२० भदौ, काठमाडौं । नेपालमा हालै आएको विनाशकारी बाढी र पहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज सरिफले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री सरिफले बिहीबार इस्लामावादस्थित नेपाली राजदूतावास पुगेर नेपालकी राजदूत रीता धितालसँग भेट गर्दै औपचारिक रूपमा समवेदना प्रकट गरेका हुन्।
काठमाडौंस्थित पाकिस्तानी दूतावासका अनुसार, भेटका क्रममा प्रधानमन्त्री सरिफले प्राकृतिक विपत्तिमा अमूल्य जीवन गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति सहानुभूति व्यक्त गरेका थिए।
सो अवसरमा प्रधानमन्त्री सरिफले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै समवेदना सन्देशसमेत लेखेका छन्।
नेपालमा गत भदौ १० गते आएको विनाशकारी बाढीपछि अन्तर्राष्ट्रिय समुदायबाट सहानुभूति, समवेदना र राहत सहयोगको प्रतिबद्धता आउने क्रम जारी छ।
प्रतिक्रिया 4