News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री सुधन गुरुङले बाढीपहिरोपछि उद्धार र राहतमा राज्यका सबै संयन्त्र उच्च प्राथमिकतासहित कार्यक्षेत्रमा खटिएको बताए ।
- उनले थ्री ए र टनेल क्षेत्रमा उद्धार कठिन रहेको, हवाई उद्धारमा समस्या भए पनि राति पनि प्राविधिक र सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
- उनले भारतीय र चिनियाँ टोली नेपाली सेनासँग समन्वयमा प्राविधिक सहयोग र उद्धारमा खटिएको, तथा चार सुरक्षाकर्मी बेपत्ता भएको बताए ।
१६ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पछिल्लो बाढीपहिरो र प्राकृतिक विपद्पछि सरकारले गरिरहेको उद्धार तथा राहत कार्यका बारेमा स्पष्ट पार्दै राज्यका सबै संयन्त्रहरू उच्च प्राथमिकताका साथ कार्यक्षेत्रमा खटिएको बताएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री गुरुङले उद्धारका क्रममा भोग्नुपरेका जटिलता, अन्तर्राष्ट्रिय सहयोग र राहत वितरणको अवस्थाबारे जानकारी दिए ।
विपद्ग्रस्त क्षेत्र, विशेषगरी थ्री ए र टनेल क्षेत्रमा उद्धार कार्य अत्यन्तै कठिन रहेको उनले बताए । प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण हवाई उद्धारमा समस्या भए पनि रातको समयमा समेत प्राविधिक र सुरक्षाकर्मीको टोली परिचालन गरिएको उनले जानकारी दिए ।
अहिले सुरुङको माथिल्लो भाग (हेड) बाट खनेर वा ड्रिल गरेर भित्र रहेकाहरूका लागि अक्सिजन र खाद्यान्न पुर्याउन सकिन्छ कि भन्ने वैकल्पिक योजनामा सरकारले काम गरिरहेको पनि जानकारी गराए ।
‘त्यहाँको जमीन दलदले माटोले भरिएको छ, जसका कारण उद्धारमा प्रयोग गरिएका एक्साभेटरहरू समेत डुब्ने अवस्था छ । हामीले उद्धारका लागि ढोका खुला राखेका छौं,’ उनले भने, ‘भारतीय र चिनियाँ टोलीहरू तेस्रो दिनदेखि नै कार्यक्षेत्रमा खटिएर सर्भे र रेस्क्यु प्लानमा सघाइरहनुभएको छ । अत्यन्तै साँघुरो र जोखिमपूर्ण हवाई क्षेत्र भएकाले दुर्घटना रोक्न र उद्धारलाई व्यवस्थित बनाउन हवाई व्यवस्थापनमा मात्र एकद्वार प्रणाली लागू गरिएको हो ।’
विदेशी उद्धार टोलीलाई सरकारले रोकेको भन्ने चर्चाको खण्डन गर्दै गृहमन्त्रीले नेपाल सरकारले शुरुदेखि नै छिमेकी राष्ट्रहरूसँग समन्वय गरिरहेको समेत बताए । उनका अनुसार हाल भारतीय र चिनियाँ टोलीहरूले नेपाली सेनासँगको समन्वयमा प्राविधिक सहयोग र उद्धार कार्य गरिरहेका छन् ।
बाढीपहिरोको पूर्वसूचना दिन र नागरिकको ज्यान जोगाउन खटिएकै अवस्थामा चार जना सुरक्षाकर्मी बेपत्ता भएको दु:खद् जानकारी पनि उनले दिए ।
राति ९:१५ बजेदेखि नै एसएमएस र माइकिङमार्फत पूर्वसूचना प्रवाह गरिएको दाबी गर्दै उनले सुरक्षाकर्मीहरूले आफ्नै ज्यान जोखिममा राखेर नागरिकको रक्षा गरिरहेको बताए ।
प्रतिक्रिया 4