+
+
Shares

माथिल्लो त्रिशूली-३ ‘बी’ मा ठूला उपकरण पुर्‍याउनै सकस

त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् । आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार खोजीका क्रममा अहिलेसम्म भवन वा मानिस रहेको कुनै संरचना भेटिएको छैन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १७:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रसुवाको बाढीपहिरोपछि माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा सम्पर्कविहीन १९१ जना कर्मचारी र श्रमिकको खोजीका लागि तीन एस्काभेटरले काम गरिरहेका छन् ।
  • उद्धार टोलीले पुरिएको क्षेत्रमा भग्नावशेष र ठूला ढुंगा हटाइरहे पनि अहिलेसम्म भवन वा मानिस रहेको कुनै संरचना भेटिएको छैन ।
  • सडक अवरुद्ध भएकाले ठूलो एस्काभेटर पुर्‍याउन कठिन भएको छ, र नेपाली सेना, सशस्त्र प्रहरी तथा आयोजनाको टोली उद्धारमा परिचालन भएको छ ।

१९ भदौ, काठमाडौं । रसुवाको बाढीपहिरोका कारण सम्पर्कविहीन भएका माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाका कर्मचारी, कामदारको खोजी तथा उद्धारका लागि आयोजनास्थलमा तीनवटा एस्काभेटरले निरन्तर काम गरिरहेका छन् । त्रिशूली ३ बी मा १९१ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन छन् ।

आयोजनाकी उपनिर्देशक लीला अर्यालका अनुसार उद्धार टोलीले अहिले पुरिएको क्षेत्रमा एस्काभेटर प्रयोग गरेर भग्नावशेष तथा ठूला ढुंगा हटाउने काम गरिरहेको छ । तर, खोजीका क्रममा अहिलेसम्म भवन वा मानिस रहेको कुनै संरचना भेटिएको छैन ।

‘अहिले तीनवटा साना एस्काभेटरले खनिरहेका छन् । तर अहिलेसम्म बिल्डिङ कहाँ छ भन्ने नै भेटिएको अवस्था छैन,’ अर्यालले भनिन्, ‘ठूला–ठूला ढुंगाहरू हटाउने काम भइरहेको छ ।’

पहिरोले सडक अवरुद्ध गरेपछि उद्धारका लागि आवश्यक ठूलो एस्काभेटर आयोजनास्थलसम्म पुर्‍याउन समस्या भइरहेको छ । ठूलो मेसिन नपुगेसम्म प्रभावकारी रूपमा भग्नावशेष हटाउन कठिन हुने आयोजनाको भनाइ छ ।

ठूलो एस्काभेटर लैजान सडक खुलाउने प्रयास भइरहेको भए पनि डाँडा काट्ने काम अझै पूरा हुन सकेको छैन । त्यसैले आयोजनाले अर्को विकल्पका रूपमा एस्काभेटरलाई केही पार्टमा छुट्याएर घटनास्थलसम्म पुर्‍याउने र त्यही पूर्ण जडान गरी कार्य गर्ने सम्भावनासमेत खोजिरहेको छ ।

अर्यालका अनुसार त्यसका लागि मेकानिक टोली खोज्ने र सडक डिभिजनसँग समन्वय गर्ने काम भइरहेको छ । ‘ठूला एस्काभेटर जसरी हुन्छ त्यहाँ पुर्‍याउन सकियो भने मात्रै आउटपुट देखिने अवस्था छ,’ उनले भनिन्, ‘सानोबाट कामको आउटपुट देखाउनै नसक्ने अवस्था छ ।’

ठूलो एस्काभेटरलाई पार्ट छुट्याएर लैजाने प्रक्रिया भने एकै दिनमा पूरा नहुने भएकाले त्यसमा केही समय लाग्ने उनको भनाइ छ ।

आयोजनास्थलमा उद्धार तथा खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाको टोली परिचालन भएको छ । हाल विदेशी उद्धार टोली आयोजनास्थलमा नरहेको अर्यालले स्पष्ट पारिन् ।

अडिट टनेलबाट समेत खोजी तथा उद्धार अघि बढाउने तयारी भइरहेको छ । त्यसका लागि अडिट टनेलभित्र रहेका काठ तथा अन्य अवरोध हटाएर बाटो ‘क्लियर’ गर्ने र त्यसलाई अडिट–२ तर्फबाट प्रयोग गरी भग्नावशेष हटाउने योजना बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?