+
+
Shares

पहिरोले बाटोमा रोकिएका १४ गाडी ग्यास काठमाडौं आइपुग्यो

हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १९:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका सुगम र एभरेस्ट ग्यासका १४ गाडी दिउँसो काठमाडौं आइपुगेका छन् ।
  • ती गाडीबाट १ हजार ३ सय १२ थान ग्यास सिलिन्डर भित्रिएको पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
  • उद्योगीहरूले तराईका जिल्लाबाट १ सयदेखि २ सय ट्रकमार्फत ग्यास ल्याउने तयारी गरेका छन् ।

१६ भदौ, काठमाडौं । वर्षा र पहिरोका कारण राजमार्गमा रोकिएका ग्यासका गाडी काठमाडौं आइपुगेका छन् ।

ग्यास उद्योगी तथा नेपाल एलपी ग्यास उद्योग संघ पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार हिजो सोमबार रातिदेखि बाटोमा अलपत्र ग्यासका गाडी आज दिउँसो राजधानी प्रवेश गरेका हुन् ।

‘हिजोदेखि अड्किएर बसेका सुगम र एभरेस्ट ग्यासका १४ वटा गाडी आज दिउँसो २/३ बजेतिर काठमाडौं आइपुगेका छन्,’ पूर्वअध्यक्ष घिमिरेले भने, ‘ती गाडीबाट १ हजार ३ सय १२ थान ग्यास सिलिन्डर भित्रिएको छ ।’

राजधानीमा ग्यासको सहज आपूर्तिका लागि उद्योगीहरूले तराईका विभिन्न जिल्लाबाट सिलिन्डर नै भरेर ल्याउने तयारी थालेका छन् ।

साना गाडीबाट ग्यास ढुवानी गर्न सम्भव नहुने र ग्यास बुलेट सबै ठाउँमा आउन नसक्ने भएकाले १० देखि १२ चक्के ठूला ट्रकमार्फत ग्यास ल्याउने तयारी भइरहेको घिमिरेले बताए ।

‘हामीले नारायणी यातायात व्यवसायी संघ र अन्य केही संघसंस्थासँग समन्वय गरेर १ सयदेखि २ सयसम्म ट्रकको व्यवस्था गर्दैछौं,’ घिमिरेले अनलाइनखबरसँग भने, ‘ती ट्रकमार्फत चितवन, बारा, पर्सा, मकवानपुर र नवलपरासीबाट ग्यास काठमाडौं ल्याउने तयारी छ, यसै विषयमा लजिस्टिक व्यवस्थापनका लागि हामी आज र भोलि संस्थागत रूपमै छलफलमा बस्दैछौं ।’

राजमार्गमा हुन सक्ने सम्भावित पहिरो र अवरोध हटाउन सरकारी निकायहरूको पूर्वतयारी हुनुुपर्नेमा उनले जोड दिए । सडक अवरुद्ध हुँदा लामो समयसम्म ग्यासका गाडी रोकिने अवस्था आउन नदिन मेसिनरी उपकरणहरू तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ ।

‘रसुवा र नुवाकोटतिरको जस्तो बाटो नै बगाएको अवस्थामा त केही उपाय लाग्दैन, तर सामान्य बाटोघाटो बिग्रिएको वा पहिरो गएको ठाउँमा सडक विभागले तत्काल पन्छाउन मेसिन र उपकरण राखिदिनुपर्छ,’ घिमिरेले भने, ‘नेपाल प्रहरी र ट्राफिक प्रहरीले ट्राफिक व्यवस्थापन तथा जिल्ला प्रशासनले शान्ति सुरक्षाको प्रबन्ध मिलाइदिनुपर्छ, मेसिनहरू तैनाथ भए भने पहिरो पन्छाएर एक–दुई घण्टामै गाडी पुन: सञ्चालनरु गर्न सकिन्छ, यसका लागि सबै निकायसँग समन्वय गरेर काम हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?