+
+
Shares

‘एलिफेन्ट्स इन द फग’ को विशेष प्रदर्शनबाट संकलित रकम प्रधानमन्त्री कोषमा प्रदान

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते ९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कान्समा पुरस्कृत नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ को भोटेकोशी बाढी प्रभावितका लागि विशेष च्यारिटी प्रदर्शन गरिएको छ ।
  • प्रदर्शनमा दर्शकले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषको क्यूआरमार्फत रकम पठाएका थिए, र फिल्मपछि स्ट्यान्डिङ ओभेसन दिइएको थियो ।
  • निर्माताले फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन गर्ने र प्रदर्शनलाई नेपालका कथा, पीडा तथा जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा पुर्‍याउने माध्यम बनाउने बताएका छन् ।

काठमाडौं । कान्स फिल्म फेस्टिभलमा पुरस्कृत नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ लाई भोटेकोशी बाढी प्रभावितको लागि विशेष च्यारिटी प्रदर्शन गरिएको छ ।

कार्यक्रममा दर्शकले प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषको क्यूआरमार्फत गच्छेअनुसार रकम पठाएका थिए ।

कार्यक्रममा कलाकार तथा प्राविधिक टोलीको उपस्थिति थियो । साथै सञ्चारकर्मी, पत्रकार, कलाकार, फिल्मकर्मी तथा विभिन्न क्षेत्रका आमन्त्रित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा अभिनेत्री मनिषा कोइराला, करिश्मा मानन्धर, ऋचा शर्मा र उषा रजक लगायतको उपस्थिति थियो । फिल्मको प्रदर्शन सकिएपछि दर्शकले ताली बजाउँदै स्ट्यान्डिङ ओभेसन प्रदान गरे ।

फिल्म हेरेपछि प्रतिनिधि सभा सदस्य तथा व्यवसायी विदुषी राणा भावुक बनेकी थिइन्। उनले फिल्मको प्रभावबारे बोल्दै यसको कथा र विषयवस्तु वर्तमान समयका लागि अत्यन्तै महत्वपूर्ण रहेको र सबैले हेर्नुपर्ने आवश्यकता रहेको बताएकी थिइन्।

पटकथाकार तथा निर्देशक अविनाशविक्रम शाहले फन्ड रेजर स्क्रिनिङ आयोजना गर्नुको उद्देश्यबारे बोल्दै भने, ‘अहिले हाम्रो नेपाल दुःखमा छ। हामी नेपालीहरू दुःखमा छौँ। यो शोले अलिकति भए पनि त्यो दुःख साट्न सक्यो, र राहतमा केही योगदान गर्न सक्यो भने, म आफूलाई सफल भएको मान्नेछु।’

निर्माता अनूप पौडेलले पनि विपत्तिको यस कठिन समयमा फिल्मकर्मीको रूपमा आफूहरूले गर्न सक्ने योगदानबारे विचार गर्दै फन्ड रेजर स्क्रिनिङ आयोजना गरिएको बताए।

यो फिल्म शुक्रबारदेखि देशब्यापी प्रदर्शन तयारीमा छ । देश शोक र विपत्तिको कठिन परिस्थितिबाट गुज्रिरहेको भए पनि पूर्वनिर्धारित प्रदर्शन मितिमै चलचित्र प्रदर्शन गर्ने निर्णय गरिएको निर्माताले जनाएका छन् ।

अस्कर अवार्डमा समेत आवेदन दिनुपर्ने भएकाले प्रदर्शन मिति परिवर्तन नगर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र प्रदर्शनलाई निरन्तरता दिँदै त्यसबाट प्राप्त हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूलाई नेपालका कथा, भोगाइ, पीडा तथा जलवायु परिवर्तनका मुद्दाहरू विश्वसामु पुर्‍याउने माध्यमका रूपमा उपयोग गर्ने प्रतिबद्धता समेत चलचित्र परिवारले व्यक्त गरेको छ।

कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा यो फिल्म पुरस्कृत भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?