News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि पहिलो दुई दिनको उद्धारपछि सरकारले योजनासहित अघि बढ्न नसकेको आरोप लगाइन् ।
- उनले मित्रराष्ट्रहरूसँग सहयोग समयमै नलिँदा र प्राविधिक टोली टनेल वरिपरि पनि पुग्न नसक्दा उद्धारमा कमजोरी भएको बताइन् ।
- थापाले त्रिशूली–३ ए भित्र अझै मान्छे जीवित हुन सक्ने आशा रहेको भन्दै सरकार गम्भीर बन्नुपर्ने बताइन् ।
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले रसुवा बाढीपछि नागरिकको उद्धार र व्यवस्थापनमा सरकार चुकेको आरोप लगाएकी छिन् ।
बिहीबार बसेको पूर्वाधार विकास समितिको बैठकमा उनले आकस्मिक बाढीपछि पहिलो दुई दिन राज्यले उपलब्ध स्रोतसाधनअनुसार उद्धार तथा राहतमा काम गरेपनि त्यसपछि भने योजनासहित अघि बढ्न नसकेको बताएकी हुन् ।
विपद्पछिको उद्धारमा राज्यले मित्रराष्ट्रहरुसंगको सहयोग समयमा नै लिन नसक्दा थप समस्या भएको उनको भनाइ छ ।
‘एकदमै इमर्जेन्सीमा आएको बाढीका बेला राज्य, सरकारले र हामीले जति गर्न सक्थ्यौँ, दुई दिनभित्र त्यति गर्यौँ । त्यसका लागि खासै कुनै कम्प्लेन पनि छैन । त्योभन्दा बढी गर्न सक्ने अवस्था पनि थिएन, सीमित स्रोत–साधनका बीच ती दुई दिनमा हामीले गर्न सक्ने काम गर्यौं,’ सांसद थापाले भनिन्, ‘तर दुई दिनपछि हामी धेरै हदसम्म सम्हालिइसकेका थियौं र हतोत्साहित अवस्थाबाट पनि बाहिर आइसकेका थियौं । त्यसपछि प्रिप्लानिङसहित अगाडि बढ्नुपर्थ्यो, तर हामी त्यसमा चुकेका छौं । चुकेकोलाई चुकेको भन्नैपर्छ,’ उनले भनिन् ।
टनेल निर्माणका क्रममा तयार भएका नक्शा र प्राविधिक विवरण सम्बन्धित निकायसँग भएपनि उद्धार टोली कतिपय टनेलको वरिपरिसम्म पुग्न नसकेको उनले बताइन् । सरकारले टनेलभित्रको मानिस उद्धार गरेको भनेर गलत प्रचार गरेको पनि उनले आरोप लगाइन् ।
टनेल बाहिर भएका साइड–साइडका मान्छेहरू उद्धार गरेपनि टनेलभित्रका मानिसको उद्धार हुन नसकेको उनको भनाइ छ ।
‘बाहिर मिडियामा होस् वा यहाँ अगाडि, हामीले त्यो कुरा स्पष्ट रूपमा भन्नुपर्छ, हामी चुकेकै हौँ । किनभने ती टनेलहरू निर्माण नक्साहरू हामीसँग पनि थिए होलान् । तर प्राविधिक टोलीहरू तत्कालै टनेलको वरिपरि पनि पुग्न सकेनन्,’ उनले भनिन् ।
त्रिशूली–३ ए भित्र अझै पनि मान्छे जीवित रहेको आशा रहेको भन्दै सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4