News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशीको बाढीले ममता श्रेष्ठसहित उनको परिवार बगाएको छ, र अस्पतालमा उपचारका क्रममा उनका श्रीमान् महेशको पनि मृत्यु भएको छ।
- नीलकण्ठ आधारभूत विद्यालयकी नर्स ममता चार वर्षदेखि विद्यार्थीलाई स्वास्थ्य र सरसफाइबारे सिकाउँदै आएकी थिइन्।
- बाढीका कारण विद्यालयले चार कर्मचारी गुमाएको छ भने करिब २०० विद्यार्थी सम्पर्कविहीन र झण्डै १०० बालबालिका अभिभावकविहीन भएका छन्।
१९ भदौ, रसुवा (उत्तरगया) । भोटेकोशीको बाढीले रसुवा, नुवाकोटका हजारौंका आफन्त बगायो, बेघर बनायो ।
तर कतिपय परिवारको वियोग यतिमै टुँगिदैन । उनीहरू हराउँदा आफन्त मानिस त परको कुरा भयो, अन्तिम संस्कार गर्ने समेत रहेनन् ।
त्यस्तै मध्येकी एक उदाहरण हुन्- ममता श्रेष्ठ र उनको परिवार ।
उनी नीलकण्ठ आधारभूत विद्यालयका विद्यालयकी नर्स थिइन् । १० भदौको बाढीले ममताको परिवारलाई नै बगायो ।
पति, सासू–ससुरा, दुई सन्तानसँगै ममता बाढीमा परिन् । पति महेश घाइते थिए । तर, अस्पतालमा उपचारकै क्रममा निधन भयो ।

‘नानीहरूलाई माया गर्ने मान्छे’
ममता नीलकण्ठमा चार वर्षदेखि कार्यरत थिइन् । विद्यालयका प्राधानाध्यापक माधव लामिछानेका अनुसार ममता बालबालिकासँग छिट्टै घुलमिल हुन्थिन् ।
कक्षा खाली हुनेबित्तिकै उनी विद्यार्थीहरू कहाँ पुग्थिन् । कहिले सरुवा रोगबारे सम्झाउँथिन्, कहिले हातमुख धुने र सरसफाइ गर्ने तरिका सिकाउँथिन् ।
साना कक्षाका बालबालिकालाई समय मिल्नेबित्तिकै आफैं खोज्दै पुगेर स्वास्थ्य र सरसफाइका कुरा सिकाउनु उनको काम थियो ।
नर्सरी र केजीका बच्चाहरू देखेपछि उनीहरूमाझ पुग्थिन् । हात धुन सिकाउँथिन् । सफा बस्न सिकाउँथिन् । स्वास्थ्यका सामान्य कुराहरू खेल्दै, हाँस्दै बुझाउँथिन् ।
प्रधानाध्यापक लामिछानेका शब्दमा ममता विद्यालयका लागि ‘डेडिकेटेड’ कर्मचारी थिइन् ।
‘समयमा विद्यालय आउने, विद्यार्थीलाई माया गर्ने,’ लामिछाने सम्झन्छन्, ‘क्लास खाली भयो कि स्वास्थ्य सम्बन्धी सचेतना जगाउन पुगिहाल्नुहुन्थ्यो ।’

ममता बेत्रावतीमा परिवारसहित बस्दै आएकी थिइन् । परिवारमा उनका श्रीमान् महेश, सासु–ससुरा र दुई छोराछोरी थिए । घरमा होटल तथा वर्कसप व्यवसायसमेत सञ्चालनमा थियो । उनका एक बच्चा उत्तरगया पब्लिक सेकेन्डरी स्कुलमा र अर्को सानो बच्चा नीलकण्ठ माध्यमिक विद्यालयमै पढ्थे ।

बाढी आएको दिन ममता विद्यालय आउने तयारीमा थिइन् । त्यसअघि उनले प्रधानाध्यापक लामिछानेलाई दुई दिन बिदा लिएर तालिममा जाने बताएकी थिइन् । उनले तालिम सम्बन्धी पत्रसमेत मेसेन्जरमा पठाएकी थिइन्। त्यसैले बाढी आएको खबर सुन्दा लामिछानेले सुरुमा ममता तालिममै रहेको ठाने ।
‘उहाँ तालिममै जानुभएको होला भन्ने लागेको थियो । पछि मात्रै उहाँ घरमै हुनुहुन्थ्यो र विद्यालय आउने तयारी गर्दै हुनुहुन्थ्यो भन्ने थाहा भयो,’ लामिछानेले भन्छन् ।
बाढीले ममताको परिवार रहेको क्षेत्र नै बगाएपछि उनी सहित परिवारका सदस्यहरू सम्पर्कविहीन भए ।
श्रीमान् महेशलाई भने बाढीले पुरिएको अवस्थाबाट जीवितै उद्धार गरिएको थियो । उद्धार गर्दा उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको थियो ।
गम्भीर घाइते महेशलाई तत्काल हेलिकप्टर मार्फत उद्धार गर्ने प्रयास गरिएको थियो । तर तत्काल हेलिकप्टरको व्यवस्था हुन नसकेपछि स्थानीयले उनलाई बोकेर डाँडाको दुधेलामाथानसम्म पुर्याए । त्यहाँबाट झुन्ड्याउँदै मैतलीदारा क्षेत्रमा पुर्याएपछि हेलिकप्टरमार्फत अस्पताल लगिएको थियो ।
तर अस्पताल पुर्याए पनि महेशको पनि ज्यान जोगिएन ।
‘उहाँको परिवारमा अन्तिममा एकजना मात्रै हुनुहुन्थ्यो । उहाँ पनि रहनुभएन,’ लामिछानेले भने, ‘परिवारमा बेपत्ता भएका मानिस खोजिदिने पनि कोही बाँकी रहेन ।’
विद्यालयले गुमायो समर्पित कर्मचारी
ममता विद्यालयका लागि समर्पित कर्मचारी रहेको लामिछाने सम्झन्छन् । उनी नियमित समयमै विद्यालय आउने र बिदामा पनि कम बस्ने गर्थिन् ।
‘उहाँ एकदमै डेडिकेटेड स्टाफ हुनुहुन्थ्यो। विद्यार्थीलाई माया गर्ने र स्वास्थ्यप्रति सचेत बनाउने काममा उहाँ निकै सक्रिय हुनुहुन्थ्यो,’ लामिछाने भन्छन् ।
ममता मात्रै होइन, बाढीले विद्यालयका अन्य कर्मचारी पनि गुमाएको छ । विद्यालयले चार जना कर्मचारी गुमाएको लामिछानेले बताए ।
नारायणबहादुर थापा ‘कफ्दार’को शव नवलपुरमा भेटिएको थियो । परिवारले शव पहिचान गरेपछि उनको अन्त्येष्टि भइसकेको छ ।
अजयकुमार यादव भने अझै बेपत्ता छन् । उनी विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर इन्जिनियरिङतर्फ प्रशिक्षकका रूपमा कार्यरत थिए । त्यस्तै, बालविकास शिक्षक मुनमाया तामाङ पनि बाढीबाट बेपत्ता भएकी छिन् । त्यतिमात्रै होइन, करिब दुई सय विद्यार्थी सम्पर्कविहिन छन् । झण्डै सयको हाराहारीमा बालबालिकाले आमाबुबा गुमाएका छन् ।
‘विद्यालयले समर्पित कर्मचारी गुमाएको छ । सयौं बालबालिकालाई बेपता छन्,’ लामिछाने भन्छन् ।
प्रतिक्रिया 4