+
+
Shares

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २१ गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडान ५:३० देखि ९:३० बजेसम्म अस्थायी रूपमा रद्द गरिएका छन्।
  • विमानस्थल बन्द हुँदा करिब २०९ उडान र २२ हजार ८०० यात्रु प्रभावित भएका छन्, र हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुर जाने उडानमा पनि असर परेको छ।
  • विस्फोटबाट मानवीय क्षति भएको विवरण छैन, तर ज्वालामुखीय खरानी जकार्ता, बान्टेन, पश्चिम जाभा र सुमात्राको लाम्पुङलगायत क्षेत्रमा फैलिएको छ।

२१ भदौ, जकार्ता (रासस/एपी)। इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको ज्वालामुखीय खरानीका कारण जकार्तास्थित सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलका उडानहरू अस्थायी रूपमा रद्द गरिएका छन्।

इन्डोनेसियाको भू–गर्भ तथा ज्वालामुखीसम्बन्धी निकायका अनुसार सुन्डा जलसन्धिमा रहेको अनाक क्राकाताउमा बिहान ३ः५३ बजे करिब ३० सेकेन्डसम्म विस्फोट भएको थियो । ज्वालामुखीको निगरानी क्यामेरामा विस्फोटसँगै लाभाको ज्वाला निस्किएको देखिएको थियो।

विस्फोटबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। अधिकारीहरूले सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने आदेश पनि दिएका छैनन् । तर, स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय क्रेटरबाट कम्तीमा तीन किलोमिटर टाढा रहन चेतावनी दिइएको छ।

ज्वालामुखीको खरानी जकार्ता, बान्टेन, पश्चिम जाभा तथा सुमात्राको लाम्पुङलगायत क्षेत्रमा फैलिएको छ।

सोकार्नो–हाट्टा अन्तरराष्ट्रिय विमानस्थलले आइतबार बिहान ५:३० देखि ९:३० बजेसम्म उडान सेवा अस्थायी रूपमा बन्द गरेको जनाएको छ। त्यस क्रममा उडान रद्द तथा ढिलाइ हुँदा विमानस्थलमा यात्रुको चाप बढेको थियो।

अधिकारीका अनुसार विमानस्थल बन्द हुँदा करिब २०९ उडान र २२ हजार ८०० यात्रु प्रभावित भएका छन्। प्रभावित उडानमा दक्षिण सुलावेसीको मकासार जाने व्यस्त आन्तरिक मार्ग तथा सिङ्गापुर जाने अन्तरराष्ट्रिय उडान प्रमुख छन्।

हङकङ, सिड्नी, एम्स्टर्डम, सोल, दोहा र क्वालालम्पुर जाने उडानहरूमा पनि रद्द, ढिलाइ तथा समय परिवर्तन भएको छ। लाम्पुङ, बाली र सुराबायाका लागि निर्धारित केही आन्तरिक उडान रद्द वा अन्य विमानस्थलतर्फ मोडिएका छन्।

इन्डोनेसियाको नागरिक उड्डयन महानिर्देशनालयले विमानस्थल, एयरलाइन्स, हवाई नेभिगेसन सेवा तथा मौसम विज्ञान निकायसँग समन्वय गर्दै अवस्थाको निगरानी गरिरहेको जनाएको छ ।

विमानस्थलमा रातभर पार्क गरिएका करिब १७० विमान पनि एप्रोनमै रोकिएका थिए।

नागरिक उड्डयन विभागका महानिर्देशक लुकमान एफ लाइसाले उडान सञ्चालनसम्बन्धी हरेक निर्णयमा यात्रुको सुरक्षा प्राथमिकतामा रहेको बताएका छन्। एयरलाइन्सहरूले सेवा पुनः सञ्चालन गर्ने प्रयास गरिरहेकाले उडान तालिकामा थप ढिलाइ वा परिवर्तन हुन सक्ने उनले चेतावनी दिएका छन्।

अधिकारीहरूले यात्रुलाई विमानस्थल जानुअघि सम्बन्धित एयरलाइन्ससँग उडानको पछिल्लो अवस्था बुझ्न र अत्यावश्यक नभए केही समय विमानस्थल नजान आग्रह गरेका छन् ।

इन्डोनेसियाको ज्वालामुखी एजेन्सी तथा अष्ट्रेलियाको डार्विन ज्वालामुखी खरानी सल्लाहकार केन्द्रले उपग्रहबाट प्राप्त तस्बिरका आधारमा दुईवटा खरानीका बादल पहिचान गरेका छन् ।

एउटा खरानीको बादल उत्तरपूर्वतर्फ सर्दै करिब २० हजार फिट (६,१०० मिटर) उचाइसम्म पुगेको थियो। यसले जकार्ता, बान्टेन र पश्चिम जाभाका केही क्षेत्रमा प्रभाव पारेको थियो ।

अर्को खरानीको बादल करिब ५० हजार फिट (१५,२०० मिटर) उचाइसम्म पुगेको र पश्चिम तथा उत्तरपश्चिमतर्फ फैलिएको थियो । यसले बान्टेन, लाम्पुङ र बेङ्कुलु प्रान्तसहित दक्षिणी सुन्डा जलसन्धि तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर क्षेत्रलाई समेत प्रभावित गरेको जनाइएको छ ।

अनाक क्राकाताउको अर्थ ‘क्राकाताउको सन्तान’ हो। यो सन् १८८३ मा भएको विनाशकारी क्राकाताउ विस्फोटपछि बनेको ज्वालामुखी टापु हो।

सन् २०१८ मा अनाक क्राकाताउको विस्फोटबाट आएको पानीमुनिको पहिरोले सुनामी निम्त्याउँदा जाभा र सुमात्रामा कम्तीमा ४३० जनाको मृत्यु भएको थियो ।

वैज्ञानिकहरूका अनुसार उक्त घटनामा ज्वालामुखीको दक्षिणपश्चिमी ढलानको ठूलो हिस्सा समुद्रमा खस्दा ठूलो मात्रामा पानी विस्थापित भएको थियो ।

अनाक क्राकाताउ हाल चार तहको चेतावनी प्रणालीमध्ये दोस्रो उच्च सतर्कता तहमा रहेको छ। वैज्ञानिकहरूका अनुसार विस्फोट र त्यसपछिका गतिविधिका कारण ज्वालामुखी टापु अहिले आफ्नो पुरानो आकारको करिब एक चौथाइमा सीमित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?