+
+
Shares

आयल निगमले भोलिदेखि काठमाडौंका ५ स्थानबाट ग्यास बेच्ने, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री वितरण गर्न लागिएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल आयल निगमले भोलि शनिबारदेखि उपत्यकाका पाँच स्थानबाट अति आवश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री वितरण गर्ने निर्णय गरेको छ।
  • निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार ग्यास खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानुपर्ने छ।
  • टेकु, चावहिल, कीर्तिपुर, बसुन्धरा र बबरमहलका तोकिएका स्थानबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री वितरण गरिने भएको छ।

२९ साउन, काठमाडौं ।  नेपाल आयल निगमले भोलि शनिबारदेखि उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री गर्ने भएको छ ।

पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको चरम अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र निगमको समन्वयमा ग्यास उद्योगी मार्फत ग्यास बिक्री वितरण गर्न लागिएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री वितरण गर्न लागिएको उनले बताए ।

ग्यास खरिद गर्न चाहने उपभोक्ताले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचयपत्र साथमा लिएर जानुपर्ने छ ।

निगमले बजारमा ग्यास आयात नियमित भइरहेको बताएको छ । निगमका अनुसार ग्यास आयात नियमित भइरहेको र सम्बन्धित उद्योगले आ–आफ्ना विक्रेता (डिलर) मार्फत नियमित बिक्री वितरण गरिरहे पनि ग्यास सकिएरै अति आवश्यक अवस्थामा पुगेका व्यक्तिलाई मात्र तत्काल राहतका लागि यो विशेष व्यवस्था मिलाइएको हो ।

निगमका अनुसार काठमाडौंका पाँच छुट्टाछुट्टै स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिने छ । जसअन्तर्गत निगमको टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास वितरण हुनेछन् ।

त्यसैगरी चावहिलस्थित यातायात कार्यालय परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यासमात्र बिक्री गरिने छ ।

यसैगरी कीर्तिपुरस्थित राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डका ग्यास उपलब्ध गराइने छ भने बसुन्धरास्थित राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, भानु र ओम ब्रान्डका ग्यास वितरण हुने व्यवस्था मिलाइएको छ ।

त्यस्तै बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास खरिद गर्न सकिने छ ।

अति आवश्यक भएका उपभोक्तालाई मात्र माथि उल्लेखित स्थानमा तोकिएको समयमै आफ्नो परिचयपत्र सहित उपस्थित भई ग्यास खरिद गर्न निगमले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?