीन भएका छन्।
  • मधेश प्रदेश प्रहरीका अनुसार रसुवा बाढीमा मंगलबार दिउँसोसम्म १६४ जना अझै सम्पर्कविहीन छन्, ३० जना सम्पर्कमा आएका छन् र एकजनाको मृत्यु भएको छ।
  • पर्साका सोनेलाल पण्डित बाढीमा बगेको आशंकामा परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।

१६ भदौ, जनकपुरधाम, रसुवाको दोसान हाइड्रोपावरमा सप्तरीका एकै घरका तीन दाजुभाइ भोटेकोशीमा आएको विनाशकारी बाढीपश्चात् सम्पर्कविहीन छन् । बोदेबर्साइन नगरपालिका–८ काचनटोलका ३५ वर्षीय शिवकुमार यादव, ३१ वर्षीय देवकुमार यादव र २५ वर्षीय सचित यादव बाढीपछि सम्पर्कविहीन भए ।

दोसान हाइड्रोपावरमा देवकुमार इन्जिनियर, सचित ओभरसियर र शिवकुमार सुपरभाइजरका रूपमा कार्यरत थिए । लालबहादुर यादवका छोरा तीनैजनाको बिहानै परिवारजनसँग कुराकानी भएको थियो । बाढीपछि फोन लाग्न छोड्यो । एकै घरका तीनछोरा सम्पर्कविहीन हुँदा घरमा रुवाबासी छ । टोल नै शोकमा डुबेको छ । खोजबिनका लागि परिवारले सरकारसँग गुहार मागिरहेको छ । परिवारहरू आफैं पनि खोजी लागिरहेका छन् । घरमै बस्ने उनीहरूका जेठो दाइ रामकुमार यादवले खोजबिन गरिरहेको तर केही पत्ता नलागेको सुनाए ।

‘हामी भाइहरूलाई खोजिरहेका छौँ । तर अझै सम्पर्क हुन सकेको छैन । सरकारले चाँडो खोजिदेओस्’ उनको विन्ती छ ।

तीन दाजुभाइसँगै सप्तरीबाट अहिलेसम्म ४७ जना सम्पर्कविहीन छन् । ४९ जना सम्पर्कविहीन भएकोमा एकजना सम्पर्कमा आएको र एकजनाको मृत्यु पुष्टि भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रभु प्रसाद ढकालले जानकारी दिए ।

समय लम्बिँदै जाँदा सम्पर्कविहीनका परिवारको आशा मर्दै गएको छ ।

बाढीबाट ज्यान जोगाएर भागेका राजगढ गाउँपालिका–४ का अनिल मण्डल सप्तरीका आफूले चिनेका ९ जना इन्जिनियर नै सम्पर्कविहीन रहेको सुनाउँछन् । रसुवाको मैलुङमा बसेर कोरियन कम्पनीको काम गर्थे । नाइट ड्युटी सकेर सुतिरहेका थिए । बाढी आउँदै छ भन्ने सुन्नासाथ माथि भागेका उनीसहित केही जोगिए । अरू धेरै मान्छे भाग्न सकेनन् । कोहीको भाग्ने क्रममै बाढीले बगाएको उनले देखेका थिए ।

बाढीपछि हराइरहेका तीन दाजुभाइ शिवकुमार यादव, देवकुमार यादव र सचित यादव

‘जानकारी आउनेबित्तिकै हाम्रो ५–६ जनाको ग्रुप भाग्यौं’ उनले भने, ‘सडकमा पुगेपछि दुई मिनेटमै बाढी आयो । कति भाग्न सके, कति भाग्ने क्रममै थिए । नसकेकालाई बाढीले बगायो ’ उनी सुनाउँछन् । सम्पर्कविहीनको खोजीमा परिवार तथा आफन्तजन खटिएका छन् ।

पर्साका एक परिवारले सम्पर्कविहीन आफन्तको मृत्यु भइसकेको र शव नभेट्ने ठानेर किरिया समेत सुरु गरेको छ । पर्साको पोखरिया नगरपालिका–७ रानीगन्जका ४० वर्षीय सोनेलाल पण्डितको सोमबार कुशको शव बनाएर अन्त्येष्टि गरियो । उनी एक अपाङ्ग थिए । वडा नम्बर ७ का वडाध्यक्ष परमानन्द कुर्मीका अनुसार पण्डित वर्षौँदेखि रसुवामै रहेर ठेक्का लिएर मजदुर परिचालन गरी निजी घर बनाउने काम गर्दै आएका थिए ।

‘उहाँसँगै काम गर्ने मजदुरहरू भागेर ज्यान जोगाए । तर पण्डित कारण भाग्न सक्नु भएन । बाढीमा बगेको जानकारी मजदुरहरूले नै परिवारलाई दिएका थिए’ वडाध्यक्ष कुर्मीले भने, ‘पाँच दिनसम्म शव फेला परेन । मृत्यु भइसकेको ठानेर परिवारजनले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।’

वडाध्यक्ष कुर्मीका अनुसार स्थानीय तुल्सी पण्डित (कुम्हार)का छोरा सोनेलालको ४ वर्षअघि उत्तै घर बनाउने क्रममा दुर्घटनामा परेर एउटा खुट्टा गुमाउनु परेको थियो । रसुवाको बाढीपछि हालसम्म पर्साका ३८ जना सम्पर्कविहीन छन् ।

मधेश प्रदेशका १६४ जना अझै सम्पर्कविहीन, ३० जना सम्पर्कमा

मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको मंगलबार दिउँसोसम्मको तथ्यांक अनुसार रसुवा बाढीमा १६४ जना सम्पर्कविहीन छन् । १९५ जना बेपत्ता रहेकामा ३० जना सम्पर्कमा आएको र एकजनाको मृत्यु भइसकेको छ ।

सप्तरीका ४९ जना मध्ये एकजना सम्पर्कमा र एकजनाको मृत्यु भएको छ । पर्साका ४० जना मध्ये दुईजना सम्पर्कमा आएका छन् भने अन्य ३८ जना सम्पर्कविहीन छन् ।

बाराका २५ जनामध्ये २ जना सम्पर्कमा आएका छन् भने २३ जना सम्पर्कविहीन रहेको तथ्यांकमा उल्लेख छ । रौतहटका १९ जनामध्ये ६ जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन् । सर्लाहीका २१ जनामध्ये ३ जना सम्पर्कमा आए पनि १८ जना सम्पर्कविहीन छन् ।

यसैगरी महोत्तरीका १७ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने १० जना सम्पर्कविहीन रहेका छन् । धनुषाका १४ जनामध्ये ७ जना सम्पर्कमा आएका छन् भने अझ ७ जना सम्पर्कमा आउन सकेका छैनन् । सिरहाका १० जनामध्ये २ जना सम्पर्कमा आएका छन् भने ८ जना अझै सम्पर्कविहीन रहेको प्रहरीको तथ्यांक छ ।

५ जना सुरक्षाकर्मी पनि बेपत्ता

बाढीपछि मधेशका विभिन्न जिल्लाबाट सम्पर्कविहीन भएका व्यक्तिमध्ये नेपाल प्रहरीका १० जना कर्मचारी पनि छन् । तीमध्ये ७ जना सम्पर्कमा आइसकेका छन् भने ३ जना अझै सम्पर्कविहीन छन् ।

त्यस्तै नेपाली सेनाका ३ जना सम्पर्कविहीन भएकोमा एक जना सम्पर्कमा आएका छन् भने २ जना अझै सम्पर्कविहीन रहेको मधेस प्रदेश प्रहरी कार्यालयको विवरणमा उल्लेख छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?