News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलिया भ्रमणको अन्तिम खेलमा नेपाल ए न्युजिल्यान्ड ए सँग २ विकेटले पराजित भएको छ।
- नेपालले २११ रन बनाएको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्यो।
- न्युजिल्यान्डका राइस मारिउले १३७ रन बनाउँदै जितमा प्रमुख योगदान दिए, र नेपालका पवन सर्राफले सर्वाधिक ६१ रन बनाए।
२१ भदौ, काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीले टुरको अन्तिम खेलमा पनि हार बेहोरेको छ ।
आइतबार भएको न्युजिल्यान्ड ए सँगको एकदिवसीय खेलमा नेपाल २ विकेटले पराजित भएको हो । नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्डले १ बल बाँकी छँदा ८ विकेटको क्षतिमा पूरा गर्यो ।
न्युजिल्यान्डका ओपनर राइस मारिउले शानदार शतकीय पारी खेले । उनले १३४ बलमा १३७ रन बनाएर जितका लागि ६ रन आवश्यक हुँदा आउट भएका थिए ।
नेपालका लागि रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले २-२ विकेट लिँदा बिपिन खत्री र पवन सर्राफले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ए ले ५० ओभरमा अलआउट हुँदै २११ रन बनाएको थियो ।
पवन सर्राफले सर्वाधिक ६१ रन बनाउँदा लोकेश बमले ४७ रन बनाए । अनिल साहले २४ रन बनाए । मयन यादवले २० रन बनाए ।
न्युजिल्यान्डका लागि म्याट फिशरले ९ ओभरमा ३७ रन दिएर ४ विकेट लिए । क्रिस्टन क्लार्क र अदित्या अशोकले २-२ विकेट लिए भने जाक गिब्सन र मोहम्मद अब्बासले १-१ विकेट लिए ।
टप एन्ड टी-२० सिरिज खेल्न अस्ट्रेलिया पुगेको नेपाली टोलीले उक्त सिरिजमा ६ मध्ये २ खेल जितेको थियो ।
त्यसपछि नेपाल तास्मानिया र साउथ अस्ट्रेलियासँग अभ्यास एकदिवसीय खेलमा पराजित भएको थियो ।
फाइल तस्वीर : क्यान
प्रतिक्रिया 4