२१ भदौ, काठमाडौं । दुई साताअघि रसुवागढीको बाढीले साढे १३ सय जनाको ज्यान गयो भने झण्डै पाँच हजार जना बेपत्ता छन् । रसुवाको टिमुरे नाकादेखि नुवाकोटको सदरमुकाम विदुर र देवीघाट बजारसम्म क्षतविक्षत् पारेको बाढीले करिव आधा दर्जन जलविद्युत् आयोजनाहरूमा नराम्ररी क्षति पुर्यायो । जलविद्युत आयोजनाका सुरुङहरूमा थुनिएको भनी अनुमान गरिएकाहरूको संख्या नै करिव ९ सय जति छ ।
नेपालमात्रै होइन, उच्च पहाड र हिमाली भेग भएका अन्य मुलुकहरूमा पनि यो तहको विध्वंशात्मक प्रकोप भएका उदाहरणहरू खासै भेटिँदैनन् । कतिपय विज्ञहरूले भने यो तहको क्षति र नोक्सानी नभएपनि पाँच वर्षअघि भारतको चमोलीमा भएको घटना उस्तै प्रकृतिको र मिल्दोजुल्दो भएको बताउछन् ।
७ फेब्रुअरी, २०२१ (२५ माघ, २०७७) मा भारतको नन्दादेवी हिमालको काखमा हिउको ठूलो ढिस्को र चट्टान खसेर आकस्मिक र विनाशकारी बाढी आएको थियो । चमोली जिल्लामा भएको घटना विज्ञहरूमाझ ‘चमोली बाढी’को रुपमा चर्चित छ ।
करिव तीन सय जनासम्म हराएको र चारवटा जलविद्युत आयोजनामा क्षति पुर्याएको उक्त बाढी रसुवागढीको झैं भयानक र विनाशकारी होइन, तर घटना हुनुको कारण, त्यसपछिको असर र कतिपय लक्षणहरू भने मिल्दोजुल्दो देखिन्छ ।
‘सिन्धुपाल्चोकको मेलम्चीमा बाढी आउनुभन्दा पाँच/छ महिनाअघि भारतको चमोलीमा बाढी आएको थियो, जुन रसुवाको बाढीसँग मिल्दोजुल्दो छ,’ जलस्रोतविद् सन्तोष नेपाल भन्छन्, ‘नन्दादेवीको पर्वत शृङ्खलाबाट ग्लेसियर र आइस–रक खसेर तल बजारियो । त्यसले हिँउ र अरु गेग्र्यानहरूलाई सोहोरेर ल्यायो । बगेर आएको हिउँ तत्काल पग्लियो र ठूलो मात्रामा बाढी आएर ठूलो जनधनको क्षति भयो ।’

उस्तै खालको ऊर्जा
चमोली होस कि रसुवागढी बाढी । घटना लगत्तै विशेषज्ञहरूले कुनै हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने अनुमान गरेका थिए । तर सेटेलाइट डाटा उपलब्ध भएलगत्तै केही घण्टामा नै उनीहरूको अनुमान बदलियो ।
हिमताल बिस्फोट–ग्लेसियर लेक आउटब्रस्ट फ्लड–(ग्लोफ) नभई चट्टान र हिमनदीको ढिस्को तल खसेपछि नन्दादेवीको घटना भएको थियो । उच्च हिमाली भेगमा रहेको चट्टान र त्यससँगैको हिऊको ढिस्को खस्नु नै चमोली र रसुवा बाढीको कारक मानिएको छ ।
नन्दादेवी राष्ट्रिय निकुञ्जमा पर्ने रोन्टी चुचुरो छेवैमा अवस्थित ठाँउबाट चट्टान सहितको हिउको ढिस्को करिव ५५ सय उचाईबाट तल खसकेको थियो । हिउँ र चट्टान तीव्र गतिमा तल झर्दा उत्पन्न भएको घर्षण उर्जामा बदलियो र तत्कालै हिउँ पग्लिएर बाढी बन्यो ।
पाँच वर्षअघि चट्टान र हिउँको ढिस्को खसेको ठाँउ भारतको दोस्रो अग्लो हिमाल नन्दादेवी (७८१६मिटर) नजिकैको हो । ठाडो भू–बनोट भएका उच्च पर्वत श्रृङखलाबाट ढिस्को सोझै तल खसेको थियो ।

रैखाना हिमनदी मिसिने ऋषिगंगा नदी थुनिएपछि बाढीको शुरुवात भएको थियो, जो पछि धौलीगंगामा मिसियो र अझै ठूलो विध्वंश मच्चायो । विहान साढे १० बजेको बाढी रसुवागढीको झैं विनाशक र तीव्र गतिमा तल उर्लिएको थियो ।
घटना लगत्तै कुनै हिमताल विस्फोट भएको ठानिए पनि करिब ७/८ घण्टामा नै स्याटलाइट डाटा विश्लेषण गरेर विशेषज्ञहरूले नन्दादेवीको चुचुरोको छेवैमा रहेको रोन्टी पर्वतमुनी पहिरोको अवशेष पत्ता लगाए ।
इसिमोडको अध्ययन प्रतिवेदन अनुसार, उक्त चट्टान र हिऊपहिरोको थुप्रोले ऋषिगंगा नदी केही समय थुनेको थियो, तत्काल निर्मित अस्थायी बाँध फुटेपछि तल्लो तटीय क्षेत्रमा भीषण बाढी आएको थियो ।
गत साताको घटनामा लाङटाङ–लेरुङको उत्तरी पाखोमा अवस्थित चट्टान र हिउको ढिस्को खस्दा तल ल्हेन्दे खोला थुनिएको थियो कि थिएन ? थुनिएको भए कतिबेर पानी रोकियो भन्ने यकिन भइसकेको छैन ।
पहिरो ठूलो, तर प्रकृति उस्तै
नन्दादेवीको घटनामा ऋषिगंगा, त्यहाँबाट पानी बगेर जाने अलकानन्द र धौलीगंगा नदिको जलाधार क्षेत्रमा व्यापक क्षति गरेको थियो । नेपालको झै अत्यन्त तीव्र गतिमा तलतिर झरेको विनाशकारी बाढीले तपोवन विष्णुगाड जलविद्युत आयोजना र ऋषिगंगा जलविद्युत परियोजनामा ठूलो क्षति पुर्याएको थियो ।
हिमविशेषज्ञ डा. अरुणभक्त श्रेष्ठका अनुसार, हराएका र मृत्यु भएका गरेर करिव तीन सय जनाको ‘मानविय क्षति’ भएको चमोली बाढीको तुलनामा रसुवागढीको क्षति निकै ठूलो हो ।
‘त्यहाँ बाढीग्रस्त क्षेत्र वरपर बस्ती थिएन, जलविद्युत आयोजनासँग सम्बन्धित मानिसहरू धेरै परेका थिए,’ श्रेष्ठ भन्छन्, ‘हाम्रोमा त दर्जनौं बस्ती बगायो, निकै तलसम्म असर गरेको छ । मानविन र संरचनाको हिसावले पनि ठूलो क्षति हो ।’ नेपालमा जलविद्युत आयोजनामा काम गर्नेमात्रै करिब ९ सय जना हराएका छन् ।
नन्दादेवीको हिमचट्टानयुक्त पहिरो र चमोली बाढीको आठ वर्षअघि भारतको उत्तराखण्डस्थित केदारनाथ उपत्यकामा ठूलो बाढी गएको थियो । केदारनाथ बाढी प्रभावित क्षेत्रको करिव ६० किलोमिटर उत्तरपूर्वमा चमोलीको घटना भएको हो ।
झण्डै ६ हजार जनाको ज्यान गएको वा हराएको आँकडा भएको केदारनाथ बाढीसँग नन्दादेवी र यहाँको रसुवागढीको बाढीको कारण र प्रकृति मिल्दोजुल्दो भने छैन । रुद्रप्रयाग, चमोली, उत्तरकाशी र पिथौरागढ जिल्लालाई अत्यन्त प्रभावित पारेको केदारनाथ बाढीको कारण केही दिनको निकै भारी वर्षा (क्लाउड ब्रस्ट) हो, हिमाली क्षेत्रको पहिरो होइन ।

नन्दादेवी पहिरोमाथिको अध्ययनपछि घटनाअघि चट्टानहरू छुट्याएर पहिरो गएको ठाँउमा केही समय पहिलेदेखि दरार बन्न थालेको पत्ता लाग्यो । कतिपय विज्ञहरूले रसुवागढी बाढीअघि लाङटाङ–लिरुङ हिमालको उत्तरपट्टि पहिरो जानुअघि हिमताल अस्वाभाविक रुपमा चलायमान भएको र केही घण्टाअघिदेखि त स–साना कम्पनहरू पैदा भएको प्रारम्भिक निष्कर्ष निकालेका छन् ।
त्यतिबेलाको अध्ययन अनुसार नन्दादेवी हिमालछेवैको पहिरोपछि आएको बाढीमा चट्टानको अंश ८५ प्रतिशत र बरफ १५ प्रतिशत रहेको पत्ता लागेको थियो । विशेषज्ञहरूले हिमचट्टान खसेपछि उत्पन्न हुने अथाह उर्जा तत्काल ठूलो मात्रामा हिउ पगाल्न पर्याप्त हुने निष्कर्ष निकालेका थिए । त्यसपछि हिउ पग्लेर तिब्र गतिमा पानी प्रवाह भएको उनीहरूको आँकलन छ ।
रसुवागढीको बाढीमा जुन अनुपातमा चट्टान र हिऊको ढिस्को खसेको थियो, त्यसको तुलनामा भीषण बाढी आएकोमा कतिपय विशेषज्ञहरूले ‘आश्चर्य’ प्रकट गरेका थिए भने केहीले तलपट्टि रहेका ढुंगा, चट्टान र गेग्र्यान मिसिदा बाढीको आकार ठूलो देखिएको प्रारम्भिक विश्लेषण गरेका छन् ।
हिमाली क्षेत्रमा लामो समयदेखि अध्ययन गरेका डा. अरुणभक्त श्रेष्ठ नन्दादेवीको पहिरोको तुलनामा लाङटाङ–लिरुङको उत्तरी भागको पहिरो निकै ठूलो भएको बताउँछन् । उनका अनुसार, नन्दादेवीमा रोन्टी चुचुरोको पाखो खसेको थियो भने रसुवामा चट्टान र त्यसमाथिको हिमतालको भाग नै तल झरेको हो ।
इसिमोडका वरिष्ठ जलवायु विशेषज्ञ श्रेष्ठ, १४ वर्षअघिको पोखराको सेतीको बाढी, नन्दादेवीको पहिरो र रसुवा बाढीको प्रकृति मिल्दोजुल्दो रहेको बताउँछन् । अन्नपूर्ण चौथो हिमाल छेवैको एउटा पाखो खसेपछि थुनिएको सेतीले पछि बाढीको आकार लिएको थियो ।
पहिरोको स्वरुप तुलना गर्दै जलवायु विशेषज्ञ श्रेष्ठले नन्दादेवीको रोन्टी चुचुरो र अन्नपूर्ण चौथोको घटना मिल्दोजुल्दो रहेको बताउँछन् । उनी भन्छन्, ‘सेती र चमोलीको तुलनामा रसुवा बाढीको कारक मानिएको लाङटाङको पहिरोमा हिमनदिको एउटा भाग र त्यसमुनी रहेको चट्टान खसेको हो ।’
हिमपहिरोको कारण
अरुणभक्त श्रेष्ठ, सन्तोष नेपाल, गुलाम रसुल र वीरेन्द्र बज्राचार्य लगायतको टोलीले चमोलीमा गरेको अध्ययन अनुसार, घटनाको तीन दिनअघि अर्थात ४ देखि ६ फेब्रुअरीसम्म नन्दादेवी हिमाल वरपरको क्षेत्रमा पश्चिमी वायुको प्रभावले वर्षा भएको थियो ।
तीन दिन (७२ घण्टा)को अवधिमा ५८ मिलिमिटर वर्षाको रेकर्डलाई विश्लेषण गर्दै अध्ययनकर्ताहरूले नन्दादेवी र त्यसको छेवैमा अवस्थित रोन्टी चुचुरो क्षेत्रमा झरीको साटो हिमपात भएको हुनसक्ने आँकलन गरेका छन् ।
उनीहरूले झरीलाई चट्टान र हिऊको ढिस्को खस्नुको प्रमुख कारण मानेका छैनन, बरु त्यो पनि एउटा कारण हुनसक्ने आँकलन गरेका छन् । यहाँ लाङटाङ क्षेत्रमा भने बाढी आएको थिएन, त्यहाँ ७२ घण्टाको अवधिमा ८ दशमलब ८ मिलिमिटर मात्रै वर्षा भएको थियो ।
नन्दादेवीको पहिरो रसुवागढीमा झै गर्मीका बेलामा होइन, कठ्याङ्ग्रिने मौसम भएको बेलाको घटना थियो । नन्दादेवी पहिरोपछिका विभिन्न अध्ययन अनुसार, भारतको उत्तराखण्डका केही भाग छ दशकदेखि रेकर्ड गरिएको सबैभन्दा ‘तातो जनवरी’ थियो । अध्ययनका क्रममा हिउको आवरणमा नाटकीय कमि आएको थियो ।

लाङटाङ क्षेत्रमा पछिल्लो समयमा सामान्यभन्दा बढी तापक्रम रहेको आँकडा सार्वजनिक भएको छ । सन् २०२६ को हिउदमा औसत तापक्रमको तुलनामा शुन्य दशमलब ३८ डिग्री सेल्सियस तापक्रम बढी थियो भने २०२६ को गर्मीमा त शुन्य दशमलब ५८ डिग्री सेल्सियस पुगेको थियो । दुवै पहिरोका घटनामा तापक्रमको पाटो समेत मिल्दोजुल्दो देखिएको छ ।
अध्ययनकर्ताहरूले चमोली बाढीलाई जलवायु परिवर्तनको प्रत्यक्ष असरका रुपमा रूपमा जोड्न नसकिने निष्कर्ष निकाले । तर हिमाली भेगको जमिन र हिऊ जोड्ने भाग(पर्माफ्रस्ट)को बढ्दो पग्लने र जम्ने घटनाचक्रले आंशिक रूपमा योगदान पुर्याएको हुन सक्ने आकलन गरे । पर्माफ्रस्टको पग्लने र जम्ने घटनाचक्रलाई कतिपयले जलवायु परिवर्तनको एउटा असर मान्छन् । अध्ययनकर्ताहरूले विभिन्न घटना र कारणहरूको संयोजनमा चमोली बाढी भएको हुनसक्ने विश्लेषण गरेका छन् ।
नन्दादेवीको पहिरोपछि शुरु भएको बाढीले ऋषिगंगा जलविद्युत आयोजनाको ६० मिटर डाइभर्सन बाँध भत्कियो जसले गर्दा त्यहाँ भण्डारण गरिएको पानी समेत बग्दा बाढी थप फैलिएको थियो । बाढीले चार जलविद्युत परियोजनालाई क्षति पुर्याएको थियो भने करिव १२५ किलामिटर तलसम्मका अरु संरचनामा नोक्सान पुर्याएको थियो ।
रसुवागढीको बाढीले करिव आधा दर्जनभन्दा जलविद्युत आयोजनालाई नराम्ररी नोक्सान पुर्याएको छ । तर माथिबाट ठूलो मात्रामा ढुंगामुढा र गेग्र्यान बगेर बाँधमा थुप्रियो । भोटेकोशीबाट तल झरेपछि अरु सहायक नदि बाढीलाई थप बढाउने कारक बन्न पाएनन् ।
पूर्वसंकेत : थियो कि थिएन ?
अध्ययन टोलीको आँकलन अनुसार, त्यहा करिव साढे दुई करोड घनमिटरको चट्टान, बरफ र हिउँको ठूलो ढिस्को खसेको थियो । त्यसको तुलनामा लाङटाङ–लिरुङ क्षेत्रबाट खसेको चट्टान र हिउँको ढिस्को निकै ठूलो आकारको हो ।
केही विशेषज्ञहरूले कम्तिमा पनि माथिल्लो तहबाट साढे दुई करोड घनमिटर आयातनको ढिस्को खसेको आँकलन गरेका छन् भने कतिपयले तल अरु भाग समेत सोहोरिदा आयातनको आधार १० करोडदेखि २० करोड घनमिटर हुनसक्ने भनेका छन् । जुन पाँच वर्षअघिको नन्दादेवीको पहिरोभन्दा निकै विशाल हो ।
‘कम्यूनिकेसन्स अर्थ एण्ड इन्भारमेन्ट’मा प्रकाशित अनुसन्धानात्मक लेखमा हिमाली क्षेत्रमा वर्षभरीमा थुप्रिने हिउँको तुलनामा पग्लिने हिउँको मात्रा बढी छ, जुन हिमनदी पग्लदै जानुको प्रमुख सूचक हो । त्यो बाहेक हिमाली क्षेत्रमा बढ्दो वर्षा, हिमाली जमिन तात्ने क्रम लगायतले चट्टान र हिमचट्टान सहितको पहिरो जाने क्रम बढिरहेको छ ।
वैज्ञानिकहरूले आफ्नो अध्ययनमा नन्दादेवीको भिरालोमा चट्टान सहितको हिउँपहिरो जानुअघि केही भूकम्पिय संकेतहरू देखिएको विश्लेषण गरेका छन् । त्यहाँ घटनाको साढे दुई घण्टाअघि जमिन कम्पन भएको सामान्य झड्का महशुस भएको थियो ।
प्रारम्भिक अध्ययनका आकडाहरू अनुसार, लाङटाङ–लिरुङको उत्तरीभागमा पहिरो जानुभन्दा कही घण्टाअघि पनि भूकम्पीय संकेतहरू देखिएको भनी बैज्ञानिकहरूको धारणा सार्वजनिक भएका छन् । नन्दादेवी र लाङटाङ–लिरुङ क्षेत्रको पहिरोअघिका प्रारम्भिक र संकेतिक लक्षणसमेत मिल्दोजुल्दा देखिन्छन् ।
चमोली घटनापछि बैज्ञानिकहरूले नन्दादेवी वरपर सेटेलाइनट डाटा विश्लेषण गरेका थिए । त्यसक्रममा नन्दादेवीसँगको रोन्टी चुचुरोमा दरारहरू पैदा भएको, हिमसतहको संरचना फेरिन थालेको र तापमान परिवर्तनका लक्षणहरू देखिएका थिए ।
ती अध्ययनले घटना हुनुअघि नै जमिनको भिरालोपनमा परिवर्तन देखिन थालेको निष्कर्ष निकालेका छन् । तर ती लक्षणहरू घटना हुनुअघि पूर्वसंकेतको रुपमा थाह नपाइएको उनीहरूको विश्लेषण छ ।
‘ग्लोफ’ बाहेकका प्रकोपहरू
चमोली प्रकोप र रसुवागढी बाढी दुवैले तल्लो क्षेत्रका संरचनाहरूलाई ध्वस्त पारेकाले ‘श्रृ«ङखलावद्ध प्रकोप’ भन्न सकिन्छ । रसुवागढीको चट्टान र हिऊको ढिस्को तल खसेको घटनालाई विशेषज्ञहरू ‘ग्लासियर कोल्याप्स’, ‘आइस–रक एभलाञ्च’, ‘ल्याण्डस्लाइड–क्यास्केड’ जस्ता प्राविधिक नामहरू दिएर विश्लेषण गरे पनि विस्तृत विवरण सहितको अध्ययन निचोड सार्वजनिक गरिसकेका छैनन् ।
बैज्ञानिकहरूले विगतमा एकाएक ठूलो मात्रामा र छोटो समयका लागि आउने बाढी (जसलाई फ्लस फ्लड भनिन्छ)लाई झरीपछिको बाढीको एउटा रुप ठान्ने गरेका थिए । भारी वर्षा वा हिमताल विस्फोट बिना पनि यस्ता बाढीका घटनाहरू बढ्न थालेका छन् ।
वैज्ञानिकहरूले यस्ता घटनालाई ‘ब्लु स्काई फ्लड’ समेत भन्न थालेका छन् । आकाश निलो भएको अवस्था अर्थात खासै पानी नपरेको, मौसम खुलेको अवस्थामा समेत अरु कारणले बाढी आउने क्रम बढेको भन्ने गरेका छन् ।
चमोली बाढीले उद्गम विन्दुदेखि करिव ६० किलोमिटर तलको क्षेत्रसम्म असर गरेको थियो भने रसुवागढी बाढीले रसुवागढीदेखि गल्छीसम्मका संरचनामा क्षति पुर्याएको छ, जुन करिव २०० किलोमिटरजति पर्छ । चमोलीको तुलनामा रसुवागढीको बाढी मात्रै होइन, त्यसको आकार, जनधनको क्षति र प्रभाव पारेको क्षेत्र पनि निकै ठूलो र फराकिलो छ ।

चमोली र रसुवागढी बाढीले स्थापित गरेको तथ्य हो, ‘हिमाली क्षेत्रमा वर्षा नहुदा र हिमताल बिस्फोट नहुदा पनि विध्वंशक बाढी आउन सक्छ ।’ पूर्वसूचना प्रणालीले दुवै घटनाको मेसो पाउन सकेन, ठूलो जनधनको क्षतिका बाबजुद नेपालमा बरु माथिल्लो भेगका मानिसहरूले फोनबाट खबर गरेको सूचनाले तल्लो भेगमा कैयौको ज्यान जोगिन मद्दत भएको थियो ।
रसुवा र चमोली, दुवैमा माथिल्लो भागमा बाढीको गति अस्वभाविक र निकै तिब्र थियो । खसेको चट्टान र हिउको तुलनामा तलपट्टि पुगेको बाढीको आयातन निकै ठूलो थियो । सडक र पुल बनाउने, संरचना बिथोल्ने क्रियाकलापमा दुवै बाढीको प्रकृति मिल्दोजुल्दो रहेको सामाजिक सञ्जालमा उपलब्ध भिडियोहरूबाट थाह हुन्छ ।
चमोली घटनाको प्रमुख कारण जलवायु परिवर्तन हो कि होइन भन्ने निक्यौल भएन । नेपालमा भने बाढीकै वारेमा अध्ययन शुरु भएको छ । तर विश्लेषकहरूका अनुसार, दुवै घटनाको कारण हिमाली क्षेत्रको बढ्दो तापमान हो ।
‘पूर्वसूचनामा नयाँ सोच’
विशेषज्ञहरूका अनुसार, नेपालमा हिमचट्टान, हिमनदि खसेर पटकपटक बाढी आएका छन् । सेती, थामे, भोटेकोशी लगायतका बाढी त्यसका उदाहरण हुन् । तर, तिनको तुलनामा हिमताल र तिनको बिस्फोटको चिन्ता नै ज्यादा हुने गरेको छ ।
जलवायु विशेषज्ञ अरुणभक्त श्रेष्ठ हिमताल विस्फोट र त्यसपछि आउने बाढी (ग्लोफ) र तिनको जोखिमकै बारेमा ज्यादा चर्चा र छलफल हुने गरेको र पछिल्ला वर्षहरूमा हिमताल विस्फोट बाहेक अरु हिमजन्य प्रकोप बढिरहेको स्वीकार्छन् । उनका अनुसार, अरुको तुलनामा हिमपहिरो, हिमनदि खस्ने जस्ता घटनाको अनुगमन र पूर्वानुमान समेत तुलनात्मक रुपमा जटिल छ ।
‘कुनै ठाऊमा घटना भएपछि त्यसमा नै केन्द्रित भएर डाटा लिन र विश्लेषण गर्न सहज हुने भयो, तर घटना हुनुअघि त्यही ठाँउमा घटना हुदैछ भनेर हामीले कसरी थाह पाउनु ?,’ श्रेष्ठ भन्छन्, ‘त्यसैले हिमचट्टान खस्ने, हिमपहिरो जाने र हिमनदि खस्ने घटनाको आँकलन गर्ने काम अलि जटिल पनि छ ।’
नन्दादेवीको पहिरोको अध्ययनटोलीमा संलग्न बरिष्ठ भूसूचना विशेषज्ञ (सिनियर जियोइन्फर्मेसन स्पेसलिष्ट) वीरेन्द्र बज्राचार्य चमोली र रसुवाको घटनापछि हिमाली क्षेत्रको प्रकोपवारे हेरिने परम्परागत दृष्टिकोण परिवर्तन हुने ठान्छन् ।
बज्राचार्यका अनुसार, हिमतालको आकार हेरेर वा नदिको सतह नापेर प्रकोपको पूर्वतयारी गर्न जति सहज थियो अब एकाएक आउने प्रकोपबाट जोगिन त्यो भन्दा उन्नत र प्रभावकारी संयन्त्रको विकास गर्नु अनिवार्य भइसकेको छ । हिमपहिरोको सम्भावना भएको ठाँउमा राडार राखेर, अनुगमन गर्न नसकिने होइन, तर पहिरो जाने ठाँउको पूर्वानुमान गरी त्यही नै राडार राख्ने काम निकै कठिन हो ।
‘हिजो हिमतालको आकार हेर्न अनि जोखिमवारे पूर्वतयारी गर्न जति सहज थियो अब उच्च हिमाली क्षेत्रको पहिरोको जोखिम हेर्न त्यो भन्दा कठिन छ,’ बज्राचार्य भन्छन्, ‘रसुवा घटनाले हिमाली क्षेत्रको अनुसन्धानलाई रुपान्तरण गर्नुपर्ने पाठ सिकाएको छ । अब त्यही अनुसार पूर्वानुमान गर्ने तौरतरिकालाई नयाँ ढंगले सोच्नुपर्ने भएको छ ।’
प्रतिक्रिया 4