News Summary
Generated by OK AI. Editorially reviewed.- डोमिनिकन रिपब्लिककी २४ वर्षीया जोहेइरी मोलाले भियतनामको न्हा ट्राङमा आयोजित मिस वर्ल्ड २०२६ को उपाधि जितिन् ।
- मोलाले १११ प्रतिस्पर्धीलाई पछि पारिन्, र स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप तथा मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप भइन् ।
- यो डोमिनिकन रिपब्लिकका लागि दोस्रो मिस वर्ल्ड उपाधि हो, यसअघि १९८२ मा मारियासेला अल्भारेजले पहिलो उपाधि जितेकी थिइन् ।
डोमिनिकन रिपब्लिककी जोहेइरी मोलाले ‘मिस वर्ल्ड २०२६ को उपाधि जितेकी छन् ।
२४ वर्षीया मोला शनिबार साँझ भियतनामको न्हा ट्राङमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको विजेता बनेकी हुन् । उनले प्रतियोगितामा सहभागी १११ प्रतिस्पर्धीलाई पछि पार्दै ताज जितिन् ।
यो डोमिनिकन रिपब्लिकका लागि दोस्रो मिस वर्ल्ड उपाधि हो । यसअघि सन् १९८२ मा मारियासेला अल्भारेजले देशका लागि पहिलो मिस वर्ल्ड उपाधि जितेकी थिइन् ।
प्रतियोगितामा स्पेनकी एलिजाबेथ रेयनेस अलाबर्न पहिलो रनरअप बनिन् । मलेसियाकी तानुसिया चेट्टी दोस्रो रनरअप बनिन् भने उनले ‘ब्युटी विथ अ पर्पस’ प्रतियोगिताको उपाधिसमेत जितिन् ।
इरिट्रिया, मलेसिया, भियतनाम, डोमिनिकन रिपब्लिक, स्पेन र दक्षिण अफ्रिकाका प्रतियोगी अन्तिम ६ मा पुगेका थिए । मिस वर्ल्ड अर्गनाइजेसनकी सीईओ जुलिया मोर्लीले शनिबार विजेता तथा रनरअपहरूको घोषणा गरेकी थिइन् ।
भियतनामको न्हा ट्राङमा आयोजित कार्यक्रम हानोई समयअनुसार राति करिब ९ बजे सुरु भएको थियो । यो पश्चिम अफ्रिकी समयअनुसार दिउँसो २ बजे हो ।
गत वर्षकी विजेता ओपल सुचाताले ७३औँ मिस वल्र्ड विजेता जोहेइरी मोलालाई ताज पहिर्याइदिइन् ।

मिस वर्ल्ड प्रतियोगिताले आफ्नो ७५औँ वार्षिकोत्सव मनाइरहँदा भियतनाममा ७३औँ संस्करण आयोजना गरिएको हो । १११ प्रतिस्पर्धीसहित अगस्ट ८, २०२६ मा सुरु भएको प्रतियोगिता सेप्टेम्बर ५, २०२६ मा सम्पन्न भयो ।
प्युर्टो रिकोका मिस्टर वर्ल्ड २०२४ ड्यानियल मेहिया र मिस वल्र्ड २०१६ स्टेफनी डेल भ्यालेले कार्यक्रम सञ्चालन गरेका थिए ।
नाइजेरियाकी २६ वर्षीया करिबी जर्जले प्रतियोगिताका क्रममा अफ्रिका महादेशतर्फ ‘टप मोडल’ प्रतियोगितासमेत जितेकी थिइन् । दक्षिण अफ्रिकाकी रोमान्डा होम्बिर अफ्रिकाको महादेशीय विजेता बनिन् ।
प्रतियोगिताको सुरुवात १११ देशका प्रतिस्पर्धीले इभिनिङ गाउन लगाएर गरेका थिए । त्यसपछि उनीहरू भियतनामी ‘आओ दाइ’ शैलीका पोसाकमा प्रस्तुत भए । त्यसलगत्तै आयोजकले शीर्ष ४० प्रतिस्पर्धीको घोषणा गरेका थिए ।
शीर्ष ४० को सूचीमा टप मोडल, ब्युटी विथ अ पर्पस, ट्यालेन्ट, स्पोट्र्स, पिपुल्स च्वाइस अवार्ड र निर्णायकको छनोटबाट आएका विजेताहरू समावेश थिए । ७४औँ मिस वल्र्ड प्रतियोगिता तान्जानियामा आयोजना हुनेछ ।

को हुन् जोहेइरी मोला ?
सान्तो डोमिङ्गोकी २४ वर्षीया जोहेइरी मोला शिक्षिका, पत्रकार तथा सामुदायिक अभियन्ता हुन् । उनले युनिभर्सिडाड इबेरो अमेरिकानाबाट बिजनेस म्यानेजमेन्ट एन्ड एडमिनिस्ट्रेसनमा स्नातक गरेकी छन् ।
मोलाले आफ्नो समुदायका बालबालिका तथा युवालाई अंग्रेजी शिक्षासम्बन्धी ज्ञान विस्तार गर्न सहयोग गर्ने उद्देश्यले ‘भ्वाइसेस अफ टुमरो’ नामक सामाजिक पहल स्थापना गरेकी छन् । यस परियोजनाको उद्देश्य युवालाई थप अवसर, आत्मविश्वास र भविष्यका लागि आवश्यक साधनमा पहुँच दिलाउनु हो ।
सन् २०२५ मा मिस वर्ल्ड डोमिनिकन रिपब्लिकको उपाधि जित्दा उनले डिस्ट्रिटो नासियोनलको प्रतिनिधित्व गरेकी थिइन् ।
मोलाले अमेरिका तथा क्यारेबियन क्षेत्रतर्फ ‘टप मोडल’ प्रतियोगितासमेत जितेकी थिइन् । त्यसबाट मिस वर्ल्ड २०२६ को फाइनलमा शीर्ष ४० मा स्थान बनाएकी उनले अन्ततः मुख्य उपाधि नै जितिन् ।
शिक्षा मोलाको कामको प्रमुख क्षेत्र हो । उनी विद्यालयमा साहित्य र सामाजिक अध्ययन पढाउँछिन् । उनी बालबालिकालाई सहयोग गर्ने सामुदायिक कार्यक्रमहरूमा पनि संलग्न छिन् ।
मार्च २०२६ मा उनले युनिभिजनका लागि लाइभ रिपोर्टरका रूपमा काम गरेकी थिइन् । मे २०२६ मा डोमिनिकन रिपब्लिकका लागि आयोजित युनिसेफ टेलिथनका क्रममा बालबालिकालाई सहयोग गर्ने कार्यक्रमका लागि २४.७५२ मिलियन अमेरिकी डलर जुटाउने अभियान प्रवद्र्धन गर्न पनि उनले सहयोग गरेकी थिइन् ।
प्रतिक्रिया 4