+
+
Shares

बाढीले बैंकहरूको साढे ६ अर्ब लगानीका जलविद्युत् आयोजनामा क्षति

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भदौ १० को बाढीले रसुवा–नुवाकोटका ४ जलविद्युत् आयोजनामा क्षति पुर्‍याउँदा बैंकहरूको साढे ६ अर्ब रुपैयाँ लगानी जोखिममा परेको नेपाल बैंकर्स संघले जनाएको छ।
  • मैलुङ खोला, लाङटाङ खोला, त्रिशूली र रसुवागढी आयोजनामा एनएमबी, लक्ष्मी सनराइज र नबिल बैंकका कर्जा लगानी रहेको संघले प्रारम्भिक अध्ययनमा देखाएको छ।
  • नेपाल राष्ट्र बैंकले कुल कर्जाको १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेकाले बैंकहरू जोखिम बुझेर पनि जलविद्युत् क्षेत्रमा लगानी गर्न बाध्य भएका छन्।

१६ भदौ, काठमाडौं । भदौ १० गते गएको बाढीका कारण वाणिज्य बैंकहरूको कर्जा लगानी रहेका ४ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बाढीले ती आयोजनामा क्षति पुर्‍याएसँगै बैंकहरूको साढे ६ अर्बको लगानी जोखिममा परेको बैंकर्स संघको प्रारम्भिक अध्ययनले देखाएको छ ।

नेपाल बैंकर्स संघका अनुसार बाढीका कारण रसुवाको ५ मेगावाट क्षमताको मैलुङ खोला हाइड्रो आयोजनामा क्षति पुगेको छ । सो आयोजनामा एनएमबी बैंकको नेतृत्वमा २५ करोड ८० लाख रुपैयाँ संयुक्त लगानी(कन्सोर्टियम) रहेको संघले जनाएको छ ।

त्यसैगरी बाढीले २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा क्षति पुगेको छ । सो आयोजनामा बैंकहरूको २ अर्ब ५० करोड कर्जा लगानी रहेको संघले जनाएको छ । सो आयोजनाको संयुक्त कर्जा लगानीको नेतृत्व लक्ष्मी सनराइज बैंकले गरेको थियो ।

रसुवा बाढीका कारण नुवाकोटको ३७ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् आयोजना पनि क्षतिग्रस्त भएको छ । सो आयोजनामा नबिल बैंकको ३ अर्ब ३० करोड लगानी रहेको थियो । त्यस्तै क्षतिग्रस्त भएको रसुवागढी हाइड्रो पावर आयोजना पनि नबिल बैंकले ४९ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकहरूको लगानी रहे पनि बाढीले क्षति नपुर्‍याएका आयोजनाहरूमा ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ, हिरारत्न हाइड्रो र प्राइम हाइड्रोपावर आयोजना छन् । तीमध्ये ब्लु इनर्जी, इनर्जी इन्जिनियरिङ र हिरारत्न हाइड्रोपावर आयोजना निर्माणको चरणमा रहेका छन् । यी आयोजनाहरूमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको लगानी रहेको छ । प्राइम हाइड्रोपावर आयोजना भने लघु जलविद्युत् परियोजना हो । यो प्रभु बैंकको वित्तीय लगानीमा निर्माण हुन लागेको हो ।

बाढीका कारण क्षति पुगेका आयोजनाहरूमा एक भन्दा बढी बैंकहरूको लगानी भएकाले कुन बैंकको कति कर्जा लगानी रहेको छ भन्ने तथ्याङक अझै उपलब्ध नभएको संघले जनाएको छ । संघका अनुसार रसुवा, नुवाकोट र धादिङमा बैंकहरुको लगानी रहेका ८ जलविद्युत आयोजना छन् । त्यसमा ठूला ४ वटामा रसुवा बाढीले क्षति पुर्‍याएको हो ।

नेपाल राष्ट्र बैंकले जलविद्युत् क्षेत्रमा अनिवार्य कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई कुल कर्जाको १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । सो अनुसार बैंक तथा वित्तीय संस्थाले ऊर्जा क्षेत्रमा लगानी बढाउँदै आएका थिए ।

ऊर्जामा लगानी अनिवार्य भएकै कारण जोखिम बुझेर पनि लगानी गर्न बाध्य भएको एक बैंकरले बताए । जलविद्यु्त परियोजना भौगोलिक जटिल स्थानमा पूर्वाधार निर्माण गर्नु पर्ने र प्राकृतिक विपत्तिको सधै जोखिम भइरहने भएकाले बैंकहरूको लगानी पनि जोखिममा रहेको ती बैंकरको भनाइ छ ।

परियोजनामा आधारित कर्जा हुने भएकाले केन्द्रीय बैंकले अनिवार्य नगर्दासम्म लगानी धेरै नहुने गरेको उनले बताए । रसुवा बाढीपछि जलविद्युतको लगानी झनै जोखिमपूर्ण रहेको स्पष्ट भएकाले आगामी दिन यो क्षेत्रमा लगानी घट्न सक्ने उनको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?