News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी/त्रिशूली करिडोरको बाढीले पर्यटन क्षेत्रमा करिब ५० अर्ब रुपैयाँ क्षति पुर्याएको र १ सय ४२ होटल, ५७ रेस्टुरेन्ट तथा १ सय ४१ सवारीसाधन क्षतिग्रस्त भएका छन् ।
- बाढीमा मानसरोवर र गोसाइँकुण्ड यात्रामा रहेका सयौँ पर्यटक प्रभावित भएका छन्, र करिब ९ सय ९५ विदेशी पर्यटक हराइरहेको पर्यटन व्यवसायीले जनाएका छन् ।
- भोटेकोशी बाढीपछि नेपालको पर्यटन छविमा नकारात्मक असर परेको र अगस्टमा ८५ हजार ४ सय ४४ अन्तर्राष्ट्रिय पर्यटक मात्र आएको, अघिल्लो वर्षभन्दा ३.६ प्रतिशत कम भएको छ ।
१७ भदौ, काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट खर्चालु पर्यटक भित्र्याउने ‘भोटेकोशी/त्रिशूली करिडोर’ मा आएको संकटले मुलुककै पर्यटन क्षेत्रमा नकारात्मक असर परेको छ ।
मानसरोवर यात्रा र गोसाइँकुण्ड यात्रामा रहेका सयौँ स्वदेशी तथा विदेशी पर्यटक १० भदौको विनाशकारी बाढीमा परी ज्यान गुमाउन पुगे । कतिपय अझै बेपत्ता छन् । सरकारको पछिल्लो अनुमान अनुसार पर्यटन क्षेत्रमा मात्र ५० अर्ब रुपैयाँ हाराहारी क्षति भएको छ ।
यस नदी करिडोरमा रहेका १ सय ४२ होटल बगेको अनुमान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले जानकारी दिए ।
प्रतिनिधिसभा पर्यटन समितिमा उनले गराएको जानकारी अनुसार ५७ रेस्टुरेन्टमा क्षति पुगेको छ । १ सय ४१ पर्यटन सवारीसाधनमा क्षति भएको अनुमान छ । बाढीले २७ सम्पदामा क्षति पुगेको छ । गोसाइँकुण्ड, लाङटाङसहित बर्सेनि हजारौं पर्यटक पुग्ने गन्तव्यको पदमार्गमा ठूलो क्षति पुगेको छ । कतिपय पदमार्ग पूरै बग्दा पुन: सुरुबाटै निर्माण गर्नुपर्ने अवस्था छ ।
नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी भोटेकोशी प्रलयका कारण पर्यटन उद्योगमा बहुआयामिक असर परेको बताउँछन् ।
उनका अनुसार कैलाश मानसरोवर यात्रा नेपालमा सामान्यतया अफ सिजन मानिने मनसुन सिजनमा बढी खर्चालु पर्यटक भित्र्याउने एक आकर्षक प्याकेज हो । लामो यात्रामा निस्कने भारतीय पर्यटकको बढी समय नेपालमै खर्च हुने भएकाले उनीहरूले नेपालको पर्यटनमा ठूलो योगदान गर्छन् ।
पछिल्लो समय भारतीयसँगै गैरआवासीय भारतीयको समेत ठूलो संख्या नेपालको बाटो हुँदै कैलाश मानसरोवर जाने गरेको थियो । जोशीका अनुसार यी सबै खर्चालु पर्यटक हुन् । नेपालको पर्यटन मार्फत रोजगारी सिर्जना र अर्थतन्त्र चलायमान बनाउन उनीहरूको अतुलनीय योगदान छ ।

अर्कातर्फ, यो नदी करिडोर नेपालको चर्चित पदयात्रा मार्ग लाङटाङ र गोसाइँकुण्डको आधार हो । लाङटाङ राष्ट्रिय निकुञ्जका अनुसार यस पदयात्रा मार्गमा हरेक वर्ष ५० हजारभन्दा बढी पर्यटक पुग्ने गर्छन् । आन्तरिक र वाह्य दुवै पर्यटकबीच लाङटाङ लोकप्रिय गन्तव्य हो ।
गोसाइँकुण्डमा समेत हरेक वर्ष ठूलो मात्रामा धार्मिक पर्यटक पुग्छन् । यी गन्तव्यले स्थानीय पर्यटनसँगै नेपालको राष्ट्रिय पर्यटन उद्योगमै ठूलो योगदान गरिरहेको जोशी बताउँछन् ।
पर्यटन व्यवसायी र मजदुर नै रहेनन्
यस बाढीले हजारौं मानवीय क्षति निम्त्यायो । फरक क्षेत्रका दक्ष जनशक्तिले बाढीमा आफ्नो ज्यान गुमाउने पुगे । पर्यटन क्षेत्रले समेत ठूलो मात्रामा व्यवसायी, लगानीकर्ता र मजदुर गुमाएको छ ।
यति नै संख्यामा ती व्यवसायी र मजदूर तयार पार्न यो उद्योगले अझै धेरै वर्ष मिहिनेत गर्नुपर्ने पूर्वसीईओ जोशी बताउँछन् ।
‘मानवीय क्षतिको कुनै मूल्य छैन,’ उनले भने, ‘त्यसमाथि व्यवसायी र मजदुर यस बाढीमा परेका छन्, उनीहरूले पर्यटनमा अतुलनीय योगदान दिएका थिए ।’
यस बाढीमा टुर गाइड, ट्रेकिङ गाइड सहित ठूलो संख्यामा मजदुरले ज्यान गुमाएको पर्यटन क्षेत्रसँग सम्बन्धित कम्पनीले जनाएका छन् ।
पर्यटन छविमा थपिएको ‘डर’
भोटेकोशी बाढीपछि अमेरिका सहित देशले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरे । त्यससँगै नेपालको नकारात्मक प्रचार विश्वभरि पुग्यो । यसले नेपाललाई ‘रेडजोन’ गन्तव्य बनाएको छ ।
तर, वास्तविकतामा नेपालको एक नदी करिडोरमा मात्र अहिले समस्या छ । सडक सञ्जाल समस्या पनि त्रिशूली नदी किनार आसपास मात्र छ । अहिले नेपालको प्रचार एक डरलाग्दो गन्तव्यका रूपमा भइरहेको छ । यो छविले नेपालको पर्यटनमा दीर्घकालीन असर पर्ने जोशी बताउँछन् ।
‘नेपाल संसारमा धेरै पर्यटकले दोहोर्याएर घुमफिर गर्न मन पराउने गन्तव्य हो, हाम्रा प्राकृतिक सम्पदाले पर्यटकलाई आकर्षित गर्छ, तर यी सम्पदा र हाम्रो संरचना असुरक्षित छन् भन्ने सन्देश निरन्तर प्रवाह भइरहनु नेपालको दीर्घकालीन हितमा हुँदैन,’ उनले भने ।
सोहीकारण सरोकारवाला निकायले यो छवि चिर्न तत्काल पहल गर्नुपर्ने उनको सुझाव छ । ‘भौतिक संरचना फेरि उठ्ला, तर पर्यटन छवि अप्ठ्यारोमा पर्यो भने त्यसबाट माथि उठ्न निकै मुस्किल पर्छ,’ उनले भने ।

आगमनमा असर तथ्यांकमा प्रस्ट
भोटेकोशी/त्रिशूली नदीमा आएको विनाशकारी बाढीको असर पर्यटक आगमनमा स्पष्ट देखिएको छ । सन् २०२६ अगस्टमा नेपालमा ८५ हजार ४ सय ४४ अन्तर्राष्ट्रिय पर्यटक भित्रिए । यो अघिल्लो वर्षको यसै महिनाको तुलनामा ३ हजार ३ सय ३६ ले कम हो । सन् २०२५ अगस्टमा नेपालमा ८८ हजार ६ सय ८० पर्यटक आएका थिए । यस महिना गत आवको तुलनामा ३.६ प्रतिशतले आगमन घटेको देखिन्छ ।
अगस्ट अन्तिम साता अर्थात् २६ तारिखमा रसुवागढी नाका हुँदै प्रवेश गरेको बाढीले रसुवा, नुवाकोट, धादिङ सहित यस नदी प्रणाली आसपास ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ ।
साथै, कैलाश मानसरोवर र गोसाइँकुण्ड यात्रामा निस्किएका आन्तरिक तथा वाह्य पर्यटक यो बाढीको चपेटामा परे । सोही बाढीको असर पर्यटक आगमनमा प्रत्यक्ष देखिएको छ । बाढीसँगै अमेरिका लगायत देशले ट्राभल एड्भाइजरी जारी गर्दै नेपाल यात्रामा चेतावनी दिएका दिए ।
पर्यटन बोर्डका अनुसार अगस्टमा सबैभन्दा धेरै पर्यटक भारतबाट २६ हजार ३ सय ७३ जना आएका छन् । यो कुल पर्यटक आगमनको ३०.८७ प्रतिशत हो । भारतपछि चीनबाट १० हजार ३ सय ४ पर्यटक आएका छन् । चीनको आगमन गत वर्ष अगस्टको तुलनामा ७ हजार ५ सय ३३ ले धेरै अर्थात् ३६.७८ प्रतिशत बढेको छ ।
त्यस्तै श्रीलंकाबाट ८ हजार ७ सय १० जना आएका छन्, जुन गत वर्षको तुलनामा ४६.२४ प्रतिशत वृद्धि हो । अमेरिकाबाट ६ हजार २ सय ९३ पर्यटक आएका छन् । बंगलादेशबाट ४ हजार ४ सय ८७ आएका छन् भने बेलायतबाट ३ हजार ४ सय ७६ पर्यटक आएका छन् ।
के भन्छन् सरोकारवाला ?
पर्यटन बोर्डका निमित्त सीईओ हिक्मतसिंह ऐरले संकटका बेला बोर्डबाट संयुक्त रूपमा सूचना प्रवाह भइरहेको जानकारी दिए । पर्यटन समितिमा आयोजित छलफलमा उनले पर्यटन पुनरुत्थानका लागि ‘कलिङ नेपाल’ अभियान थप प्रभावकारी बनाउने तथा आवश्यक परे हवाई भाडा र होटलमा छुट वा नि:शुल्क सुविधा उपलब्ध गराउने प्रस्ताव समेत अघि बढाइएको जानकारी दिए ।
होटल एसोसिएसन नेपाल (हान) अध्यक्ष विनायक शाहले वर्तमान संकटलाई अभूतपूर्व भन्दै विदेशस्थित नेपाली दूतावास तथा नियोग मार्फत नेपाल सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्ने बताए ।
उनले ‘नेपाल खुला छ’ भन्ने सन्देश सहित अभियान अझ सशक्त बनाउँदै सरकारसँग सहकार्य गरेर पर्यटन क्षेत्रलाई पुन: गतिशील बनाउन निजी क्षेत्रको प्रतिबद्धता व्यक्त गरे ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) अध्यक्ष सागर पाण्डेले करिब ९ सय ९५ विदेशी पर्यटक, भारतीय नागरिक समेत प्रभावित क्षेत्रमा हराइरहेको जानकारी दिँदै पर्यटन पूर्वाधारमा ठूलो क्षति पुगेको बताए ।

उनले नेपालमा रहेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यम मार्फत उद्धार तथा पुनर्स्थापनासँगै नेपाल पर्यटकका लागि तयार रहेको स्पष्ट सन्देश दिनुपर्ने बताए ।
त्यस्तै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) अध्यक्ष भरतजंग पाण्डेले राहत तथा पुनर्स्थापनाको निर्णय मानवीय आधारमा हुनुपर्ने बताए ।
उनले अन्तर्राष्ट्रिय बजारको विश्वास जित्न अब नेपाल आउने पर्यटकका लागि असहज परिस्थिति रहुन्जेलसम्म नि:शुल्क भिसा, होटलमा विशेष छुट तथा सहज आवागमन व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
बैठकमा नेपाल पर्वतारोहण संघ (एनएमए) अध्यक्ष फुरगेल्जे शेर्पाले बाढीपछि पहिलो प्राथमिकता खोज तथा उद्धार हुनुपर्ने बताए । एनएमएको विशेष टोली पहिलो दिनदेखि प्रभावित क्षेत्रमा पुगेको उल्लेख गर्दै उनले संघसँग करिब १२ हजार ६ सय उद्धार दक्षता भएका जनशक्ति रहेको र सरकारले आवश्यक निर्देशन दिए तत्काल परिचालन गर्न सकिने बताए ।
उनले उद्धारका लागि हेलिकप्टरहरू तयारी अवस्थामा रहेकाले उपलब्ध साधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए ।
एक्सपिडिसन अपरेटर एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले पर्यटन श्रमिकको सामाजिक सुरक्षाका लागि दीर्घकालीन व्यवस्था आवश्यक रहेको बताए ।
उनले तातोपानी तथा केरुङ नाकासँग सम्बन्धित आवागमन र कूटनीतिक समन्वयलाई प्राथमिकता दिनुपर्ने तथा मृत्यु भएका विदेशीको कानुनी पहिचान र मृत्यु प्रमाणपत्र लगायत प्रक्रिया सहज बनाउनुपर्ने बताए ।
सरकार के गर्दैछ ?
पर्यटनमन्त्री पौडेलले मंगलबार एक भिडियो सन्देश जारी गरे । उनले संसारभरिका पर्यटकलाई नेपाल भ्रमणको आह्वान गरेका छन् । यो समय पर्यटकले नेपालमा गर्ने भ्रमण केवल एक भ्रमणमात्र नहुने बरु यसले बाढीबाट पीडितको पीडामा थोरै भए पनि सहानुभूति दिने उल्लेख गरेका छन् ।
नेपालको एक नदी करिडोरमा यो बाढी आए पनि अन्य गन्तव्य सुरक्षित रहेको भन्दै उनले नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश प्रवाह गर्ने प्रयास गरेका छन् । मंगलबार नै उनले सरोकारवालाको बैठक बोलाएका थिए ।

बैठकले प्रकोप सम्बन्धमा पर्यटन बोर्ड लगायत क्षेत्रगत संघसंस्थाको सहभागितामा द्रुत प्रतिक्रिया टोलीमार्फत प्रभावित पर्यटकको अवस्थाबारे नियमित सूचना संकलन/प्रवाह र व्यवस्थापनको काम गर्ने निर्णय गरेको छ ।
प्रकोपका कारण समयमै स्वदेश फर्किन नसकेका विदेशी पर्यटकलाई हवाई टिकट पुनर्तालिकीकरण गर्न सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइएको थियो ।
सोही बैठकमा प्रकोपबाट प्रभावित, मृत्यु भएका र सम्पर्कमा आउन नसकेका विदेशी पर्यटकका परिवार तथा आफन्तलाई सही सूचना उपलब्ध गराउन पहल भइरहेको जानकारी दिइएको थियो । साथै, नेपाल आउने चाहने परिवारलाई प्रवेशाज्ञा सहजीकरण गर्न तथा नेपालको उत्तरी सीमा नाकाबाट आवतजावत गर्ने पर्यटक/तीर्थयात्रुको स्वदेश आगमन सहज बनाउन सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी गराइएको छ ।
मन्त्रालयले प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र पर्यटनसम्बद्ध संघ संस्थासँगको समन्वय र सहकार्यमा प्रकोप प्रभाव न्यूनीकरण गर्दै पर्यटकीय गतिविधि पुनरुत्थान, व्यवसायी तथा श्रमिकको हित संरक्षण र पर्यटन क्षेत्रका गतिविधिलाई सामान्य अवस्थामा फर्काउने निर्णय गरेको मन्त्रालयका सूचना अधिकारी शोभाखर रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया 4